मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी गर्दै एमाले

हिमाल प्रेस ११ कार्तिक २०८३ १४:०३ | Wednesday, October 28, 2026
4
SHARES
मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी गर्दै एमाले

काठमाडौँ– नेकपा (एमाले)को आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ। राष्ट्रिय भेलाको तयारीका क्रममा आज पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको बताए।

पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले सिंगो पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरेको उल्लेख गर्दै उहाँले केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयको आलोकमा पार्टी पङ्क्तिलाई उत्साहित बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटाउन पनि राष्ट्रिय भेला सफल हुने विश्वास व्यक्त गरे।

स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उनले २०८२ सालको निर्वाचनको परिणाम क्षणिक र अस्थायी धक्का भएको पार्टीको बुझाइलाई व्यवहारबाट प्रमाणित गर्दै एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्ने बताए। राष्ट्रिय भेलामार्फत पार्टी पङ्क्तिलाई उत्साहित र सक्रिय बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्न तयार पारिने उनको भनाइ थियो।

“सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उपाध्यक्ष पौडेलले भने।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे। भेलाको सन्देश पार्टी पङ्क्ति र जनस्तरसम्म पुर्‍याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गरे।

बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराएका थिए। उनले राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जनाको सहभागिता रहने जानकारी दिए।

एमालेका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन्।

त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ।

पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन्। त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन्। जनसंगठनबाट ९६ जनाको सहभागिता रहने एमालेले जनाएको छ।

राष्ट्रिय भेलालाई पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, संगठनलाई थप सक्रिय बनाउने तथा आगामी निर्वाचन र राजनीतिक गतिविधिका लागि पार्टी पङ्क्तिलाई एकताबद्ध रूपमा परिचालित गर्ने महत्वपूर्ण अवसरका रूपमा एमालेले लिएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १४:०३ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast