काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पहिलोपटक सहभागी हुने भएकी छन्।
२०८३ असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। त्यसपछि पहिलो बैठक बस्न लागेको हो।
एमालेले २०८३ असोज ८ गते सचिवालय बैठकबाट पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो। भण्डारी पार्टीमा दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता मनोनित भएकी हुन्।
स्थायी कमिटी बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधिका विषयमा छलफल हुने बताइएको छ। साथै आगामी स्थानीय तह निर्वाचनको तयारीका विषयमा समेत बैठकमा छलफल हुने एमालेले जनाएको छ।



