एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा वृद्धि

हिमाल प्रेस ३० कार्तिक २०८३ १६:५८ | Monday, November 16, 2026
8
SHARES
एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा वृद्धि

काठमाडौँ- कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा अक्टोबर महिनामा ल्लेखनीय वृद्धि भएको छ।

दक्षिण कोरियाको उद्योग, व्यापार तथा स्रोत मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा आईसीटी उत्पादनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०२ प्रतिशतले बढेर ७० अर्ब ३५ करोड अमेरिकी डलर पुगेको छ।

दक्षिण कोरियाको कुल निर्यातमा आईसीटी क्षेत्रको हिस्सा ६१ प्रतिशत रहेको छ। यसले देशको आर्थिक गतिविधि र निर्यात वृद्धिमा प्रविधि क्षेत्रको महत्त्वपूर्ण भूमिका देखाएको छ। तथ्यांकअनुसार सेमिकन्डक्टर निर्यात सबैभन्दा बढी २५९.४ प्रतिशतले वृद्धि भई ५६ अर्ब ४७ करोड डलर पुगेको छ।

विश्वभर एआई डाटा सेन्टर तथा पूर्वाधार निर्माणमा लगानी बढ्दा उच्च क्षमताका मेमोरी चिपको माग तीव्र बनेको छ। मागमा भएको वृद्धिसँगै चिपको मूल्यसमेत बढेकाले निर्यातमा उल्लेख्य सुधार आएको हो।

त्यस्तै, ओएलईडी प्रविधिमा आधारित डिस्प्ले प्यानलको माग बढ्दा यसको निर्यात २३.६ प्रतिशतले वृद्धि भई दुई अर्ब तीन करोड डलर पुगेको छ। प्रिमियम स्मार्टफोनको बिक्रीमा सुधार आएपछि मोबाइल फोनको निर्यात पनि ६.५ प्रतिशतले बढेर एक अर्ब ७१ करोड डलर पुगेको छ।

कम्प्युटर तथा सहायक उपकरणको निर्यातमा भने सबैभन्दा तीव्र वृद्धि देखिएको छ। एआई डाटा सेन्टरमा प्रयोग हुने सोलिड स्टेट ड्राइभ (एसएसडी) को माग बढ्दा यस क्षेत्रको निर्यात ४३९.३ प्रतिशतले उकालो लागेर पाँच अर्ब ९९ करोड डलर पुगेको छ। सञ्चार उपकरणको निर्यात पनि २६.५ प्रतिशतले बढेर २३ करोड डलर पुगेको मन्त्रालयले जनाएको छ।

यसैबीच, अक्टोबरमा दक्षिण कोरियाको आईसीटी उत्पादनको आयात ५२.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ८० करोड डलर पुगेको छ। आयात बढे पनि निर्यातमा भएको तीव्र वृद्धिका कारण आईसीटी क्षेत्रको व्यापार बचत ५० अर्ब ५५ करोड डलर पुगेको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १६:५८ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast