‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रङ्गशाला निर्माणबारे छलफल सुरू

हिमाल प्रेस ७ मंसिर २०८३ १७:५३ | Monday, November 23, 2026
‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रङ्गशाला निर्माणबारे छलफल सुरू

काठमाडौँ- राष्ट्रिय खेलकुद प्रतियोगितालाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्न आवश्यक रङ्गशाला निर्माण तथा स्तरोन्नतिका विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको छलफलमा रङ्गशाला निर्माणका लागि लगानीको ढाँचा, जग्गा लिजमा दिने प्रक्रिया तथा प्राविधिक मापदण्डबारे विमर्श भएको थियो।

छलफलमा सरकारले सीमित बजेटबाट मैदान सम्याउनेलगायत आधारभूत पूर्वाधार तयार गरी सर्तसहित लिजमा दिने वा निजी क्षेत्रलाई जग्गा लिजमा दिएर निर्माणको सम्पूर्ण जिम्मेवारी दिने दुई विकल्पमाथि विचार गरिएको थियो।

मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाट खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताए। उनले सरकारले आधारभूत पूर्वाधार तयार गरेर सरोकारवाला पक्षलाई लिजमा उपलब्ध गराउँदा रङ्गशालाको स्तरोन्नति गर्न सहज हुने उल्लेख गरे।

फाप्ला रङ्गशालाको ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उनले यही हप्ताभित्र नेपाल प्रिमियर लिग (एनपीएल) का सम्बन्धित टोलीका सञ्चालकसँग छलफल गरी आधारभूत आवश्यकता पहिचान र लिज सम्झौताको प्रक्रिया अघि बढाइने बताए।

बैठकमा एनपीएलको छैटौँ संस्करणसम्म ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यका व्यावहारिक तथा प्राविधिक पक्षबारे पनि समीक्षा गरिएको थियो।

फुटबलको तुलनामा क्रिकेटमा पुनरावलोकन प्रणालीलगायत प्रविधि जडान गर्न बढी खर्च लाग्ने भएकाले आठवटै मैदानमा एकैपटक आवश्यक प्रविधि जडान गर्न चुनौतीपूर्ण हुने निष्कर्ष निकालिएको छ।

यद्यपि, ठूला सहरबाट क्रमशः प्रविधि विस्तार गर्न सकिनेमा छलफलमा जोड दिइएको थियो।

प्रस्तावित रङ्गशाला तथा मैदान ठूला प्रतियोगिता सञ्चालनमा मात्र सीमित नराखी नियमित अभ्यास, खेलकुद एकेडेमी, स्थानीय लिग तथा तल्लो तहका खेल गतिविधि विस्तारमा समेत उपयोग गर्नुपर्नेमा बैठकले जोड दिएको थियो।

प्रकाशित: ७ मंसिर २०८३ १७:५३ | Monday, November 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast