काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगको संवादपश्चात् सरकार विस्तार गर्ने बताएका छन्।
मुख्यमन्त्री यादवले काठमाडौँ गएर विभिन्न राजनीतिक दलका केन्द्रीय अध्यक्षसहितका शीर्ष तहका नेतासँग संवाद गरेपछि सरकार विस्तार गर्ने योजना बनाएको बताए।
‘केही दिनभित्रै काठमाडौँ जान्छु,’ मुख्यमन्त्री यादवले भने, ‘काठमाडौँमा कांग्रेस, एमाले र नेकपालगायतका दलका शीर्ष नेतालाई भेटेर छलफल गर्छु, अनि सरकार विस्तार गर्छु।’
मधेश प्रदेशमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने आफ्नो चाहना रहेको मुख्यमन्त्री यादवले बताए।
मंसिर ५ गते मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्री नियुक्त भएको एक साता बितिसक्दा पनि यादवले मन्त्रिपरिषद् विस्तार गरेका छैनन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न उनलाई अन्य दलको समर्थन आवश्यक देखिएको छ।



