सन्दकपुर-२ का वडाध्यक्ष बने उदाहरणीय कृषक

हिमाल प्रेस १ भदौ २०८३ १३:२७ | Monday, August 17, 2026
8
SHARES
सन्दकपुर-२ का वडाध्यक्ष बने उदाहरणीय कृषक

इलाम- इलामको सन्दकपुर गाउँपालिका-२ का वडाध्यक्ष सनम राई जनप्रतिनिधिसँगै गाउँका उदाहरणीय कृषक बनेका छन्। वडा कार्यालयबाट जनतालाई सेवा दिएर बचेको समय उनले व्यावसायिक किवी खेतीमा लगाएका हुन्।

‘नेताले काम गर्नुपर्छ’ भन्ने मान्यता राख्ने राईले १५ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गरेका छन्। उनले २०७७ सालमा ‘पौरखी कृषि तथा पशुपंक्षी फार्म’ दर्ता गरी किवी खेती सुरु गरेका हुन्।

उनको किवी बगानमा ‘ग्रीन’ र ‘गोल्डेन’ गरी दुई प्रजातिका १५५ वटा बोट छन्। किवीका लहरा चढाउन ३१० वटा पक्की पिल्लर र फलामका तार प्रयोग गरी मचान बनाइएको छ।

राईले रु दुई लाख लगानीमा किवी खेती सुरु गरेका थिए। अहिले बगानबाट वार्षिक करिब रु तीन लाख आम्दानी हुने उनी बताउँछन्।

‘जनताको काम गरेर बचेको समय किवी खेतीमा बिताउँदै आएको छु। मेहनतअनुसार आम्दानी पनि राम्रै हुँदो रहेछ,’ उनले भने, ‘वार्षिक तीन लाख रुपैयाँ आम्दानी भइरहेको छ। यसले घरव्यवहार चलाउन सहज भएको छ।’

किवीको मुख्य उत्पादन सिजन असोजदेखि मङ्सिरसम्म हो। सिजनमा स्थानीय व्यापारीले बगानबाटै प्रतिकेजी रु १०० देखि रु १२० सम्ममा किवी खरिद गर्ने गरेका छन्।

राईले यसै वर्षदेखि अलैँची खेतीसमेत सुरु गरेका छन्। राई २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट सन्दकपुर-२ को वडाध्यक्षमा निर्वाचित भएका हुन्।

जनप्रतिनिधि बन्नुअघि नै उनको फार्मलाई इलाममा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आर्थिक वर्ष २०७८/७९ मा ५० प्रतिशत लागत साझेदारीमा रु एक लाख ५० हजार अनुदान उपलब्ध गराएको थियो।

परियोजनाको रु एक लाख ५० हजार र फार्मको रु एक लाख ५० हजार गरी रु तीन लाखको कार्यक्रमबाट किवी खेती विस्तारमा सहयोग पुगेको राईले बताए।

किवी लहरा प्रजातिको बहुवर्षीय बाली हो। समुद्री सतहबाट करिब एक हजार २०० देखि दुई हजार ४०० मिटर उचाइसम्म यसको खेती गर्न सकिन्छ। गर्मीमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम नहुने तथा शरद् (असोज-कात्तिक) र वसन्त (चैत-वैशाख) मा बाक्लो तुसारो नपर्ने वातावरण किवी खेतीका लागि उपयुक्त मानिन्छ।

पोषिलो तथा औषधीय गुणयुक्त फल भएकाले किवीलाई ‘फलहरूको राजा’ समेत भन्ने गरिन्छ। किवीबाट जुस, जाम, वाइन, जेली, आइसक्रिमलगायत विभिन्न परिकार बनाउन सकिन्छ।

प्रकाशित: १ भदौ २०८३ १३:२७ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast