टिप्पणी

दिल्लीमा राजदूत पाण्डे : सम्बन्धको ज्ञान, सम्पर्क सञ्जाल र परिणाममुखी कूटनीतिको परीक्षा

पुराना विवाद समाधानसँगै नयाँ विश्वास र समझदारीको आशा

हिमाल प्रेस १ मंसिर २०८३ ९:४८ | Tuesday, November 17, 2026
4
SHARES
दिल्लीमा राजदूत पाण्डे : सम्बन्धको ज्ञान, सम्पर्क सञ्जाल र परिणाममुखी कूटनीतिको परीक्षा

काठमाडौँ- भारतका लागि नेपाली राजदूत नियुक्त डा. निश्चलनाथ पाण्डेको कूटनीतिक परीक्षा कार्यभार सम्हाल्नुअघि नै सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक बनाउनेदेखि दुई देशबीच चुलिएका असमझदारी सम्बोधन गर्ने र थाती रहेका द्विपक्षीय मुद्दालाई संवादमा ल्याउनेसम्मका चुनौती उनको काँधमा छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार पद तथा गोपनीयताको शपथ लिएका निश्चलनाथ मंगलबार दिल्ली पुग्दैछन्।

प्रधानमन्त्रीको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण भएकाले यसको राजनीतिक र कूटनीतिक महत्त्व उत्तिकै छ। प्रधानमन्त्री बालेन दुईदिने भ्रमणका लागि मंसिर ६ मा भारत जाने तयारीमा छन्।

दिल्लीस्थित नेपाली दूतावासको नेतृत्वमा निश्चलनाथको जिम्मेवारी प्रधानमन्त्रीको भ्रमण व्यवस्थापनमा मात्र सीमित छैन। जिम्मेवारी सम्हालेको केही दिनमै उच्चस्तरीय भ्रमणको व्यवस्थापन गर्नु उनका लागि सहज काम होइन। साथै नेपाल-भारत सम्बन्धका जटिलता बुझ्ने, दुई देशबीचको विश्वासको वातावरण बलियो बनाउने, पुराना विवाद र पूरा हुन नसकेका सम्झौतालाई संवादमा ल्याउने र आर्थिक सहकार्यका सम्भावनालाई व्यवहारमा उतार्ने जिम्मेवारी उनीमाथि छ। भारतसँग इमानदारीपूर्वक प्रयास गरे धेरै समस्या समाधान हुन सक्ने धारणा निश्चलनाथले आफैँले सञ्चालन गरेका बहसमा राख्दै आएका छन्।

प्रधानमन्त्रीको भ्रमणबाटै परीक्षा सुरु

पाण्डेले संसदीय सुनुवाइका क्रममा प्रस्तुत गरेको कार्ययोजनामा उच्चस्तरीय भ्रमण र त्यसबाट प्राप्त हुने नतिजालाई प्राथमिकता दिएका थिए। त्यसैले पनि उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई पहिलो प्राथमिकता दिने निश्चित छ। उनले राजदूत नियुक्त हुनुअघि नै नेपाल-भारतबीच रहेका करिब चार दर्जन द्विपक्षीय संयन्त्र सक्रिय बनाउने, उच्चस्तरीय भ्रमणलाई परिणाममुखी बनाउने र नियमित संवादका लागि द्विपक्षीय संयन्त्रको क्यालेन्डर तयार गर्ने प्रतिबद्धता जनाएका थिए। साथै नेपाल-भारत सम्बन्धलाई नेपालको परराष्ट्र नीतिको आधारभूत स्तम्भका रूपमा व्याख्या गर्दै उनले राष्ट्रिय हित, स्वाभिमान र जनभावनालाई केन्द्रमा राखेर सम्बन्ध अघि बढाउने बताएका थिए।

पाण्डेका लागि अहिलेको मुख्य काम प्रधानमन्त्री बालेनको भ्रमणका एजेन्डालाई अन्तिम रूप दिनु हो। नेपालले भारतसँग लामो समयदेखि उठाउँदै आएका विषय धेरै छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि भारतीय पक्षको सहयोग, थप हवाई प्रवेश मार्ग, व्यापार तथा पारवहन सहजीकरण, ऊर्जा निर्यात, लगानी र पूर्वाधार विकास त्यसका प्रमुख विषय हुन्। उनले यी विषयमा अध्ययन मात्र गरेका छैनन्, क्षेत्रका विज्ञहरूलाई भेला गराएर बहससमेत गर्दै आएका छन्। त्यसैले समस्याको सूक्ष्म पक्षसमेत बुझेका छन्।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि भारतीय हवाई क्षेत्र प्रयोगसम्बन्धी विषय टुंगिन सकेको छैन। यस विषयमा उनले बहससमेत गराइसकेकाले उनी जानकार छन्।  नेपालको विद्युत् निर्यात विस्तारका लागि प्रसारण लाइन र बजार पहुँचका विषय पनि उत्तिकै महत्त्वपूर्ण छन्। नेपालले आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। त्यसलाई व्यवहारमा उतार्न राजनीतिक प्रतिबद्धतासँगै प्राविधिक र व्यावसायिक सहमति आवश्यक हुन्छ।

नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, गैरभन्सार अवरोध हटाउने, गुणस्तर मापदण्डको पारस्परिक मान्यता र लगानीकर्ताका समस्या समाधान गर्न उनले प्रस्ताव गरेको नेपाल-भारत लगानी फास्ट ट्र्याक प्रणाली पनि कार्यान्वयनको प्रतीक्षामा रहनेछ। यस्ता विषयमा भारत सहमत भए पनि नेपाली पक्षले प्रभावकारी ढंगले आफ्नो कुरा राख्न नसकेको गुनासो पूर्वराजदूतहरूले गर्दै आएका छन्। निश्चलनाथले भारतका पूर्वराजदूत तथा नेपालमा रहेका भारतीय पूर्वराजदूत र कर्मचारीसँग पनि अनौपचारिक छलफल गर्दै आएका छन्।

पाण्डेले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने बताएका छन्। सूचना प्रविधि, नवप्रवर्तन, शिक्षा र स्वास्थ्य सेवामा भारतीय लगानी भित्र्याउने उनको योजना छ। अलैँची, अदुवा, चिया, बेसार, जडीबुटी, प्लाइवुड र चाँदीका गहनाजस्ता नेपाली उत्पादनको बजार विस्तार गर्ने विषय पनि उनको कार्ययोजनामा समेटिएको छ। नेपाली उत्पादन भारतीय बजारमा पुग्नुपर्छ। त्यसका लागि नेपालमै उत्पादन बढाएर भारत निर्यात गर्न सक्ने वातावरण बनाउनुपर्छ।

आर्थिक कूटनीति भाषण र लगानी सम्मेलनमा सीमित हुनु हुँदैन। नेपाली निर्यातकर्ताले भारतीय बजारमा भोगिरहेका वास्तविक समस्या पहिचान गर्ने, सरकारी निकायबीच समन्वय गर्ने र समाधानका लागि निश्चित समयसीमा तोक्ने काम आवश्यक हुन्छ। राजदूतले नेपाली व्यवसायी र भारतीय लगानीकर्ताबीच सम्पर्क गराइदिनेभन्दा पनि समस्या समाधानका लागि संस्थागत संयन्त्र निर्माण गर्न सक्नुपर्छ।

पुराना विवादसँगै नयाँ विश्वास र समझदारीको आशा

नेपाल-भारत सम्बन्धको सबैभन्दा संवेदनशील पक्ष सीमा विवाद हो। सीमा विवाद समाधानतर्फ पहल गर्नुको सट्टा त्यसलाई राष्ट्रवादी नाराका रूपमा प्रयोग गरेर राजनीति गर्ने प्रवृत्तिप्रति पनि सरकारले ध्यान दिन आवश्यक छ। कालापानी क्षेत्र (कालापानी, लिपुलेक, लिम्पियाधुरा) र सुस्तालगायतका विषयमा नेपालको स्पष्ट अडान छ। सीमा विवाद समाधानका लागि कूटनीतिक संवाद आवश्यक भए पनि भारतीय पक्षसँगको वार्तामा यी विषयलाई कसरी अघि बढाउने भन्ने चुनौती छ। यस विषयमा राजदूतले प्रधानमन्त्रीसँग छलफल गरी समाधानको सम्भावित बाटो सुझाउनुपर्ने हुन्छ।

संसदीय सुनुवाइमा पनि सांसदहरूले सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र व्यापार घाटाका विषय उठाएका थिए। त्यसैले पाण्डेले नयाँदिल्लीमा यी विषयलाई औपचारिक कूटनीतिक नोट आदानप्रदानमा सीमित नगरी समाधानको दिशामा अघि बढाउनुपर्नेछ। यसका लागि उनले कुनै न कुनै रूपमा कूटनीतिक ‘ब्याक च्यानल’ प्रयोग गर्ने अपेक्षा छ।

खुला सीमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको महत्त्वपूर्ण आधार हो। खुला सीमाबाट हुने मानव बेचबिखन, लागूऔषध ओसारपसार, तस्करीलगायत सीमापार अपराध नियन्त्रण गर्नु पनि आवश्यक छ। पाण्डेले सीसीटीभी, एआई र ड्रोन निगरानीसहितको स्मार्ट बोर्डर प्रणालीको अवधारणा अघि सारेका छन्। यस्तो प्रणाली विकास गर्दा खुला सीमाबाट हुने परम्परागत आवागमन र दुई देशका नागरिकबीचको सामाजिक सम्बन्ध प्रभावित नहुने गरी सहमति जुटाउनु उनको अर्को चुनौती हुन सक्छ। यस्ता विषयमा बहस र छलफल गरेर निचोडमा पुर्‍याउने जिम्मेवारी पनि पाण्डेकै हो।

यसका अतिरिक्त नेपाल-भारत सम्बन्धमा देखिने राजनीतिक उतारचढावलाई व्यवस्थापन गर्नु पनि राजदूतको जिम्मेवारी हो। राजनीतिक नेतृत्वका अभिव्यक्ति र सीमामा हुने घटनाले पार्ने प्रभावलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा राजदूतले तत्काल चाल्ने कदममा निर्भर गर्छ। नेपालमा सरकार परिवर्तनसँगै भारतप्रतिको प्राथमिकता र अभिव्यक्तिमा परिवर्तन आउने गरेको हुन्छ। राजदूतले त्यसबारे भारतलाई स्पष्ट पार्न सक्नुपर्छ। सरकार परिवर्तनसँगै भारतप्रतिको प्राथमिकता र अभिव्यक्तिमा पनि परिवर्तन आउने गरेको छ।

राजदूत आफैँले सबै कुरा गर्न नसक्ने हुनाले सरकारको निर्देशन र कार्यादेश महत्त्वपूर्ण हुने गर्छ। यस्ता विषयमा परराष्ट्र मन्त्रालयका सम्बन्धित महाशाखाहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। राजदूतको सक्रियताले मात्र पनि अपेक्षित परिणाम हासिल हुँदैन। यसैले सरकारको ध्यान महाशाखामा जानुपर्छ। अनि दिल्लीमा उपचारका लागि जाने नेपालीलाई राजदूतसँग भेटघाट गर्न वा दूतावासमा बसोबासको व्यवस्था मिलाउन अनिवार्य गर्नु पनि उचित हुँदैन।

राजदूतलाई सरकारले स्वतन्त्र छाडेर सहकार्यकाे पाटो पहिल्याउन दिनुपर्छ। नेपालको सुरक्षा, राजनीतिक स्थायित्व, आर्थिक स्वार्थ र क्षेत्रीय भूराजनीतिमा भारतको प्रभाव रहने गरेको आरोप लाग्दै आएको छ। यस्तो अवस्थामा वर्तमान सरकारले भारतसँगको सम्बन्धबारे आफ्नो दृष्टिकोण स्पष्ट पार्दै सबै राजनीतिक दलबीच साझा धारणा निर्माण गर्न आवश्यक छ। कूटनीति सञ्चालनको तौरतरिका भिन्न भए पनि लय र धारणा एकै हुन आवश्यक रहन्छ। यस्तो अवस्थामा व्यक्तिगत सम्पर्क र राजनीतिक निकटताभन्दा संस्थागत सम्बन्ध बलियो बनाउन आवश्यक हुन्छ।

सम्पर्कलाई राष्ट्रिय हितमा कसरी उपयोग गर्ने?

पाण्डेको सबैभन्दा उल्लेखनीय पक्षमध्ये एक उनको व्यापक सम्पर्क सञ्जाल हो। भारतका नीति अनुसन्धान संस्था, विश्वविद्यालय, सञ्चारमाध्यम, कूटनीतिक वृत्त र रणनीतिक समुदायसँग उनको लामो समयदेखिको सम्पर्क छ। थिंक ट्यांकको नेतृत्वमा रहँदा उनले भारतसहित विभिन्न मुलुकका अनुसन्धानकर्ता र नीतिनिर्मातासँग संवाद गरेका छन्। उनको सत्तापक्ष र प्रतिपक्षका साथै सुरक्षा निकाय तथा कूटनीतिक संयन्त्रसँग पनि राम्रो सम्बन्ध छ। भारतमा उनको नाम नै परिचय बनेको छ।

नेपालको कूटनीतिमा यस्तो सम्पर्कको महत्त्व छ। विशेषगरी भारतजस्तो ठूलो र बहुआयामिक राजनीतिक संरचना भएको देशमा सरकारका उच्च अधिकारीसँगको औपचारिक भेटघाटले मात्रै सबै विषय समाधान हुँदैनन्। त्यहाँका राजनीतिक दल, सुरक्षा तथा रणनीतिक समुदाय, व्यवसायी, सञ्चारमाध्यम र प्राज्ञिक क्षेत्रसँग पनि निरन्तर संवाद आवश्यक हुन्छ।

पाण्डेका लागि चुनौती भनेको आफ्नो सम्पर्कलाई नेपालका पक्षमा जनमत निर्माण गर्न, नेपालको प्राथमिकता बुझाउन र भारतीय नीति निर्माण वृत्तमा नेपालको दृष्टिकोण पुर्‍याउन प्रयोग गर्न सक्नु हो। सम्पर्क सञ्जाल आफैँमा उपलब्धि होइन। त्यसबाट कस्तो नतिजा प्राप्त भयो भन्ने महत्त्वपूर्ण हुन्छ। दिल्लीमा गल्लीगल्लीमा अध्ययनका लागि भनेर पसल थापेर बसेका गैरआवासीय नेपाली हुन् या भारतीयसँग उनको हिमचिम बढ्न गएको खण्डमा भने उनलाई असर गर्ने देखिन्छ। यसबाट उनी जोगिन सक्नुपर्छ।

निश्चलनाथको निरन्तर अध्ययन, अनुसन्धान र मेहनतले उनलाई यो जिम्मेवारीसम्म पुर्‍याएको छ। यही पृष्ठभूमि उनको कार्यसम्पादनमाथि थप अपेक्षा सिर्जना गर्ने आधार पनि हो। लामो समयदेखि परराष्ट्र मामिलाको अध्ययन र अनुसन्धानमा संलग्न व्यक्तिले व्यावहारिक कूटनीतिमा कति प्रभावकारी भूमिका निर्वाह गर्छन् भन्ने चासो रहनेछ। यही अनुभव र ज्ञानलाई व्यवहारमा उतार्न सके उनी आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्छन्। भारतीय लगानी भित्र्याउन र नेपाली साना व्यवसायीका लागि भारतीय बजारमा पहुँच विस्तार गर्न उनले केही ठोस काम गर्न सकेमा उनको कार्यकाल उल्लेखनीय बन्न सक्छ।

अनुसन्धानको ज्ञान व्यावहारिक कूटनीतिमा

राजदूत निश्चलनाथसँग कूटनीतिक अध्ययन, अनुसन्धान, नीतिगत काम र अन्तर्राष्ट्रिय सम्पर्कको लामो अनुभव छ। अब त्यो अनुभवलाई नेपालको राष्ट्रिय हितअनुकूल परिणाममा बदल्नुपर्नेछ। उनको नियुक्तिको एउटा विशेष पक्ष उनको प्राज्ञिक तथा अनुसन्धानमूलक पृष्ठभूमिका साथै कूटनीतिक क्षेत्रमा गरेका कामको मूल्यांकन पनि हो।

उनी परराष्ट्र मामिला र भूराजनीतिक अध्ययनमा लामो समयदेखि सक्रिय छन्। संसारका प्रतिष्ठित विश्वविद्यालयमा उनले यो क्षेत्रको राजनीति र भूराजनीतिबारे प्रवचन दिएका छन्।  परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) मा अनुसन्धान तथा अभिलेख अधिकृतका रूपमा काम सुरु गरेका उनले त्यही संस्थामा उपकार्यकारी निर्देशक हुँदै कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाले। उनले परराष्ट्र मन्त्रालयको सुधार तथा क्षमता अभिवृद्धिका लागि गठित विशेष कार्यदलमा बसेर काम गरे।

आईएफएसँगको आठ वर्ष लामो आबद्धता संस्थागत अनुभवका दृष्टिले महत्त्वपूर्ण छ। दुई वर्षसम्म कार्यकारी निर्देशक (२००५–२००७) का रूपमा उनले संस्थाको अनुसन्धान, तालिम र नीतिगत गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनले सन् २००८ देखि सेन्टर फर साउथ एसियन स्टडिज (सिसास) को नेतृत्व गर्दै आएका छन्।

यस अवधिमा दक्षिण एसियाली राजनीति, क्षेत्रीय सुरक्षा, नेपालका छिमेकीसँगको सम्बन्ध र बदलिँदो भूराजनीतिक परिस्थितिबारे उनले अध्ययन तथा बहसलाई निरन्तरता दिएका छन्। राष्ट्रिय योजना आयोगमा पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ। राजनीतिशास्त्रमा विद्यावारिधि गरेका निश्चलनाथले भारतसहित दक्षिण एसियाका देशका साथै अमेरिका, बेलायत, सिंगापुर र जर्मनीलगायतका देशका संस्थासँग पनि अनुसन्धानात्मक सम्बन्ध विस्तार गरेका छन्।

उनको अर्को महत्त्वपूर्ण पक्ष सञ्चार क्षेत्रसँगको सम्बन्ध हो। कुनै समय द राइजिङ नेपालमा पत्रकारका रूपमा काम गरेका निश्चलले पत्रकारिता र अनुसन्धान दुवै क्षेत्रको अनुभव बटुलेका छन्। कूटनीतिक विषयमा लेख्ने, पढ्ने र बहस गर्ने मात्रै होइन, सञ्चारमाध्यमले कूटनीतिक घटनाक्रमलाई कसरी बुझ्छन् भन्ने अनुभव पनि उनीसँग छ। भारतसँगको सम्बन्धमा सार्वजनिक धारणा, सञ्चारमाध्यमको भूमिका र राजनीतिक भाष्यले पार्ने प्रभाव बुझ्न यो अनुभव उपयोगी हुन सक्छ।

निश्चलनाथलाई चिन्नेहरू उनको तीक्ष्ण विश्लेषण क्षमता, भूराजनीतिक विषयमाथिको पकड र सम्पर्क सञ्जाललाई उनको बलियो पक्षका रूपमा चर्चा गर्छन्। उनी अध्ययन र अनुसन्धानमा मात्र सीमित रहेनन्, नयाँ पुस्तालाई दक्ष बनाउने काममा पनि सक्रिय रहे। भारतका विभिन्न विश्वविद्यालय तथा पत्रकारिता संस्थामा नेपाली युवालाई अध्ययनका लागि अवसर जुटाउन उनले पहल र सिफारिस गरे। दक्षिण एसियाली फेलाेसिपमा उनको सिफारिस अर्थपूर्ण रहने गरेको छ।

चेन्नईका पत्रकारिता संस्था (सीआईजे) देखि श्रीनगर र पण्डिचेरीका विश्वविद्यालयसम्म उनको पहलमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपालीको संख्या करिब दुई सय पुगेको उनको कार्यसँग जोडेर उल्लेख गरिन्छ। परराष्ट्रमन्त्रीका सञ्चारसम्बन्धी जिम्मेवारीमा रहेका व्यक्तिदेखि सरकारी संयन्त्र र सञ्चार क्षेत्रमा कार्यरत युवासम्मलाई भारतमा अध्ययनको अवसर जुटाउन उनले गरेको पहल उनको संस्थागत योगदानको अर्को पाटो हो।

आफूले जानेको ज्ञान र बनाएको सम्पर्कलाई अरूको क्षमता विकासमा उपयोग गर्नुपर्छ भन्ने उनको कार्यशैली यसबाट देखिन्छ। कूटनीतिमा व्यक्तिगत सम्बन्ध र सम्पर्क सञ्जालको महत्त्व हुन्छ। तर त्यो सञ्जालको वास्तविक मूल्य त्यसले नेपालको हितमा कति अवसर सिर्जना गर्छ भन्नेबाट मापन हुनेछ। यसमा उनी सफल भए अन्य संयन्त्र पनि सक्रिय हुन सक्ने उनका शुभचिन्तकहरूको विश्वास छ।

उनको पारिवारिक पृष्ठभूमि पनि कूटनीतिक अध्ययन र अनुभवसँग जोडिएको छ। पिता रमेशनाथ पाण्डे सञ्चारकर्मी हुँदै पटकपटक मन्त्री भए। परराष्ट्रमन्त्रीसमेत भइसकेका उनी कूटनीति र भूराजनीतिक विषयमा अध्ययनअनुसन्धानमा संलग्न छन्। कूटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लामो अनुभव भएका पिता तथा लेखकसँगको निकटता निश्चलनाथका लागि ज्ञान र अनुभवको स्रोत बनेको हुन सक्छ।

पिता रमेशनाथका पुस्तक, राजनीतिक तथा कूटनीतिक सम्पर्क र सार्वजनिक जीवनबाट प्राप्त विरासत पनि उनको पृष्ठभूमिको एउटा पक्ष हो। यद्यपि राजदूतका रूपमा उनको मूल्यांकन पारिवारिक विरासतबाट होइन, उनले निर्वाह गर्ने जिम्मेवारी र हासिल गर्ने परिणामबाट हुनेछ। तर पिताबाट प्राप्त ज्ञान र अनुभवलाई पनि उनले आफ्नो कार्यशैलीमा उपयोग गर्न सक्नुपर्छ।

पाण्डेको नियुक्तिलाई एउटा अनुसन्धानकर्मी र नीतिगत बहसमा सक्रिय व्यक्तिले व्यावहारिक कूटनीतिको नेतृत्व गर्ने अवसरका रूपमा पनि हेर्न सकिन्छ। अनुसन्धान संस्थामा काम गर्नु र कूटनीतिक नियोग सञ्चालन गर्नु भिन्न जिम्मेवारी हुन्। थिंक ट्यांकमा विचार प्रस्तुत गर्न सकिन्छ, तर राजदूतका रूपमा राष्ट्रिय हित, सरकारको नीति, संस्थागत मर्यादा र द्विपक्षीय संवेदनशीलताबीच सन्तुलन कायम गर्नुपर्छ।

भारतमा नेपालको प्रतिनिधित्व गर्दा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको राजनीतिक निर्देशनलाई बुझ्नुपर्ने हुन्छ। राजदूतको भूमिका निर्देशन पालना गर्नेमा मात्रै सीमित हुँदैन। आवश्यक विषयमा सरकारलाई सही सूचना दिने, सम्भावित कूटनीतिक जोखिमबारे सचेत गराउने र नेपालको दीर्घकालीन हितअनुकूल विकल्प प्रस्तुत गर्ने जिम्मेवारी पनि उनको हो। त्यससँगै यस क्षेत्रमा हुन सक्ने राजनीतिक उथलपुथलबारे जानकारी राख्ने र विश्व घटनाक्रमको विश्लेषण प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमक्ष प्रस्तुत गर्ने जिम्मेवारी पनि उनको हो।

प्रधानमन्त्री बालेनको शैली, सरकारको प्राथमिकता र भारतसँगको सम्बन्धलाई हेर्ने दृष्टिकोण बुझेर काम गर्नु उनको पहिलो जिम्मेवारी हुनेछ। प्रधानमन्त्रीको भ्रमणलाई प्रचारात्मक उपलब्धिभन्दा पनि कार्यान्वयनयोग्य सहमतिमा रूपान्तरण गर्न सके उनको कार्यकालको थालनीमै एउटा महत्त्वपूर्ण आधार तयार हुनेछ।

अर्को पक्ष भारतस्थित नेपाली दूतावासको संस्थागत क्षमता हो। दूतावासलाई राजनीतिक भेटघाट, औपचारिक कार्यक्रम र कूटनीतिक पत्राचारमा सीमित राख्नु हुँदैन। नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी, पर्यटक र भारतमा बसोबास गर्ने नेपालीका समस्या सम्बोधन गर्ने प्रभावकारी संयन्त्र बनाउनुपर्छ। आर्थिक तथा सार्वजनिक कूटनीतिलाई पनि सक्रिय बनाउनुपर्नेछ। दूतावासको संरचनागत सुधार, जिम्मेवारी बाँडफाँट र अनावश्यक उच्चस्तरीय पदको समायोजनमा पनि उनले काम गर्नुपर्नेछ।

आफू मात्र अघि बढ्नेभन्दा अरूलाई पनि अवसर दिनुपर्छ भन्ने उनको कार्यशैली अब दूतावासको संस्थागत विकासमा पनि देखिनुपर्छ। दक्ष कर्मचारीको क्षमता विकास, नियमित अनुसन्धान, तथ्यमा आधारित कूटनीतिक प्रतिवेदन र भारतका विभिन्न राज्यसँगको सम्बन्ध विस्तारमा उनले ध्यान दिनुपर्नेछ।

निश्चलनाथको मूल्यांकन उनी कति जानकार छन्, कति पुस्तक पढेका छन् वा कति प्रभावशाली व्यक्तिसँग सम्पर्क राख्छन् भन्ने आधारमा मात्र हुनेछैन। उनले भारतसँगको सम्बन्धमा नेपालको राष्ट्रिय हितलाई कति प्रभावकारी ढंगले प्रस्तुत गरे, पुराना समस्या समाधानका लागि कस्तो पहल गरे, आर्थिक सहकार्यका कति अवसर सिर्जना गरे र दूतावासलाई कति परिणाममुखी बनाए भन्ने आधारमा हुनेछ।

उनका लागि अवसरसँगै अपेक्षा पनि ठूलो छ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमण उनको कूटनीतिक यात्राको पहिलो परीक्षा मान्न सकिन्छ तर उनको आगामी कार्यले उनको बाँकी कूटनीतिक जीवनको आधार पनि तय गर्नेछ।  भ्रमणको परिणाम भेटघाट र संयुक्त वक्तव्यले मात्र निर्धारण गर्नेछैन। त्यसबाट भएका सहमति कति कार्यान्वयन भए भन्ने कुराले निर्धारण गर्नेछ। भ्रमणका सहमति कार्यान्वयनमा उनले कस्तो भूमिका खेल्छन् भन्ने कुराले पनि उनको कार्यसम्पादन निर्धारण गर्नेछ।

भूकम्प र बाढीका बेला भारतले गरेको सहयोगले नेपालप्रति उसको सद्भाव देखाएको छ। हरेक देशका आफ्नै स्वार्थ र चासो हुन्छन्। त्यसमा हामी नपर्ने भन्दा पनि कैयन् विषयमा उसलाई सहमत गराउने र नेपालबाट उसलाई हुन सक्ने खतराको निराकरण खोज्ने हो। यसमा स्पष्ट हुन जरुरी छ।

पाण्डेका लागि अब आफ्नो लामो अनुसन्धान र सम्पर्क सञ्जाललाई नेपालको राष्ट्रिय हितमा रूपान्तरण गर्ने समय आएको छ। भारतसँग खुलेर र स्पष्ट रूपमा आफ्नो कुरा राख्न सके धेरै समस्याको समाधान खोज्न सकिन्छ। भारतसँग कुरा राख्दा सम्बन्ध बिग्रेला कि भन्ने शंका र संकोचका कारण कैयौँ सम्झौता टुंगोमा पुग्न नसकेका हुन्। यी विषय राम्रोसँग बुझेका हुनाले पाण्डेबाट आशा गर्ने स्थान धेरै छ। नयाँ राजदूतलाई शुभकामना!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast