काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि बुधबार काठमाडौँ आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले उच्चस्तरीय भेटवार्ता गरेका छन्।
बिहान काठमाडौँ आइपुगेका मिश्री आगमनलगत्तै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका हुन्।
नेपाली समकक्षी अमृतबहादुर राईसँग भएको भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सन्दर्भमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
यसका साथै राई र मिश्रीबीचको भेटमा दुई देशबीचको आपसी हितका विविध विषयमा समेत कुराकानी भएको थियो।

विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो र बनाउने र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

विदेश सचिव मिश्रीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन्।
ऊर्जा मनत्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत आयोजनाहरूको निर्माण, विपद् प्रतिकार्य, पूर्वसूचना प्रणालीलगायतका विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
भेटमा मन्त्री श्रेष्ठले नेपालले हालै भोगेको शृंखलाबद्ध विपद्मा सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए। उनले विद्युत व्यापारलाई बढाउन, नेपालमा सञ्चालित परियोजनाहरू सम्पन्न गर्न र निजी क्षेत्रलाई लगानी अभिवृद्धि गर्न अनुरोध गरे।
विदेश सचिव मिश्रीले भारत ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए। भेटमा ऊर्जा सचिव डा.जगदिश्वर कर्माचार्यसहित ऊर्जा मन्त्रालयका अधिकारीहरू सहभागी थिए।

त्यस्तै मिश्रीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका छन्।
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा दुवै जनाबीच दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो। छलफलमा अर्थ सचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए।

विदेश सचिव मिश्रीको बिहीबार प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमण यसै महिनाको अन्त्यतिर हुने तयारी छ। यद्यपि दुवै सरकारले भ्रमणको औपचारिक मिति सार्वजनिक गरेको छैन।
विदेश सचिव मिश्रीको बिहीबार नै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।



