मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युतमा ठूलो धक्का, कति क्षमतामा पुग्यो क्षति?

हिमाल प्रेस १ मंसिर २०८३ ८:५३ | Tuesday, November 17, 2026
6
SHARES
मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युतमा ठूलो धक्का, कति क्षमतामा पुग्यो क्षति? default

म्याग्दी- मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ। कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्‍याएको हो।

विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ। निर्माणाधीन आयोजनामा निर्माण सामग्री तथा उपकरण ढुवानी अवरुद्ध हुँदा कामको गति सुस्त भएको छ। यसले आयोजना सम्पन्न हुने अवधि लम्बिनुका साथै निर्माण लागत बढ्ने जोखिम बढाएको छ।

कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका अन्नपूर्ण गाउँपालिका–१ दोबामा दुई वटा र रातोपानीमा एउटा टावर बगाएको छ । धिरच्याङको टावरमा आंशिक क्षति पुगेको छ भने तिप्ल्याङ क्षेत्रको अर्को टावर जोखिममा परेको छ।

प्रसारण लाइन अवरुद्ध भएपछि उत्तरी म्याग्दीका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो। नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटेमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर गत असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुनस्सञ्चालन गरिएको थियो। क्षतिग्रस्त टावर र प्रसारण लाइनको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला, म्रिस्त्रीखोला, निलगिरी–१, नीलगिरी–२ र रेलेखोलाका साथै मुस्ताङको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ।

बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकाका दुई जलविद्युत् आयोजना बन्द भएका छन्। रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताए। त्यस्तै, १४ मेगावाट क्षमताको घारखोला आयोजनाको विद्युत्गृह गत साउन २६ गतेको सुक्खा पहिरोले पुरिएको थियो।

त्यसपछि गत असोजको बाढीपहिरोले बाँधमा थप क्षति पुर्‍याएको छ। विद्युतगृह पुरिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए । आयोजनाको पुनर्निर्माण तयारी भइरहेको र प्रारम्भिक अनुमानअनुसार रु एक अर्बभन्दा बढी क्षति भएको म्याग्दी हाइड्रोपावरका प्रशासन प्रमुख अनिल तिवारीले बताए।

कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाटको मध्यकालीगण्डकी आयोजनाको निर्माण डेढ महिनादेखि प्रभावित भएको छ । कालीगण्डकी गर्जको मुस्ताङको घाँसास्थित थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढीले गेग्रान थुपारेपछि काम रोकिएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए।

मध्यकालीगण्डकी आयोजनाको सुकेबगरस्थित बाँध, सुरुङ, आवास, मेसिनरी, उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्करमा बाढीले क्षति पुर्‍याएको प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । बाढीले निर्माणस्थलको डाइभर्सन भत्काउनुका साथै नागढुङ्गा र रातोपानीका आवास भवन तथा नौलीबगरस्थित पहुँचमार्ग क्षति गरेको छ।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्‍याउँदा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ। टेलरेस गेट र स्वीचयार्ड नजिकको क्षेत्रमा क्षति पुग्नुका साथै विद्युत्गृहमा पानी पसेर डुबान भएको थियो। हाल २०/२० मेगावाट क्षमताका दुई युनिट आलोपालो सञ्चालन गरी परीक्षण उत्पादन भइरहेको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले बताए।

म्याग्दीखोला बेसीनमा निर्माणाधीन आयोजनामा पनि पहुँचमार्ग र ढुवानीको समस्या देखिएको छ । घुमाउने, बालौटे, बाङ्गेपहिरो, इल्पु र शिवरात्रि खोलाको बाढीपहिरोले निर्माण सामग्री तथा उपकरण ढुवानी प्रभावित भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए। कूल ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी आयोजनाको निर्माणमा असर परेको छ। दरखोलालगायतका आयोजनाको सडकका विभिन्न स्थानमा पहिरो खस्दा निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ।

राहुघाट करिडोरका अपर राहुघाट, मङ्गले–चिमखोला–राहुघाट, अपर ठूलोखोला र ठूलोखोला जलविद्युत् आयोजनाको उत्पादन नियमित रहेको छ । बाढीपहिरोले जलविद्युत् आयोजनाका मुख्य संरचनासँगै प्रसारण लाइन, पहुँचमार्ग, निर्माण सामग्री भण्डारणस्थल र आवास संरचनासमेत जोखिममा रहेको देखाएको छ।

जलविद्युत् क्षेत्रमा बढ्दो लगानीको सुरक्षा गर्न नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध, वैकल्पिक पहुँचमार्ग, प्रसारण टावरको संरक्षण र विपद् पूर्वतयारीलाई आयोजना निर्माण तथा सञ्चालनको अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित: १ मंसिर २०८३ ८:५३ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast