म्याग्दी अपडेट : पहिरोमा पुरिएर ज्यान गुमाउने ७ पुगे, २०० घरपरिवार विस्थापित

हिमाल प्रेस १३ असोज २०८३ ७:०३ | Tuesday, September 29, 2026
म्याग्दी अपडेट : पहिरोमा पुरिएर ज्यान गुमाउने ७ पुगे, २०० घरपरिवार विस्थापित

काठमाडौँ- निरन्तरको झरीपछिको पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या सात पुगेको छ। विपद्मा परी दुई जना बेपत्ता भएका छन्। पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर, किन्दुका १०६ जनालाई उद्धार गरिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएका उनीहरुलाई शिख, घारको अस्थायी शिविर राखिएको छ। सडक यातायात सम्पर्कबिच्छेद भएकाले अस्थायी शिविरमा बेनीबाट हेलिकप्टरबाटै खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामान ढुवानी गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए।

पहिरोमा बेपत्ता भएकी बेनी नगरपालिका–३ छेपारेकी कुमारी वली विकको खोजी जारी छ । यस्तै, बेपत्ता भएका अन्नपूर्ण–५ का ७५ वर्षीय ओमबहादुर तिलिजाको सोमबार शव फेला परेको छ।

अन्नपूर्ण–३ की शिलकुमारी पाइजा, योगमाया पाइजा, अन्नपूर्ण–८ का सविन गर्बुजा, मालिका गाउँपालिका–३ का चिरन पुन, देवबहादुर पुन र अन्नपूर्ण–५ की जेनी पुर्जाको शव भेटिएको छ। पहिरोबाट म्याग्दी जिल्लाभर २०० घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।

पहिरोका कारण अवरुद्ध बनेको बेनी–बागलुङ सडक आंशिक रुपमा सञ्चालनमा आएको छ । बेनी–दरबाङ सडकको बेनी–तातोपानी खण्डमा एकतर्फी यातायात सञ्चालन गर्न मिल्नेगरी मर्मत गरिएको छ।

म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको बेनीदेखि गलेश्वरसम्म सडक खुलेको छ।

जिल्ला सदरमुकाम बेनीमा सञ्चार र विद्युत् सेवा आंशिक रुपमा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा अवरुद्ध छ।

सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा विपद्को क्षतिको विवरण सङ्कलनमा समस्या भएको छ । विवरण सङ्कलनका लागि प्रत्येक स्थानीय तहलाई दुई÷दुई जना जनशक्ति माग गर्ने निर्णय सोमबारको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ।

म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला राष्ट्रिय राजमार्गसँग सम्र्पकबिच्छेद भएकाले इन्धन अभाव हुनसक्ने देखिएकाले मौजुदा पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न पेट्रोलपम्पलाई प्रशासनले निर्देशन दिएको छ।

मौजुदा पेट्रोलियम पदार्थ सुरक्षा निकाय, एम्बुलेन्स, अस्पताल तथा सडक अवरोध खुलाउन प्रयोग गरिने सवारीसाधनलाई उपलब्ध गराइनेछ।

यस्तै, अन्य सवारीसाधनको हकमा आवश्यकता तथा प्राथमिकताअनुसार उपलब्ध गराउने व्यवस्था मिलाएको प्रशासनले जनाएको छ।

प्रकाशित: १३ असोज २०८३ ७:०३ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast