लुम्बिनी पहिलो क्वालिफायरमा, विराटनगरको प्लेअफ सपना समाप्त

हिमाल प्रेस २८ कार्तिक २०८३ २०:५७ | Saturday, November 14, 2026
लुम्बिनी पहिलो क्वालिफायरमा, विराटनगरको प्लेअफ सपना समाप्त

काठमाडौँ- विराटनगर किंग्समाथि रोमाञ्चक जित निकाल्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले विराटनगरलाई ४ विकेटले पराजित गरेको हो। जितसँगै लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक प्लेअफमा पुगेको हो।

विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीलाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक थियो। विराटनगरका रुपेश सिंहले अन्तिम ओभर बलिङ गर्दा पहिलो बल नो बल भएपछि खेल रोमाञ्चक बनेको थियो।

त्यसपछि अली शेखले छक्का प्रहार गर्दै लुम्बिनीलाई जिततर्फ अघि बढाए। चौथो बलमा अली क्याच आउट भए पनि क्रिजमा आएका रुवेन ट्रम्पलमेनले छक्का प्रहार गरेपछि लुम्बिनीले एक बल बाँकी छँदै लक्ष्य भेट्टायो।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्ट र आशिफ शेखले महत्त्वपूर्ण योगदान दिए। दुवैले पहिलो विकेटका लागि ११.५ ओभरमा ९६ रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

डार्सीले ४५ रन बनाए। ३३ बल सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे। उनलाई चरिथ असलंकाले एलबीडब्लु धरापमा पारे। अर्का ओपनर आशिफले पनि ४५ रन बनाए। उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनी रनआउट भए।

त्यसपछि अपराजित पौडेलले १३औँ ओभरमा लगातार दुई बलमा निरोसन डिकवेला र दिलिप नाथलाई आउट गरेपछि लुम्बिनी दबाबमा परेको थियो।

कप्तान रोहित पौडेल ९ रनमा रनआउट भए। त्यसपछि अली शेख र सन्दीप जोराले छैटौँ विकेटका लागि ४२ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्‍याए। अलीले १९ बलमा २७ रन बनाए। उनले १ चौका र २ छक्का प्रहार गरे।

सन्दीप २५ तथा रुवेन ट्रम्पलमेन ६ रनमा अविजित रहे। विराटनगरका लागि अपराजित पौडेलले १ ओभरमा ५ रन खर्चेर २ विकेट लिए। चरिथ असलंका र रुपेश सिंहले समान १ विकेट लिए।

यसअघि टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले पहिले ब्याटिङको निम्तो पाएपछि विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो।

विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रनको योगदान दिए। उनले ४३ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अर्धशतक पूरा गरेका असलंका र शुभम रन्जानेले महत्त्वपूर्ण साझेदारी गरेका थिए।

असलंकाले खेलमा दुईपटक जीवनदानसमेत पाएका थिए। ३७ रन बनाउँदा रुवेन ट्रम्पलमेनले उनको क्याच छाडेका थिए भने ४७ रनमा खेलिरहेका बेला आशिफ शेखले अर्को क्याच छाडेका थिए। पछि उनी रुवेनकै बलमा क्याच आउट भए।

इमरान शेख २४ रनमा रिटायर्ड हर्ट भए। उनले २९ बलमा १ छक्का प्रहार गरेका थिए। १०.२ ओभरमा खुट्टामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए। त्यसपछि क्रिजमा आएका शुभम रन्जानेले ३१ रन बनाए। बसिर अहमद ४ रनमा अविजित रहे। विराटनगरका लोकेश बमले १५, इसुरु उडानाले ६ र सेहान जयसूर्याले १ रन बनाए।

लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए। रुवेन ट्रम्पलमेन र अविशेष गौतमले समान १ विकेट हात पारे। विराटनगरको हारसँगै काठमाडौँ गोर्खाज र चितवन राइनोजले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेका छन्। यसअघि नै प्लेअफमा पुगिसकेको लुम्बिनीले भने शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने अवसर सुरक्षित गरेको छ।

एनपीएलमा आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

काठमाडौँले पोखरालाई पराजित गरे पहिलो क्वालिफायरमा स्थान बनाउनेछ। प्लेअफ दौडबाट बाहिरिसकेका कर्णाली र पोखरा भने अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछन्।

प्रकाशित: २८ कार्तिक २०८३ २०:५७ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast