काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे सुरु हुने खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
आजको खेलका लागि दुवै टोलीले आफ्नो प्लेइङ ११ मा दुई-दुई खेलाडी परिवर्तन गरेका छन्। काठमाडौँ गोर्खाजले दुसान हेमन्थलाई डेब्यु गराउँदा स्याम हिजलेटलाई पनि टोलीमा समेटेको छ।
सुदूरपश्चिम रोयल्सले फाबियन एलेनलाई डेब्यु गराएको छ। दीपक बोहोराले पनि आजको खेलबाट पहिलोपटक मैदानमा उत्रने अवसर पाएका छन्।
अंकतालिकामा शीर्ष स्थानको दौडमा रहेका दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ।
९ अंकसहित साविक विजेता लुम्बिनी शीर्ष स्थानमा रहँदा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ८ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।



