एनपीएलमा आज दुई खेल, शीर्षस्थानको होडमा काठमाडौँ र सुदूरपश्चिम

हिमाल प्रेस २७ कार्तिक २०८३ ७:१७ | Friday, November 13, 2026
एनपीएलमा आज दुई खेल, शीर्षस्थानको होडमा काठमाडौँ र सुदूरपश्चिम

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।

काठमाडौँ  र सुदूरपश्चिमबीचको खेल दिउँसो १२:३० बजे सुरु हुनेछ भने चितवन र जनकपुरबीचको खेल साँझ ५ बजे हुनेछ। आजको पहिलो खेल दुवै टोलीका लागि अंक तालिकाको शीर्षस्थानमा उक्लिने अवसर हो।

९ अंकसहित साविक विजेता लुम्बिनी शीर्ष स्थानमा रहँदा काठमाडौँ र सुदूरपश्चिम समान ८ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। त्यसैले आजको जितले दुवैमध्ये एक टोलीलाई शीर्ष स्थानको दौडमा बलियो बनाउनेछ।

सुदूरपश्चिमका लागि आजको खेल समूह चरणको अन्तिम प्रतिस्पर्धा हो भने काठमाडौँले अझै एक खेल खेल्न बाँकी छ। प्रतियोगिताको सुरुवातमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेका यी दुवै टोलीले पछिल्ला खेलमा लय समात्दै उपाधि दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरेका छन्। यही कारण आजको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

दोस्रो खेल चितवन राइनोजका लागि प्लेअफ सम्भावना कायम राख्न निर्णायक बन्न सक्छ। ५ अंकसहित पाँचौँ स्थानमा रहेको चितवनलाई अन्तिम चारको दौडमा टिकिरहन जनकपुरविरुद्ध जित आवश्यक छ।

जनकपुर बोल्ट्स भने प्लेअफमा पुग्ने सम्भावना निकै कमजोर बनेपछि दबाबमुक्त अवस्थामा मैदान उत्रिनेछ। यस्तो अवस्थामा चितवनका लागि आजको खेल अंक जोड्ने मात्र नभई प्रतियोगितामा आफ्नो यात्रा लम्ब्याउने अवसरसमेत हुनेछ।

प्रकाशित: २७ कार्तिक २०८३ ७:१७ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast