काठमाडौँ- विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३२ रनमै समेटिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनायो। पोखराका लागि क्यानडाका युवा ब्याटर युवराज सिंह सम्राले उत्कृष्ट ब्याटिङ गर्दै ८४ रनको योगदान दिए।
पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले जारी प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरेका हुन्। यो एनपीएल र टी-२० क्रिकेटमा सन्दीपको अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शनसमेत हो।
पोखराले सुरुवातमै महत्वपूर्ण विकेट गुमाएको थियो। पहिलो ओभरको अन्तिम बलमा अर्जुन कुमाल १ रनमा आउट भए भने दोस्रो ओभरको अन्तिम बलमा कुशल भुर्तेल खाता नै नखोली पेभेलियन फर्किए।
लगातार दुई विकेट गुमाएपछि दबाबमा परेको पोखराको इनिङ्स सम्राले सम्हाले। उनले अर्जुन घर्तीसँग तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे। घर्ती ५ रन बनाएर छैटौं ओभरमा आउट भए।
त्यसपछि सम्राले सन्नी बिकेसँग चौथो विकेटका लागि ३० रन जोडे। सन्नी १२ रनमा आउट भए। रामेश मेन्डिस पनि खाता नखोली फर्किएपछि पोखरा थप दबाबमा परेको थियो।
तर सम्राले आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै धनञ्जय लक्षणसँग छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरे।
सम्राले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८४ रन बनाए। १७८.७२ को स्ट्राइक रेटमा खेलेका उनी १५औं ओभरमा आउट भए। त्यसबेला पोखराको स्कोर १२२ रन थियो।
पोखराका लागि सम्रा क्रिजमा रहँदासम्म सम्मानजनक योगफल बनाउने सम्भावना देखिएको थियो। तर सन्दीप लामिछानेले १५औं ओभरमा लगातार तीन विकेट लिएपछि खेलको दिशा नै परिवर्तन भयो।
सम्राले सन्दीपको बलमा लगातार छक्का र चौका प्रहार गरेका थिए। तर त्यसपछिको बलमा विकेट पछाडि इसुरु उडानाबाट क्याच आउट भएपछि उनको उत्कृष्ट इनिङ्स समाप्त भयो।
त्यसपछि सन्दीपले चौथो बलमा पोखराका कप्तान चमिका करुणारत्नेलाई एलबीडब्लू आउट गरे। पाँचौं बलमा किरण ठगुन्नालाई पनि एलबीडब्लूको धरापमा पार्दै उनले ह्याट्रिक पूरा गरे।
एउटै ओभरमा तीन महत्वपूर्ण विकेट गुमाएपछि पोखरा सम्हालिन सकेन। सन्दीपले १७औं ओभरमा धनञ्जय लक्षणलाई आउट गरे भने पोखराको अन्तिम विकेटका रूपमा विपिन खत्रियालाई पनि पेभेलियन फर्काए।
धनञ्जयले १५ बलमा २२ रन बनाउँदा सन्नी बिकेले १२ रन जोडे। अर्जुन घर्तीले ५ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
विराटनगरका लागि सन्दीपबाहेक एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले समान एक विकेट लिए।
१४.३ ओभरमा १२२ रन बनाएको पोखराले त्यसपछि थप १० रन जोड्दा चार विकेट गुमाएको थियो। सम्रा आउट भएपछि लगातार चमिका करुणारत्ने र किरण ठगुन्नालाई शून्यमा गुमाउनु पोखराका लागि महँगो साबित भयो।
तीन बलको अन्तरमा तीन महत्वपूर्ण विकेट गुमेपछि पोखराको ठूलो योगफल बनाउने सम्भावना समाप्त भयो। सन्दीपको उत्कृष्ट बलिङ नै पोखरालाई सस्तैमा समेट्ने मुख्य कारण बन्यो।



