पुटिन र ट्रम्पको असफलताबाट सीले के सिक्लान्?

हिमाल प्रेस २४ कार्तिक २०८३ ११:२४ | Tuesday, November 10, 2026
पुटिन र ट्रम्पको असफलताबाट सीले के सिक्लान्?

सन् २०२२ फेब्रुअरीमा रुसले किएभ कब्जा गर्न नसकेको प्रसङ्ग उठाउँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइमा पश्चात्तापको भाव झल्किन्छ। गत महिना ह्वाइट हाउसमा यसबारे बोल्दै उनले भनेका थिए, ‘उनीहरूका एक हजार ट्यांक कङ्क्रिटले बनेको राजमार्गमा अघि बढिरहेका थिए… उनीहरूलाई रोक्ने कोही थिएन। युद्ध एकै दिनमा सकिन्थ्यो। तर एकदमै मूर्ख एक जना सेनापतिले… राजमार्गमै अघि बढिरहनुको सट्टा दायाँ मोडेर खेततिर जाने निर्णय गरे… अन्ततः उनका ट्यांक हिलोमा फसे।’

ट्रम्पले भन्ने धेरै कुराजस्तै किएभ कब्जा गर्न रुस असफल भएको उनको यो वर्णन पनि आधा सत्य र काल्पनिक कुराहरूको सङ्ग्रह हो। युक्रेनको राजधानीतर्फ अघि बढिरहेको रुसी सैन्य टुकडीका अग्रमोर्चाका सवारीसाधनमाथि सफल आक्रमण गरेर र पुलहरू भत्काएर रुसी सेनाको अग्रगति रोक्ने काम युक्रेनी सेनाले गरेको थियो। हिलोमा फसेका रुसी सैन्य सवारीसाधन पनि युक्रेनी सेनाको प्रत्याक्रमणका कारण पक्की सडक छाडेर खेततर्फ जान बाध्य भएका थिए।

असफल आक्रमणप्रति ट्रम्पले व्यक्त गरेको पश्चात्ताप अर्थपूर्ण छ। उनको भनाइमा यस असफलताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कुनै दोष दिइएको छैन। युक्रेनमाथिको पूर्णस्तरको आक्रमण असफल हुनुको सम्पूर्ण दोष एउटा मूर्ख अधीनस्थ अधिकारीमाथि थोपरेका छन्। सायद ट्रम्पलाई रुसी नेताप्रति सहानुभूति छ, किनभने उनले पनि पुटिनले जस्तै उल्लेखनीय गल्ती गरेका छन्।

सन् २०२२ फेब्रुअरीमा पुटिनले युक्रेन कब्जा गर्न गरेको असफल प्रयासको ठीक चार वर्षपछि अर्थात् सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे। त्यसको उद्देश्य इरानको शासनसत्ता छिटो परिवर्तन गर्नु थियो। तर छोटो अवधिमै विजय हासिल गर्ने ट्रम्पको कल्पना मृगतृष्णा साबित भयो। अहिले पुटिनजस्तै ट्रम्प पनि आफ्नै गलत आकलनका परिणाम भोग्न बाध्य छन्।

रुस र अमेरिकाका दुवै नेतालाई यो अवस्थासम्म पुर्‍याउने घटनाक्रममा पनि उल्लेखनीय समानता छन्। दुवै अवस्थामा यसअघिका सैन्य सफलताले उनीहरूमा खतरनाक आत्मविश्वास पैदा गरेको थियो।

सन् २०१४ मा क्रिमियालाई रुसमा गाभ्दा युक्रेन वा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेखनीय प्रतिरोध भएन। यसले किएभस्थित भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकार तासको घरजस्तै भएको र छिट्टै ढल्ने विश्वास पुटिनमा जगाएको हुन सक्छ। साथै यसपटक पनि बाह्य विश्वले आफूले एकपक्षीय रूपमा गरेको निर्णयलाई अन्ततः स्वीकार गर्ने उनको ठम्याइ हुन सक्छ।

ट्रम्पले चुनावी अभियानका क्रममा आफूलाई विदेशी युद्धको विरोधीका रूपमा प्रस्तुत गरेका थिए। तर सन् २०२५ जुनमा इरानका आणविक केन्द्रमा अमेरिकाले गरेको बमबारीको सफलता र त्यसपछि यसै वर्षको सुरुवातमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरेको घटनाले उनी उत्साहित भए। त्यसैले भेनेजुएलामा सैन्य कारबाही गरेको केही सातापछि इजरायली नेता बेन्जामिन नेतान्याहुले इरानमाथि फेरि आक्रमण गर्न आग्रह गर्दा ट्रम्प त्यसका लागि सहजै तयार भए। उनी आत्मविश्वासले मात्र होइन, अहङ्कारले समेत भरिएका थिए।

पुटिन र ट्रम्प दुवैले सत्ता केन्द्रीकृत गरेका छन् र आफूले चाहेको कुरा मात्र सुनाउने व्यक्तिहरूलाई वरिपरि राखेका छन्। उनीहरूले निर्माण गरेका शासन प्रणालीमा विनाशकारी गल्ती गर्न लागेका नेतालाई रोक्ने सामर्थ्य थिएन।

निश्चय पनि यी समानतालाई अतिरञ्जित गर्न सकिन्छ। पुटिन युक्रेनको लोकतान्त्रिक सरकार ढाल्न र छिमेकी मुलुकको ठूलो भूभाग कब्जा गर्न खोजिरहेका छन्। यसविपरीत इरानको शासन व्यवस्था क्रूर तानाशाही हो, जसले आफ्नै हजारौँ नागरिकलाई सडकमा हत्या गरेको छ। अमेरिका र इजरायलमध्ये कुनै पनि मुलुकले इरानी भूभाग कब्जा गर्ने प्रयास गरिरहेका छैनन्।

अमेरिका र रुसका राजनीतिक प्रणालीबीचका आन्तरिक भिन्नता पनि आधारभूत प्रकृतिका छन्। त्यसैले असफल युद्धका परिणाम दुवै मुलुकका लागि निकै भिन्न छन्।

इरान युद्ध र त्यसले निम्त्याएको महँगी गत साता भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको ठूलो पराजयको प्रमुख कारण बने। ट्रम्प प्रशासनले फेरि इरानमाथि आक्रमण सुरु गरेर युद्ध चर्काउन सक्ने सम्भावना अझै छ। तर इतिहासले देखाएको छ- अमेरिकी राजनीतिक प्रणालीले अन्ततः असफल हुँदै गएको युद्धबाट राष्ट्रपतिलाई पछि हट्न बाध्य पार्छ। भियतनाम, अफगानिस्तान, इराक र अहिले इरानको सन्दर्भमा पनि यही प्रवृत्ति देखिएको छ।

पुटिनको असफल युद्धले युक्रेनलाई भयावह र निरन्तर क्षति पुर्‍याइरहेको छ। यसले रुसलाई पनि दीर्घकालीन असर पार्नेछ। रुसको सशस्त्र सेनाले अहिलेसम्म १५ लाख सैनिक गुमाएको वा घाइते भएको बताइन्छ।

रुसी शासन प्रणालीमा पुटिनलाई उनले रोजेको बाटोबाट पछि हट्न बाध्य पार्न सक्ने लोकतान्त्रिक नियन्त्रण र सन्तुलनका उपाय छैनन्। रुसमा निर्वाचन धाँधलीपूर्ण हुन्छ। युद्धविरोधी दलहरूलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ। एलेक्सी नाभाल्नी र बोरिस नेम्त्सोभजस्ता वास्तविक विपक्षी नेताहरूको अन्त्य प्रायः मृत्युमा हुने गरेको छ। त्यसैले युद्ध जारी छ।

अहिले विश्व राजनीतिमा उठिरहेको एउटा महत्त्वपूर्ण प्रश्न हो- पुटिन र ट्रम्पको असफलताबाट चीनका राष्ट्रपति सी चिनफिङले केही सिक्लान्? सीले सन् २०२७ सम्म ताइवानमाथि आक्रमण गर्न तयार रहन आफ्ना सशस्त्र सेनालाई निर्देशन दिएको व्यापक विश्वास गरिन्छ।

सानो र कमजोर मुलुकलाई पराजित गर्न खोज्दा रुस र अमेरिकाले भोगेका कठिनाइ सीले पक्कै पनि देखेका छन्। के यसले उनलाई ताइवानको नाकाबन्दी गर्ने वा आक्रमण गर्ने निर्णयको औचित्यबारे पुनर्विचार गर्न बाध्य पार्ला? अथवा आफ्नो परिस्थिति भिन्न रहेको र ताइवानी जनतासँग चिनियाँ सैन्य शक्तिको प्रतिरोध गर्ने न इच्छाशक्ति छ, न त सामर्थ्य नै भन्ने निष्कर्षमा उनी पुग्लान्?

अहिलेसम्म चीनका राष्ट्रपतिले रुसी र अमेरिकी नेताहरूको तुलनामा बढी संयम र रणनीतिक दूरदृष्टि प्रदर्शन गरेका छन्। तर पुटिन र ट्रम्पजस्तै सी पनि ‘शक्तिशाली शासक’ हुन्। उनी असहमतिका स्वरलाई प्रोत्साहन गर्दैनन् र इतिहासका पानामा आफ्नो नाम विशेष रूपमा लेखियोस् भन्ने चाहन्छन्। ताइवानको मामिलामा पनि युक्रेन र इरानमा जस्तै युद्ध सुरु गर्ने कि नगर्ने भन्ने निर्णय त्रुटिपूर्ण हुन सक्ने एकजना व्यक्तिको विवेकमा निर्भर रहन सक्ने असहज यथार्थ हो।

प्रकाशित: २४ कार्तिक २०८३ ११:२४ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast