ट्रम्पको चेतावनी- आणविक सम्झौता नभए इरानमा पुन: आक्रमण

हिमाल प्रेस २४ कार्तिक २०८३ ११:१३ | Tuesday, November 10, 2026
ट्रम्पको चेतावनी- आणविक सम्झौता नभए इरानमा पुन: आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्काल आक्रमणको आवश्यकता नरहेको बताएका छन्। तर इरानले आणविक कार्यक्रमबारे अमेरिकी चासो सम्बोधन नगरे सैन्य कारबाहीका लागि तयार रहेको उनले बताए।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व कमजोर बनाइएको दाबी गरे।

युद्धको दीर्घकालीन समाधान खोजिरहेको उल्लेख गर्दै उनले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत क्षेत्रीय सहयोगी राष्ट्र पनि युद्धको वर्तमान अवस्था कायम राख्न इच्छुक रहेको बताए।

आठ महिनादेखि जारी युद्ध, इन्धनको मूल्यवृद्धि र विश्व अर्थतन्त्रमा परेको प्रभावप्रति अमेरिकी मतदाताको असन्तुष्टि बढिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।

मध्यावधि निर्वाचनमा उनको रिपब्लिकन पार्टीले कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटिक पार्टीसँग पराजय व्यहोरेको थियो। ट्रम्पले इरानसँग वार्ता भइरहेको र सकारात्मक संकेत प्राप्त भएको दाबी गर्दै युद्ध अन्त्य हुने सम्भावना राम्रो रहेको बताए।

तर आवश्यक परे अमेरिकी सेना जुनसुकै बेला कारबाही गर्न तयार रहेको उनको भनाइ थियो। इरानी तेलको आपूर्ति रोक्न लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उनले प्रस्ट पारे।

यसैबीच, कतारका अधिकारीहरूले गत साता इरानको आणविक कार्यक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको यस विषयमा जानकार दुई मध्यपूर्वी सरकारी अधिकारीले बताएका छन्।

इरानले भने वार्ताअघि बन्दरगाहमाथिको नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, युद्धको क्षतिपूर्ति दिनुपर्ने तथा क्षेत्रीय शत्रुता अन्त्य गर्नुपर्ने सर्त राख्दै आएको छ।

अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले युद्धसम्बन्धी आगामी निर्णय राष्ट्रपतिमा निर्भर रहेको बताए। युद्ध सुरु गर्न कंग्रेसको अनुमति नलिएको भन्दै उनीमाथि आलोचना भइरहेको छ। केन्टकीका रिपब्लिकन सांसद थोमस मेसीले सोमबार उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन मतदानको माग गरेका थिए।

ट्रम्पले इरानसँग बलियो सम्झौताको प्रगति भए पुनः आक्रमणको सम्भावना कम रहेको बताएका छन्। तर सैन्य कारबाही पुनः सुरु भए इरानका ३८ वटा पुलसहितका पूर्वाधारलाई निशाना बनाउने चेतावनी उनले दिएका थिए।

युद्ध अन्त्यको संकेत गरे पनि अमेरिकाले इरानमा सीमित आक्रमण जारी राखेको छ। गत साता इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी कम्तीमा दुईपटक आक्रमण गरिएको थियो।

अमेरिकी नौसैनिक नाकाबन्दी तोड्न खोजेको आरोपमा शनिबार एउटा व्यापारिक जहाजमाथि गोली प्रहार गरी निष्क्रिय पारिएको अमेरिकी सेनाले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०८३ ११:१३ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast