अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरान

हिमाल प्रेस १८ कार्तिक २०८३ २१:३० | Wednesday, November 4, 2026
अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरान

काठमाडौँ – इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन आउने अपेक्षा गर्नु भ्रमपूर्ण रहेको बताएका छन्।

अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दललाई धक्का लागेको केही घण्टापछि बुधबार उनले यस्तो टिप्पणी गरेका हुन्।

आफ्नो वेबसाइटमा प्रकाशित लिखित सन्देशमा खामेनीले अमेरिकी राजनीतिक दल वा नेतृत्वमा परिवर्तन हुँदैमा इरानप्रतिको अमेरिकी नीति बदलिन्छ भन्ने सोच गलत भएको बताएका छन्।

‘दलीय वा गुटगत परिवर्तनमार्फत प्रभुत्ववादी प्रणालीको व्यवहार बदलिन्छ वा अमेरिकालाई सहुलियत दिँदा उसले इरानी राष्ट्रप्रतिको शत्रुता त्याग्छ भन्ने अझै आशा गर्नेहरू गम्भीर भ्रममा छन्,’ उनले भने।

मंगलबार सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले अमेरिकी कांग्रेसमा नियन्त्रण कायम गरेका छन्।

निर्वाचन परिणामले जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानविरुद्ध अमेरिकाले सञ्चालन गरेको युद्धप्रति अमेरिकी जनताको असन्तुष्टि प्रतिबिम्बित गरेको छ। युद्धका कारण इन्धनको मूल्यसमेत निकै बढेको छ।

गत फेब्रुअरी २८ मा सुरु भएको युद्ध पुनः चर्किन नदिन कूटनीतिक प्रयास भइरहेका बेला खामेनीको यस्तो टिप्पणी आएको हो।

पछिल्ला दिनहरूमा अमेरिका र इजरायलका नेताहरूले इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएका छन्।

‘यस्ता आक्रमण दोहोरिएमा युद्धको दायरा अझ विस्तार हुनेछ,’ खामेनीले चेतावनी दिए।

गत मार्चमा सर्वोच्च नेता नियुक्त भएयता ५७ वर्षीय खामेनी सार्वजनिक रूपमा देखा परेका छैनन्। उनले अहिलेसम्म लिखित सन्देशमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्।

यसअघि अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर घालीबाफले अमेरिकी जनताले मध्यावधि निर्वाचनमार्फत युद्धको विपक्षमा मत व्यक्त गरेको बताएका थिए।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘विवेकका कारण होस् वा जीवनयापनको बढ्दो खर्चका कारण, अमेरिकीहरूले युद्धलाई अस्वीकार गरेका छन्। हामी उनीहरूको यस सन्देशको समर्थन गछौँ।’

घालीबाफले अमेरिकी सरकारले आफ्नै जनताको इच्छाविपरीत काम गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।

यसैगरी, इरानका न्यायपालिका प्रमुख गुलामहोसेन मोहसेनी एजेईले पनि अमेरिकी मध्यावधि निर्वाचनको परिणामको स्वागत गरेका छन्। उनले ट्रम्प सैन्य र राजनीतिक दुवै क्षेत्रमा पराजित भएको टिप्पणी गर्दै उनलाई थप पराजित गराउने बताएका छन्।

युद्धको सुरुवातमा अमेरिका र इजरायलले गरेको आक्रमणमा आफ्ना पिता तथा तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि मोजताबा खामेनीलाई इरानको सर्वोच्च नेता नियुक्त गरिएको थियो।

प्रकाशित: १८ कार्तिक २०८३ २१:३० | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast