डोनाल्ड ट्रम्प। फाइल तस्बिर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले फेरि ‘एपिक फ्युरी’ जस्तै सैन्य अभियान सञ्चालन गर्न सक्ने बताएका छन्। यद्यपि उनले अमेरिका र इरानबीच सम्झौता पनि हुन सक्ने बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
फ्लोरिडामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी फेरि अर्को छोटो ‘एपिक फ्युरी’ जस्तो अभियान चलाउन सक्छौँ वा उनीहरूले सम्झौता गर्न सक्छन्।’
इरानले समझदारी देखाउने हो भने गम्भीर वार्ता सुरु गर्न प्रस्ताव गर्नुपर्ने ट्रम्पले बताए। इरानले त्यसो गर्नेमा आफूलाई शङ्का रहेको पनि उनले उल्लेख गरे।
अमेरिकी राष्ट्रपतिले इरानको अर्थतन्त्र अहिले विश्वकै खराब अर्थतन्त्रमध्ये एक रहेको दाबी गरे। अमेरिकाले इरानलाई ठूलो क्षति पुर्याएको उनको भनाइ थियो।
यसअघि शुक्रबार नै ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध चाँडै अन्त्य गर्न सक्ने बताएका थिए। उनले युद्ध तत्काल अन्त्य गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ वा द्वन्द्वलाई क्रमशः शान्त हुन दिनुपर्छ भन्ने प्रश्नसमेत उठाएका थिए।



