बाढीले खोस्यो बालबालिकाको दसैँ

रमेश दवाडी ४ कार्तिक २०८३ १४:२३ | Wednesday, October 21, 2026
10
SHARES
बाढीले खोस्यो बालबालिकाको दसैँ

काठमाडौँ- दसैँमा गाउँघरमा लिंगे पिङ हालिन्छन्, घरघरमा मीठोमसिनो पाक्छ र बालबालिका नयाँ लुगा लगाएर रमाउँछन्। तर धादिङको गल्छीस्थित बागेश्वरी माध्यमिक विद्यालयका साना बालबालिकालाई यसपालि दसैँको उमंगले छुन सकेको छैन। गत भदौ १० गतेको बाढीले उनीहरूको विद्यालय र खेल्ने संसार उजाडिदियो। अहिले उनीहरू आफ्नै कक्षाकोठा र बाढीले बगाएका खेलौनाहरू सम्झेर झस्किन्छन्। ठूलो आवाज आउँदा तर्सिन्छन् र डेस्कबेन्च हल्लिँदासमेत ‘बाढी आयो कि?’ भनेर डराउँछन्। अरू बालबालिका दसैँको खुसीमा रमाइरहँदा उनीहरू भने गुमेको बाल्यकालको खुसी फर्किने प्रतीक्षामा छन्।

कतिपयमा खुसीको सट्टा पीडा छन्। कतिपयको बासस्थान बाढीले बगाएको छ। कोही त्रिपालमुनि छन्, कोही आफन्तको घरमा आश्रय लिएर बसेका छन्। घरबार गुमाएका परिवारलाई चाडपर्व कसरी मनाउने भन्नेभन्दा पनि ओत लाग्ने सुरक्षित ठाउँ कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ।

विद्यालयकी बालविकास सहजकर्ता माया न्यौपाने ढकालका लागि यस वर्षको दसैँ यही पीडा, चिन्तामा छ। गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले विद्यालयको भौतिक संरचनामा क्षति पुर्‍यायो। विद्यालयमा मानवीय क्षति भएन तर बालबालिकाको नियमित सिकाइ, खेल्ने वातावरण र उनीहरूको मनोविज्ञानमा परेको असर सामान्य छैन।

विद्यालयको बालकक्षामा पहिले जस्तो चहलपहल छैन। बालबालिकाले खेल्ने शैक्षिक सामग्री छैनन्। उनीहरूका हातले छोइरहने, आँखाले खोजिरहने र मनले सम्झिरहने सामग्री बाढीसँगै बगेका छन्। पुरिएका छन्। पहिले आफ्नै कक्षाकोठामा रमाउने बालबालिका अहिले अर्कै ठाउँमा राखेर पढाउनुपर्दा विद्यालय आएको अनुभूतिसमेत गर्न नसकिरहेका बताउँछिन् शिक्षक माया न्यौपाने।

बाढीपछि विद्यालयको कक्षाकोठा फेरिएको छ। पढ्ने ठाउँ फेरिएको छ। बालबालिकाको दैनिकी फेरिएको छ। तर उनीहरूको मनबाट बाढीको त्रास हटिसकेको छैन। दसैँको रमाइलो वातावरण हुनुपर्ने बेला उनीहरू अझै सुरक्षित महसुस गर्न सकिरहेका छैनन्।

‘हाम्रो यो स्कुल होइन, हामी आफ्नै स्कुलमा जाने’

शिक्षक मायाका अनुसार शैक्षिक सत्र सुरु भएपछि बालबालिकालाई बिस्तारै विद्यालयको वातावरणमा घुलमिल गराउँदै लगिएको थियो। नयाँ कक्षामा बस्ने, साथीहरूसँग खेल्ने, नयाँ कुरा सिक्ने र विद्यालयसँग आत्मीयता बढाउने क्रम चलिरहेको थियो। तर, बाढीले त्यो लय भत्काइदियो।

‘वैशाखबाट नयाँ क्लास सुरु भएको थियो। बच्चाहरूलाई अलिअलि बानी पार्दै, अलिअलि सिकाउन थालिएको थियो। रमाउने वातावरण बनिरहेको थियो। तर भदौ १० गतेको बाढीपछि पहिलाको जस्तो वातावरण कक्षामा छैन। कक्षै छैन भन्नुपर्‍यो,’ उनले हिमालप्रेससँग भनिन्।

बाढीले क्षति पुर्‍याएपछि पुरानो भवनमा तत्काल पढाइ सञ्चालन गर्न सम्भव भएन। विद्यालयले निर्माणाधीन अर्को भवनमा विद्यार्थीलाई राखेर पढाउन थाल्यो। गाडीमा करिब पाँच मिनेट तल झरेर पुगिने उक्त भवनमा एउटा कोठामा बालबालिकालाई राखेर उनीहरूलाई भुलाउने र सिकाइसँग जोडिराख्ने प्रयास भइरहेको छ।

साना बालबालिकाका लागि विद्यालय पढ्ने मात्र भन्दा पनि आफ्नै खेल्ने ठाउँ हो। आफ्नै सामान भएको संसार हो र आफूले चिनेको वातावरण हो। त्यही वातावरण अचानक हराउँदा उनीहरूलाई नयाँ ठाउँमा सहज हुन कठिन भएको छ।

‘अहिले हामीले पढाइरहेको ठाउँमा बच्चाहरूलाई लगेर एउटा कोठामा राखेर भुलाउने गरेका छौँ। पहिलाको कक्षाको अनुपातमा अहिलेको कक्षा कोठा नै होइन जस्तो लाग्छ। बच्चाहरूले नै ‘हाम्रो यो स्कुल होइन, हामी अर्कै, आफ्नै स्कुलमा जाने’ भन्दै छन्,’ मायाले अवस्था सुनाइन्।

बालबालिकाका लागि विद्यालयको कुन कुनामा खेल्ने, कहाँ बसेर चित्र बनाउने, कुन सामग्री समात्ने र साथीहरूसँग कसरी रमाउने भन्नेले विद्यालयको आत्मीयता बसेको हुन्छ। त्यो संसार बाढीले बिथोलिदिएपछि उनीहरूलाई नयाँ ठाउँमा सहज हुन समय लाग्नु स्वाभाविक हो।

बाढीले प्रभावित विद्यालयको कक्षाकोठा मर्मत गर्ने, सरसफाइ गर्ने र रङरोगन गर्ने काम भइरहेको छ। शौचालय र पानीको व्यवस्था अझै सहज भइसकेको छैन। शौचालयमा बालुवा भरिएकाले प्रयोग गर्न मिल्ने अवस्थामा ल्याउन समस्या भएको छ। कक्षाकोठा र विद्यालयको वातावरण पहिले जस्तै बनाउन अझै व्यवस्थापन गर्नुपर्नेछ। माया भन्छिन्,‘पहिले पढिराखेको विद्यालयमा आएर त्यही कोठामा सबै कुरा मिलाएर राखेपछि बल्ल बच्चाहरू पहिलाको ठाउँमा आउलान्।’

मिहिनेतले बनाएका सामग्री सम्झँदा स्तब्ध

शिक्षक मायाका लागि बालकक्षा उनको सिर्जनशीलता, मिहिनेत र बालबालिकासँगको आत्मीयताको संसार हो। उनले आफ्नै हातले विभिन्न शैक्षिक सामग्री बनाएकी थिइन्। बालबालिकाले हेरेर सिक्ने, छोएर बुझ्ने र खेल्दै ज्ञान हासिल गर्ने सामग्रीले कक्षाकोठालाई जीवन्त बनाएको थियो।

जौ, गहुँ, मकै र धानका सहायताले उनले विभिन्न जनावरका आकृति बनाएकी थिइन्। साना बालबालिकालाई आकर्षित गर्ने सामग्री तयार गर्न उनले समय र श्रम खर्चिएकी थिइन्। ती सामग्री बालबालिकाका लागि सिकाइका साथी थिए।

बाढीले ती सबै सामग्री बगायो। अहिले नयाँ सामग्री बनाउने वा अन्यत्रबाट सहयोग प्राप्त गर्ने प्रयास भइरहे पनि पुरानो कक्षाकोठाको सम्झना मेटिएको छैन।

‘कति मिस गरेकी छु, कति मिस! बच्चाहरूले त झन् कति सम्झिएका छन्,’ उनले भावुक स्वरमा भनिन्‘मैले बच्चालाई भुलाउन त्यस्तै सामान अलिअलि बनाएर खेलाउन खोज्दा पनि ‘हाम्रो यो पहिलाको जस्तो त भएन’ भन्छन्।’

उनले आफ्नै हातले बनाएका सामग्रीप्रति बालबालिकाको मोह कति गहिरो रहेछ भन्ने कुरा अहिले झन् महसुस गरिरहेकी छन्। बाढीले बगाएका सामग्री कहाँ पुगे होलान् भन्ने जिज्ञासा साना बालबालिकाले अहिले पनि व्यक्त गर्छन्।

‘मैले जौको, गहुँको, मकैको, धानको सबै जनावर बनाएकी थिएँ। अहिले ती सामग्री बनाउन खोज्दा पनि बच्चाहरूले ‘हाम्रो त्यो बगाएर कहाँ पुर्‍यायो होला है? गमले टाँसेको उक्कियो कि उक्किएन होला है?’ भनेर सोध्छन्,’ मायाले भनिन्।

४/५ वर्षका बालबालिकाले आफ्नो कक्षाकोठा र त्यहाँका सामग्रीलाई यसरी सम्झिरहँदा उनी भावुक हुन्छिन्। विभिन्न संघसंस्थाका प्रतिनिधि सहयोगका लागि विद्यालय पुग्दा बालबालिकाले आफ्ना प्रिय सामग्री फेरि ल्याइदिन आग्रह गर्ने गरेका छन्।

‘‘हाम्रो पहिलाको जस्तै खरायो ल्याइदिनु है,पहिलाको जस्तै मकैको घोडा ल्याइदिनु है, हात्ती ल्याइदिनु है’ भन्छन्। त्यो सुन्दा दुःख लाग्छ। उनीहरूले आफ्नै कक्षाकोठा सम्झिरहेका छन्, खेल्ने सामान सम्झिरहेका छन्,’उनले भनिन्।

कतिपय सामग्री बालबालिकाले आफैँले बनाएका थिए। आफ्नो हातले बनाएको वस्तु कक्षाकोठामा राख्न पाउनु, त्यसलाई साथीलाई देखाउनु र त्यससँग खेल्दै सिक्नु उनीहरूका लागि ठूलो खुसी थियो। अहिले त्यही सामग्रीको अभावले उनीहरूलाई पुरानो वातावरणको झल्को दिइरहेको छ।

‘मेरो आफ्नै हातले बनाएका शैक्षिक सामग्री थिए। बच्चाहरूसँगै बसेर बनाएकी थिएँ। त्यसैले ती सामग्रीप्रति धेरै माया लाग्छ। बच्चाहरूले सम्झिँदा मलाई झन् दुःख लाग्छ,’उनले भनिन्।

चित्रमा बाढी, मनमा पनि बाढी

बाढीपछि बालबालिकाको मनोवैज्ञानिक अवस्था बुझ्न मायाले उनीहरूलाई चित्र बनाउन दिइन्। बालबालिकाले बनाएका चित्रले उनीहरूको मनमा बाढीको घटना कति गहिरो गरी बसेको छ भन्ने देखायो।

एक दिन कक्षामा आएका १३ जना बालबालिकालाई उनले चित्र बनाउन लगाइन्। बालबालिकाले के चित्र बनाउँछन्, उनीहरूको मनमा के चलिरहेको छ भन्ने बुझ्ने उनको उद्देश्य थियो। तर चित्र हेर्दा उनी आफैँ चिन्तित भइन्।

‘१३ जना बच्चालाई चित्र बनाउन दिएकी थिएँ। त्यसमध्ये ९ जना बच्चाले बाढीको चित्र बनाएछन्। पानीले घरहरू पल्टिएको जस्तो, रुखहरू भाँचिएको जस्तो चित्र बनाएका थिए,’ उनले भनिन्।

बालबालिकाले बनाएका चित्रमा घर ढलेका थिए, रुख भाँचिएका थिए र पानीको प्रकोप देखिएको थियो। उनीहरूलाई चित्रमा त्यस्तो दृश्य किन बनाएको भनेर सोध्दा उनीहरूको जवाफ थियो,‘बाढी आउँदा यस्तै भएको थियो, म्याम।’

बाढीको त्रास चित्रमा सीमित छैन। विद्यालयमा कुनै वस्तु हल्लिँदा, डेस्कबेन्च घ्यारघुर गर्दा वा ढोका ठूलो आवाजले खुल्दा पनि उनीहरू झस्किन्छन्। मायाले भनिन्,‘केही डेस्कबेन्च हल्लियो, घ्यारघुर आवाज आयो भने पनि ‘बाढी आयो कि के हो?’ भन्छन्। सानो आवाज आउँदा पनि ‘बाढी आयो’ भन्छन्।’

सामान्य अवस्थामा बालबालिकाले खेल्दा, हल्ला गर्दा वा साथीहरूसँग रमाउँदा ध्यान नदिने आवाज अहिले उनीहरूका लागि डरको कारण बनेको छ। ‘बाहिर कोही कराएको आवाज सुन्दा पनि मलाई नै ‘ए भागो–भागो’ भनेको जस्तो लाग्छ। मलाई पनि कहिलेकाहीँ बाढी आयो कि, भाग्नुपर्छ कि जस्तो लाग्छ,’ मायाले आफ्नो पनि अनुभव सुनाइन्।

बाढीको घटनाले शिक्षकालाई समेत मानसिक रूपमा प्रभावित पारेको छ। बालबालिकालाई सुरक्षित राख्ने जिम्मेवारी, उनीहरूको डर कम गर्ने प्रयास र आफैँले भोगेको घटनाको सम्झनाबीच उनले दैनिक कक्षा सञ्चालन गरिरहेकी छन्।

बाढीपछि बालबालिकालाई पहिलेजस्तै पढाइमा केन्द्रित गराउन सजिलो छैन। त्यसैले उनी कक्षामा गीत गाउने, नाच्ने, मादल बजाउने र नयाँनयाँ खेल खेलाउने गर्छिन्। बालबालिकाको ध्यान बाढीको सम्झनाबाट अन्यत्र लैजान उनी विभिन्न गतिविधि गराउँछिन्। उनीहरूसँग कुराकानी गर्छिन् र बाढीको पानी बगेर गइसकेको भन्दै सम्झाउने प्रयास गर्छिन्। ‘बच्चाहरूलाई भुलाउन नचाउने, मादल बजाउने, गीत गाउने र नयाँनयाँ खेल खेलाउने गरिरहेकी छु,’ उनले भनिन्।

विद्यालयका प्रधानाध्यापक र अन्य शिक्षकले पनि अहिले बालबालिकालाई रमाइलो वातावरण दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूको बुझाइमा बालबालिकालाई तत्कालै पढाइको दबाब दिनुभन्दा पहिले उनीहरूको डर कम गर्नुपर्छ।‘प्रधानाध्यापक ज्ञानु थापा मगरले पनि अब बच्चाहरूलाई भुलाउनुपर्छ, पढाउने–सिकाउनेभन्दा पनि उनीहरूलाई रमाइलो गराउनुपर्छ भन्नुहुन्छ। विभिन्न क्रियाकलाप गराएर, खेलाएर, मनोरञ्जन दिएर उनीहरूको दिमागबाट डर–त्रास हटाउनुपर्छ भन्ने छ,’ मायाले भनिन्।

बाढीपछि बालबालिकाको व्यवहारमा केही परिवर्तन देखिए पनि त्रास पूर्ण रूपमा हटेको छैन। पहिले सहज रूपमा बाहिर निस्केर खेल्ने बालबालिका अहिले कक्षाभित्रै बस्न रुचाउँछन्। टिफिनका बेला खाजा खान गए पनि फेरि दौडेर कक्षामा फर्कन्छन्। ढोका बन्द गरेर भित्रै खेल्ने र बस्ने गर्छन्।

शौचालय गए पनि दौडिँदै फर्कने, कक्षामा पस्नेबित्तिकै ढोका लगाउने र भित्रै बस्ने बानी अझै देखिन्छ। पहिले स्वतन्त्र रूपमा खेल्ने, साथीहरूसँग घुलमिल हुने र बाहिर रमाउने बालबालिका अहिले सुरक्षित ठाउँ खोजिरहेका छन्।

‘पहिले बाहिर गएर खेल्ने बच्चाहरू अहिले बाहिर निस्कन डराउँछन्। म वरिपरि झुम्मिने, मलाई नछाड्ने गर्छन्। अभिभावकलाई जिम्मा लगाएपछि मात्रै म छोडिदिन्छु। उनीहरूमा त्रास अझै हटेको छैन,’ मायाले भनिन्।

बालबालिकाको यस्तो व्यवहारलाई सामान्य ठानेर बेवास्ता गर्न नमिल्ने उनको अनुभव छ। उनीहरूलाई सुरक्षित वातावरण, धैर्यपूर्ण व्यवहार र निरन्तर साथ आवश्यक छ। मायाले यही जिम्मेवारीलाई ध्यानमा राखेर आफ्नो कक्षालाई सम्भव भएसम्म सहज बनाउने प्रयास गरिरहेकी छन्।

बाढी फर्केर आउँछ भन्ने डर

बालबालिकासँग कुराकानी गर्दा उनीहरूले बाढीको घटनालाई कसरी बुझिरहेका छन् भन्ने कुरा पनि मायाले महसुस गरेकी छन्। उनीहरूका लागि खोला र बाढी अब पानी बग्ने प्राकृतिक प्रक्रिया मात्र रहेनन्। बाढीले विद्यालयसम्म आएर आफूलाई भाग्न बाध्य बनाएको अनुभव उनीहरूको मनमा बसेको छ।

मायाले बालबालिकालाई बाढीको पानी बगेर गइसकेको र फेरि नआउने भन्दै सम्झाउने गरेकी छन्। तर उनीहरूका मनमा अनेकौँ प्रश्न छन्।
‘हामीले बच्चाहरूलाई ‘अब बाढी आउँदैन, गयो, पानी बगेर तल गइसक्यो’ भनेर सम्झाएका छौँ,’उनले भनिन्,‘तर बच्चाहरू भन्छन्, ‘खोला फर्किँदैन भन्थे नि बुढाबुढाले। अहिले हाम्रो बाढी फर्केर आयो। तल गएको बाढी फर्केर रोडै आएर हाम्रो स्कुलमा बसेको कारणले खोला फर्किँदो रहेछ नि त!’

विद्यालयमा अन्य कक्षाका विद्यार्थीका लागि विभिन्न संघसंस्थाले मनोसामाजिक सहयोग र परामर्शका गतिविधि सञ्चालन गरिरहेको भए पनि बालविकास कक्षाका बालबालिकाका लागि त्यस्तो सहयोग पर्याप्त नभएको उनको भनाइ छ। त्यसैले उनी आफ्नै स्तरबाट बालबालिकालाई कथा, खेल र कुराकानीमार्फत सहज बनाउने प्रयास गरिरहेकी छन्।

बाढीपछि बागेश्वरी माध्यमिक विद्यालयको बालकक्षामा विद्यार्थीको उपस्थिति पनि घटेको छ। मायाको कक्षामा नियमित रूपमा १८ जना बालबालिका थिए। तर अहिले सबैजना विद्यालय आउँदैनन्।

अहिले पढाइ भइरहेको स्थान त्रिशूली नदीको किनारनजिक छ। नदीको नजिक रहेको र फेरि बाढी आउन सक्ने डरका कारण अभिभावकले साना बालबालिकालाई विद्यालय पठाउन हिचकिचाइरहेका छन्। उनीहरू पुरानै, सुरक्षित ठानेको स्थानमा विद्यालय सरेपछि मात्रै आफ्ना छोराछोरी पठाउने पक्षमा छन्।

‘मेरो १८ जना बच्चामा जम्मा १३ जना, १४ जना मात्रै भइरहेका छन्। सबै बच्चा आएका छैनन्। अभिभावकले ‘माथिल्लो पहिलाकै ठाउँमा सरेपछि मात्रै पठाउँछौँ’ भन्नुभएको छ,’ मायाले भनिन्।

विद्यालयको पुरानो भवन (बाढीले प्रभावित गरेको) मा रङरोगन भइरहेको छ। फर्निचर र शैक्षिक सामग्री सहयोगस्वरूप आउन थालेका छन्। विद्यालयलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास जारी छ। ‘विद्यालयको अवस्था हेर्दा अब यो वर्ष व्यवस्थापन गर्नमै लाग्छ। बच्चाहरूको पढाइमा पनि धेरै असर परेको छ। पहिलाकै अवस्थामा फर्किन बच्चाहरूलाई यो वर्ष लाग्छ होला। राम्रोसँग शैक्षिक सत्र सुरु गरेर पहिलेकै अवस्थामा लैजान २०८४ नै पर्खिनुपर्छ होला,’उनले भनिन्।

राहत आयो, घर फर्किने दिन आएन

बाढी प्रभावित परिवारलाई विभिन्न संघसंस्थाले राहत वितरण गरिरहेका छन्। लत्ताकपडा र खाद्यान्न सहयोगका रूपमा उपलब्ध भइरहेका छन्। विद्यालयका बालबालिकाले पनि सहयोगस्वरूप कपडा पाएका छन्। तर राहतले तत्कालको आवश्यकता केही हदसम्म पूरा गरे पनि घरबार गुमाएका परिवारको समस्या समाधान भएको छैन।

मायाका अनुसार विद्यालयका कतिपय बालबालिका अहिले आफन्तको घरमा बसेका छन्। कतिपय त्रिपालमुनि आश्रय लिएर बसिरहेका छन्। उनीहरूका अभिभावकलाई घर बनाउने, सुरक्षित बसोबासको व्यवस्था गर्ने र दैनिक जीवन पुनः सञ्चालन गर्ने चुनौती छ।

‘संघसंस्थाहरू आएर लत्ताकपडा बाँड्नुभएको छ, खाद्यान्न पनि बाँड्नुभएको छ। तर घरै बनाउन सक्ने अवस्था छैन। बसेर पनि कहाँ बस्ने, कहाँ दसैँ मान्ने भन्ने अवस्था छ,’उनले भनिन्।

घर नहुँदा दसैँको तयारी गर्ने आधार नै हराएको छ। घरमा रङरोगन गर्ने, नयाँ लुगा किन्ने, परिकार बनाउने र आफन्तलाई बोलाउने कुरा अहिले उनीहरूका लागि टाढाको विषय बनेको छ। उनीहरूलाई पहिले सुरक्षित बासस्थान चाहिएको छ।

बालबालिकाले राहतस्वरूप पाएका कपडा लगाएरै चाडपर्व मनाउनुपर्ने अवस्था छ। मायाले उनीहरूलाई यही अवस्थालाई स्वीकार गर्दै अहिले उपलब्ध वस्तुबाट खुसी खोज्न सम्झाइरहेकी छन्।

‘हामीले साना बच्चाहरूलाई अहिले राहतमा आएका कपडा लगाउने, तिमीहरूले रमाइलो गर्ने, अर्को वर्ष नयाँ कपडा किन्ने, नयाँ घर बनाउने अनि बस्ने भनेर सम्झाइरहेका छौँ,’ उनले भनिन्।

तीज आयो गयो, दसैँ पनि खल्लै

चाडपर्वले सामान्य अवस्थामा मानिसलाई दुःख बिर्सन र खुसी साट्न सहयोग गर्छ। तर विपद्बाट प्रभावित परिवारका लागि चाडपर्वले कहिलेकाहीँ गुमाएका कुरा झन् सम्झाइदिन्छ। घर नहुँदा घरको सम्झना आउँछ, आफन्तसँगको भेटघाट नहुँदा विछोडको पीडा बल्झिन्छ र बालबालिकाको खुसी फर्काउन नसक्दा अभिभावकलाई थप चिन्ता हुन्छ।

बागेश्वरी माध्यमिक विद्यालयमा पनि यस वर्ष तीजको रौनक देखिएन। तीज आएर गयो तर विद्यार्थी र शिक्षकमा पहिलेजस्तो खुसी छाउन सकेन। यो दसैँमा पनि विद्यालयमा चाडपर्वको उमंग छैन।

‘तीज आयो गयो, तर हाम्रो स्कुलमा र विद्यार्थीमा खुसी छाएन। अहिले आउँदै गरेको दसैँमा पनि हाम्रा बच्चाहरू र शिक्षकमा त्यस्तो रमाइलो छैन,’ मायाले भनिन्।

विद्यालयका शिक्षक पनि आफ्नै समस्या र जिम्मेवारीसँग जुधिरहेका छन्। कतिपय शिक्षकको घरसमेत बाढीले बगाएको छ। उनीहरू आफ्नै घरपरिवार र भविष्यको चिन्तामा छन्। यस्तो अवस्थामा चाडपर्वको रमाइलोबारे कुरा गरेर बस्ने फुर्सदसमेत नभएको मायाको भनाइ छ।

विद्यालयमा नयाँ ठाउँमा पढाइ सञ्चालन गर्नुपर्ने भएकाले शिक्षकको जिम्मेवारी थपिएको छ। बालबालिकालाई निगरानीमा राख्नुपर्ने, बाहिर खेल्न जाँदा ध्यान दिनुपर्ने र नदीतिर जान नदिन सतर्क रहनुपर्ने अवस्था छ। टिफिनको समयमा समेत शिक्षकहरूले पालैपालो गेट र बाहिरी क्षेत्रमा बसेर बालबालिकाको हेरचाह गर्छन्। ‘हामीलाई दसैँ आएको जस्तो लागेकै छैन। पहिला हाम्रो स्कुलमा पोहोरपरार जस्तो माहोल हुन्थ्यो, अहिले त्यस्तो केही पनि छैन,’ उनले भनिन्।

माया न्यौपाने ढकालले शिक्षण पेसामा प्रवेश गरेको १८ वर्ष हुन लागेको छ। यस अवधिमा विभिन्न उमेरका बालबालिकालाई सिकाउने, उनीहरूका आवश्यकता बुझ्ने र कक्षाकोठालाई रमाइलो बनाउने अनुभव उनीसँग छ।

तर बाढीको दिन उनले भोगेको अनुभव अरू दिनभन्दा फरक थियो। बाढी आएको दिनको सम्झना गर्दा उनी अहिले पनि भावुक हुन्छिन्। उनले आफूलाई भन्दा पहिले बालबालिकालाई सुरक्षित स्थानमा पुर्‍याउनुपर्ने अवस्था आएको थियो। उनीसँग रहेका बालबालिकालाई लिएर उकालो लाग्दा कसरी पुगिन् भन्ने कुरा अहिले पनि सम्झन सक्दिनन्।

‘मसँग त्यो दिन १३-१४ जना बच्चा थिए। मैले ती बच्चाहरूलाई सबै लिएर उकालो गएँ। म कसरी पुगेँ, कसरी उकालेँ, बच्चाहरू रुँदा मैले के गरेँ भन्ने अहिले पनि सोचिरहन्छु,’ उनले भनिन्।

त्यो क्षणमा आफ्नै परिवारको सम्झना गर्ने समयसमेत आफूले नपाएको उनी बताउँछिन्। बालबालिकालाई सुरक्षित स्थानमा पुर्‍याउनु नै उनको पहिलो जिम्मेवारी बनेको थियो।

‘म आफैँ काँपिरहेकी थिएँ। आफ्नो परिवार सम्झिनँ कि मैले त्यो बच्चा जोगाएँ। मैले त बच्चाहरूलाई जोगाएँ। तर रसुवा, नुवाकोटका साथीहरूले भाग्नसमेत भ्याउनुभएन होला। कति बच्चा गुमे होलान्, त्यसको त थाहै छैन,’ उनले पीडासहित भनिन्।

आफू सुरक्षित रहेको र अरूले भोगेको क्षतिको पीडा एकैपटक महसुस गर्दा मन सम्हाल्न गाह्रो हुने उनको अनुभव छ। विपद्को प्रत्यक्ष असर भोगेका मानिसको पीडा बाहिरबाट हेरेर पूर्ण रूपमा बुझ्न नसकिने उनले बताइन्। ‘त्यो पर्नेलाई मात्रै थाहा हुन्छ,भोग्नेलाई मात्रै थाहा हुँदो रहेछ,’ उनले भनिन्।

माया न्यौपाने ढकालका लागि पनि यस वर्षको दसैँ पहिलेको जस्तो छैन। आफ्ना विद्यार्थीलाई चाडपर्वमा खुसी देख्न चाहने उनी अहिले उनीहरूलाई बिस्तारै सामान्य अवस्थामा फर्काउने प्रयासमा छिन्। मायाको आशा यही छ- एक दिन बालबालिका फेरि आफ्नै कक्षाकोठामा फर्किनेछन्, आफ्ना खेलौना र शैक्षिक सामग्रीसँग रमाउनेछन्, सानो आवाज आउँदा झस्किने छैनन् र विद्यालयलाई देखेर ‘हाम्रो स्कुल’ भनेर खुसी हुनेछन्।

त्यो दिन आएपछि मात्रै मायाका विद्यार्थीका लागि बाढीले खोसेको बाल्यकालको खुसी बिस्तारै फर्किन थाल्नेछ। दसैँको सबैभन्दा ठूलो उपहार सुरक्षित विद्यालय, सुरक्षित घर र डरविहीन बाल्यकाल हुनेछ।

प्रकाशित: ४ कार्तिक २०८३ १४:२३ | Wednesday, October 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast