मधेसमा चाडपर्वले चलायमान बनायो बजार, बढ्यो आर्थिक कारोबार

हिमाल प्रेस १७ कार्तिक २०८३ १६:४१ | Tuesday, November 3, 2026
10
SHARES
मधेसमा चाडपर्वले चलायमान बनायो बजार, बढ्यो आर्थिक कारोबार

धनुषा- दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेश प्रदेशसहित मुलुकभरका बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ।

चाडपर्व लक्षित व्यापारिक गतिविधि विस्तार भएसँगै दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, गरगहना, विद्युतीय उपकरण र सवारीसाधनसम्मको कारोबार बढेको छ।

यसले सुस्त रहेको बजारलाई चलायमान बनाउनुका साथै होटल, रेस्टुरेन्ट, यातायात र पर्यटन क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ।

मधेश प्रदेशको राजधानी जनकपुरधामसहित देशका प्रमुख सहरका बजारमा चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्ने उपभोक्ताको उपस्थिति बाक्लिएको छ।

जनकपुरधामका शिवचोक, रामचोक, मुरलीचोक, जानकी चोकलगायतका व्यापारिक क्षेत्रमा बिहानदेखि साँझसम्म किनमेल गर्नेको भीड देखिन थालेको छ।

चाडपर्वमा नयाँ लुगा लगाउने, घर सजाउने, मिठाई तथा अन्य परिकार बनाउने र आफन्तलाई उपहार दिने परम्पराका कारण बजारमा विभिन्न वस्तुको माग बढेको व्यवसायी बताउँछन्।

उपभोक्तालाई आकर्षित गर्न व्यापारीले मूल्यमा छुट, उपहार तथा विशेष प्याकेज सार्वजनिक गरेका छन्। विशेषगरी लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्स, फर्निचर र घरायसी सामग्रीका पसलमा चाडपर्व लक्षित योजना सञ्चालन भइरहेका छन्।

उपभोक्ताले पनि दसैँपछि दीपावली, तिहार र छठका लागि आवश्यक सामग्री खरिद गर्ने भएकाले बजारमा कारोबारको चाप बढेको छ।

साउन सङ्क्रान्तिपछि तीजबाट सुरु हुने चाडपर्वको आर्थिक गतिविधि दसैँ हुँदै तिहार र छठसम्म जारी रहने गरेको छ।

नेपाली समाजमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक महत्त्वमा सीमित नभई पारिवारिक भेटघाट, सामाजिक सम्बन्धको नवीकरण र आर्थिक कारोबार विस्तारको अवसरसमेत बन्ने गरेका छन्।

परिवारका सदस्य तथा आफन्त एकै ठाउँमा भेला हुने, मीठोमसिनो खाने, नयाँ लुगा लगाउने र मान्यजनबाट आशीर्वाद लिने परम्पराले उपभोगमा वृद्धि गराउँछ।

जनकपुरधाममा लामो समयदेखि अर्थशास्त्र अध्यापन गर्दै आएका सञ्जय साहका अनुसार चाडपर्वका बेला घरपरिवारको खर्च बढ्ने र व्यवसायीले पनि ग्राहक आकर्षित गर्न विभिन्न छुटका योजना ल्याउने भएकाले बजारमा वस्तु तथा सेवाको माग बढ्छ।

उनले चाडपर्वमा हुने खर्चले उत्पादन, वितरण र बिक्रीको प्रक्रियालाई सक्रिय बनाउने बताए। उनका अनुसार चाडपर्वमा उपभोक्ताले सामान्य समयको तुलनामा बढी खर्च गर्ने भएकाले व्यापारिक कारोबारमा वृद्धि हुन्छ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले चाडपर्वको कारोबारले वर्षभरिको व्यापारिक चक्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनका अनुसार चाडपर्वमा उपभोक्ताले दैनिक आवश्यकताका वस्तुका साथै लामो समयसम्म प्रयोग हुने टिकाउ सामग्री खरिद गर्ने प्रवृत्ति बढेको छ।

फर्निचर, विद्युतीय उपकरण तथा अन्य घरायसी सामग्री खरिद गर्न उपभोक्ताले चाडपर्वमा उपलब्ध हुने छुट र सहुलियतको प्रतीक्षा गर्ने गरेका छन्। यसका कारण चाडपर्वको समयमा यस्ता वस्तुको बिक्री बढ्ने गरेको उनले बताए।

इन्टरनेट सेवा प्रदायक, सञ्चार क्षेत्र, होटल, रेस्टुरेन्ट तथा ट्राभल एजेन्सीले समेत ग्राहक आकर्षित गर्न विशेष प्याकेज ल्याउने गरेका छन्।

घर जाने तथा आफन्तसँग भेटघाट गर्नेको सङ्ख्या बढ्दा यातायात सेवाको माग बढ्ने गरेको छ भने घुमफिर र पारिवारिक जमघटका कारण होटल तथा रेस्टुरेन्ट व्यवसायले पनि लाभ लिने गरेका छन्।

नेपाल उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले दसैँ, तिहार र छठका बेला आम्दानी तथा खर्च दुवै बढ्ने भएकाले आर्थिक गतिविधिले गति लिने बताए।

उनका अनुसार सरकारी तथा निजी क्षेत्रका कर्मचारीले पाउने तलब, चाडपर्व खर्च र अन्य आम्दानीले बजारमा नगद प्रवाह बढाउँछ।

नेपाल चेम्बर अफ कमर्स मधेस प्रदेशका अध्यक्ष विजयकुमार साहले चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र व्यापारिक गतिविधि विस्तार हुने बताए।

‘दसैँमा सरकारी तथा निजी क्षेत्रमा काम गर्नेले तलबका अतिरिक्त चाडपर्व खर्च पाउँछन्। उनीहरूले गर्ने खर्चले बजारमा किनमेल बढाउँछ,’ उनले भने।

चाडपर्वका बेला बजारमा हुने कारोबारले आर्थिक गतिविधिलाई सक्रिय बनाउन सहयोग पुग्ने उनको भनाइ छ। उनका अनुसार चाडपर्वमा उपभोक्ताको माग बढ्दा व्यापारी, ढुवानी व्यवसायी, श्रमिक र विभिन्न सेवा प्रदायकले समेत काम पाउने अवसर बढ्छ।

चाडपर्वको समयमा बजारमा माग बढ्नुको अर्को महत्त्वपूर्ण आधार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले चाडपर्व मनाउन तथा घरपरिवारको खर्च व्यवस्थापन गर्न रकम पठाउने क्रमले उपभोगमा सहयोग पुर्‍याउँछ।

विशेषगरी मधेश प्रदेशका ग्रामीण क्षेत्रमा परिवारका सदस्यले विदेशबाट पठाएको रकमले लत्ताकपडा, खाद्यान्न, घरायसी सामग्री र अन्य आवश्यक वस्तु खरिद गर्न सहयोग गर्ने गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह दुई खर्ब १५ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले बढी हो।

विप्रेषणको रकम घरपरिवारको दैनिक खर्च, शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आवश्यकतामा उपयोग हुने भएकाले यसले समग्र उपभोग र बजारको मागमा प्रभाव पार्छ। चाडपर्वका बेला घरपरिवारको खर्च थप बढ्ने हुँदा विप्रेषणबाट प्राप्त रकमको केही हिस्सा बजारमा प्रवाह हुने गर्छ।

चाडपर्वमा माग बढेसँगै बजारमा मूल्यवृद्धि, कृत्रिम अभाव, गुणस्तरहीन वस्तुको बिक्री र म्याद गुज्रिएका सामग्रीको कारोबार हुन सक्ने जोखिम पनि रहन्छ। यस्तो अवस्थामा उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ।

व्यापारीले पनि उपभोक्ताको विश्वास कायम राख्न वस्तुको मूल्य, गुणस्तर र छुटसम्बन्धी विवरण स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने हुन्छ।

उपभोक्ताले समेत आवश्यकताअनुसार बजेट बनाएर खर्च गर्ने, मूल्य तुलना गर्ने र खरिद गरिएका वस्तुको बिल लिने अभ्यासलाई प्राथमिकता दिनुपर्छ।

चाडपर्वमा बढ्ने उपभोगलाई स्थानीय उत्पादनसँग जोड्न सके यसको आर्थिक लाभ गाउँदेखि सहरसम्म विस्तार हुन सक्छ। मधेश प्रदेशमा उत्पादित खाद्यान्न, मिठाई, हस्तकला, घरेलु सामग्री, परम्परागत पोसाक र स्थानीय उद्यमका वस्तुको बिक्री बढाउन सके साना उत्पादक तथा व्यवसायीको आम्दानी वृद्धि गर्न सहयोग पुग्नेछ।

प्रकाशित: १७ कार्तिक २०८३ १६:४१ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast