काठमाडौँ- भारतको सर्वोच्च अदालतले दीपावली उत्सव सार्वजनिक स्वास्थ्यको मूल्यमा मनाउन नसकिने स्पष्ट गर्दै दिल्ली–राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा प्रमाणित हरित पटाका सीमित समयका लागि प्रयोग गर्न अनुमति दिएको छ।
अदालतले सोमबार सार्वजनिक गरेको २३ पृष्ठ लामो आदेशमा धार्मिक परम्परा सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित चिन्ताभन्दा माथि हुन नसक्ने उल्लेख छ। यद्यपि अदालतले पटाकामाथि पूर्ण प्रतिबन्ध लगाएको छैन। निश्चित समय र कडा सर्तसहित सीमित प्रयोगको अनुमति दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
धार्मिक भावनालाई सम्मान गर्दै प्रदूषणमुक्त वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारबीच सन्तुलन कायम गर्न अदालतले नोभेम्बर ७ र ८ मा बिहान ६ देखि ७ बजेसम्म तथा राति ८ देखि १० बजेसम्म मात्र हरित पटाका पड्काउन पाउने व्यवस्था गरेको छ। नोभेम्बर ९ देखि भने पूर्ण प्रतिबन्ध पुनः लागू हुनेछ।
अस्पताल, नर्सिङ होम, प्राथमिक तथा जिल्ला स्वास्थ्य केन्द्र, वृद्धाश्रम, सूचित मौन क्षेत्र र शैक्षिक संस्थाको तीन सय मिटर वरपर पटाका पड्काउन पूर्ण प्रतिबन्ध लगाइएको छ। आदेशअनुसार ती क्षेत्रलाई ‘पटाकामुक्त क्षेत्र’ घोषणा गरिनेछ।
वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद्–राष्ट्रिय वातावरणीय इन्जिनियरिङ अनुसन्धान संस्थान (सीएसआईआर–नीरी) र पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठन (पेसो) बाट वैध प्रमाणीकरण प्राप्त उत्पादकले नोभेम्बर २ देखि ६ सम्म स्वीकृत हरित पटाका बिक्री गर्न पाउनेछन्।
आदेशमा एकआपसमा जोडेर पड्काइने पटाका, जसलाई सामान्यतया ‘लडी’ र ‘माला’ भनिन्छ, तथा बेरियमयुक्त पटाका हरित पटाकाका रूपमा बिक्री गर्न नपाइने उल्लेख छ। सीएसआईआर–नीरीबाट हरित पटाकाका रूपमा स्वीकृति नपाएका पटाका बिक्री गर्न पनि रोक लगाइएको छ।
सामान्य पटाकालाई हरित पटाकाको लेबल लगाएर बिक्री गर्ने कार्य रोक्न प्रत्येक प्याकेटमा उत्पादनविशेष क्यूआर कोड अनिवार्य गरिएको छ। उक्त कोडमा उत्पादकको विवरण, नीरी दर्ता, पेसो वा जिल्ला मजिस्ट्रेटको इजाजतपत्र, पटाकामा प्रयोग भएका सामग्री र परीक्षण प्रमाणपत्रको विवरण समावेश हुनुपर्नेछ।
प्रहरी र जिल्ला प्रशासनका टोलीले बजार अनुगमन गरी क्यूआर कोड जाँच गर्नेछन्। अवैध वा सामान्य पटाका भेटिए जफत गरिनेछ। अदालतको आदेश उल्लंघन गर्ने उत्पादक तथा व्यवसायीमाथि कारबाही गरिनेछ।
अदालतले हरित पटाका बिक्रीका लागि निश्चित स्थान तोक्न पनि अधिकारीहरूलाई निर्देशन दिएको छ। तोकिएका स्थानबाहेक अन्यत्र तथा अनलाइन माध्यमबाट समेत पटाका बिक्री गर्न पाइने छैन।



