तस्बिर : रासस
गण्डकी- पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। पूर्वी खण्डको निर्माण पूरा भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ।
पूर्वी खण्ड (जामुने-मुग्लिन) को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको छ। उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएपछि त्रुटि सच्याउने अवधि (डिफेक्ट लायबिलिटी पिरियड-डिएलपी) सुरु भइसकेको छ।
‘डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ’, उनले भने।
कुल ४१.४५ किलोमिटर दूरीको पूर्वी खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक ६ लेनमा विस्तार गरिएको छ। अन्य स्थानमा चार लेनको सडक निर्माण भएको छ। यस खण्डमा सानाठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन्।
तनहुँको मादी नदीमा निर्माण हुने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत बनिरहेको इन्जिनियर पाण्डेले बताए। पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम २०७८ वैशाखदेखि सुरु भएको थियो। चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाखमा पूर्वी खण्ड निर्माणको जिम्मा पाएको थियो।
पश्चिम खण्ड (पोखरा-जामुने)को काम आगामी मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ। उक्त खण्डका आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार सडक निर्माणको काम अन्तिम चरणमा पुगे पनि करिब पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ।
‘रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित काम धमाधम भइरहेका छन्’, उनले भने।
पोखरा महानगरपालिका-१० स्थित अमरसिंहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको इन्जिनियर कुँवरले बताउनुभयो। निर्माण सम्पन्न भएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म डिएलपी लागू हुनेछ। त्यसपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीकै रहनेछ।
कुल ३८.८८ किलोमिटर दूरीको पश्चिम खण्डमा १८.५ किलोमिटर सडक छ लेनमा र बाँकी चार लेनमा निर्माण भएको छ। ‘पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो’, इन्जिनियर कुँवरले भने, ‘तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ।’
यस खण्डमा निर्माण गर्नुपर्ने १३ पुलमध्ये १२ वटाको काम पूरा भएको छ। पोखराको सेती नदीमाथि बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ।
तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड निर्माणका लागि २०७८ जेठ २ गते सम्झौता भएको थियो। २०७८ भदौ १२ गतेदेखि निर्माण सुरु भएको यस खण्डको ठेक्का चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा पाएको थियो।
कुल ८१ किलोमिटर दूरीको पोखरा-मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नति गरिएको हो। सरकारको प्राथमिकताप्राप्त यस आयोजनाको काम सुरुमा सुस्त भएपछि पोखराका पर्यटन व्यवसायीलगायतले निर्माणमा ढिलासुस्ती नगर्न दबाब दिएका थिए।
गण्डकी प्रदेशको राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँ, चितवनलगायतका गन्तव्यसँग जोड्ने प्रमुख सडक स्तरोन्नति भएपछि यातायात सेवा सहज बनेको छ। निर्माणका क्रममा धुलो र हिलोको सास्ती खेपेका यात्रुले अहिले फराकिलो चार लेन सडकमा यात्रा गर्न पाएका छन्।
सडक विस्तारसँगै पोखराका साँघुरा चोकसमेत फराकिला र व्यवस्थित बनेका छन्। अमरसिंहचोक, अर्घौँचोक, बुद्धचोक र तालचोकलगायत क्षेत्रमा मापदण्डविपरीतका संरचना हटाएर सडक तथा चोक विस्तार गरिएको छ। सडक स्तरोन्नतिले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधि बढाउनसमेत टेवा पुग्ने अपेक्षा गरिएको छ। रासस



