काठमाडौँ- नेपाली कांग्रेस देउवा समूहले पार्टीको विधि विधानअनुसार नै १५ औँ महाधिवेशन सम्पन्न हुने जनाएको छ।
मंगलबार देउवा समूहले सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै मंसिर २१, २२ र २३ गते काठमाडौँमा आयोजना हुने महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको समेत जनाएको हो।
पत्रकार सम्मेलनमा नेता प्रकाशशरण महतले पार्टीको बिचार, सिद्धान्त र विधि विधानअनुसार १५ औँ महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा र दैनिक रूपमा महाधिवेशन सम्पन्न गर्नको लागि डा. शशांक कोइरालाको संयोजकत्वमा सम्पन्न हुने बताए।
हालसम्म ६१८ वटा पालिका, २२८ ठाउँमा प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन र ११४ क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उनले बताए। सवै अधिवेशनमा आफ्नै साधन–स्रोत प्रयोग गरेर अत्यन्त उत्साहपूर्ण सहभागिता देखिएको उनले उल्लेख गरे।
उनले महाधविशेनले कांग्रेसको मूल मान्यता, विचार, विधि, र पार्टी सञ्चालन पद्धतिको पक्षमा उभिने अठोट लिएको जनाए। आफूलाई आधिकारिक दावी गर्नेसँग कांग्रेसका आत्मा नरहेको उनले तर्क गरे। उनले वैचारिक र बैधानिक कोणबाट अर्को पक्ष ठीक ठाँउमा नरहेको आरोप लगाए।



