भाइटीकाको उत्तम साइत कहिले?

हिमाल प्रेस १७ कार्तिक २०८३ १८:३१ | Tuesday, November 3, 2026
14
SHARES
भाइटीकाको उत्तम साइत कहिले?

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए। कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए।

मध्याह्न कालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि मध्याह्न कालमा टीका लगाउन कुनै समस्या छैन।

यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि नै सुरु हुन्छ। त्यस दिन धनत्रयोदशी (धनतेरस) पर्व परेको छ। कात्तिक २१ गते शनिबारदेखि काग तिहार परेको छ। धन्वन्तरी जयन्ती पनि यसै दिन परेको छ।

कात्तिक २२ गते आइतबार नरक स्नान सहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ।

दिउँसो कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रुपमा पर्व सम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ।

सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक २३ गते सोमबार बिहान गर्नुपर्नेछ। लक्ष्मीपूजा पनि यसै दिन गरिन्छ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक २४ गते मंगलबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ। कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ।

आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ। समितिले स्वीकृति दिने तीनवटा पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन्।

सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक २४ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन्। नेपाल संवत्को नयाँ वर्ष ११४७ पनि यसै दिन सुरु हुन्छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन रहेको छ।

शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक २५ गते बुधबार नै मनाइन्छ। शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ। यसैले कात्तिक २५ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ।

शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुबैलाई बुझाउने अध्यक्ष भट्टराईको भनाइ छ। भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ। यस पर्वमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ।

यमदीपदान परिवारको संख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ। यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

काग र कुकुरलाई पनि यमदूतका रुपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ। जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ।

प्रकाशित: १७ कार्तिक २०८३ १८:३१ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast