कांग्रेस उपसभापतिमा भण्डारीको फराकिलो अग्रता, महामन्त्रीमा राणाले पुनलाई उछिने

हिमाल प्रेस २५ असोज २०८३ १५:२७ | Sunday, October 11, 2026
132
SHARES
कांग्रेस उपसभापतिमा भण्डारीको फराकिलो अग्रता, महामन्त्रीमा राणाले पुनलाई उछिने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न चुनावको मतगणना जारी छ। पार्टीका आगामी उपसभापति तथा महामन्त्री पदका लागि सानेपास्थित पार्टी कार्यालयमा मतगणना भइरहेको हो।

पछिल्लो विवरणअनुसार दुई जना निर्वाचित हुने उपसभापति खुलातर्फ चन्द्र भण्डारी फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्। २ हजार २३१ मत गणना हुँदा भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। त्यस्तै ७१२ मतसहित ईन्जिनियर मधु आचार्य दोस्रो स्थानमा छन्।

खुला उपसभापतिमा प्रतिस्पर्धा गरेका सुरेन्द्रराज पाण्डे ६८०, गोविन्द भट्टराई ६०९, धनराज गुरुङ ४०६ दीपक गिरी ३०१ र चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।

त्यस्तै एक जना समावेशी उपसभापतिका लागि पाँच जनाले प्रतिस्पर्धा गरेका थिए। यो समूहबाट उपसभापतितर्फ विनोदकुमार चौधरी ६१५ सहित अग्रता लिएका छन्। त्यस्तै जीवन परियार ५७८, सीता गुरुङ ३३४, फरमुल्लाह मन्सुर २८५ र रञ्जित कर्णले १८३ मत पाएका छन्।

दुई जना खुला महामन्त्रीका लागि चार उम्मेदवारबी प्रतिस्पर्धा भएको थियो। खुला महामन्त्रीतर्फ प्रदीप पौडेल १ हजार ३८१ मतसहित अग्रस्थानमा छन्।

दोस्रो स्थानका लागि उदयशम्शेर राणा र अमरसिंह पुनबीच कडा टक्कर देखिएको छ। मतगणनाको प्रारम्भिक चरणमा पुनले अग्रता लिए पनि पछिल्लो समय राणाले उनलाई उछिनेका छन्।

पछिल्लो विवरणअनुसार राणा ७८६ मतसहित दोस्रो स्थानमा रहँदा पुनको ६९५ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्। त्यस्तै सुनिलकुमार शर्मा, गुरुराज घिमिरे ३२८, नैनसिंह महर २७०, शंकर तिवारी ४६ र डा.सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।

एक जना निर्वाचित हुने महामन्त्री महिलातर्फ पनि कडा प्रतिस्पर्धा देखिएको छ। महिला महामन्त्री उम्मेदवारहरू

डिला संग्रौला र महालक्ष्मी उपाध्याय (डिना) बीच प्रतिस्पर्धा देखिएको हो।  संग्रौलाले ९६५ मत ल्याउँदा डिनाको ९५२ मत छ। त्यस्तै रिता खनालले २५१ मत ल्याएकी छन्।

कांग्रेस सभापतिमा गगनकुमार थापा यसअघि नै निर्वाचित भइसकेका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा विश्वप्रकाश शर्मा र महिला उपाध्यक्षमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: २५ असोज २०८३ १५:२७ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast