काठमाडौँ- नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले मुगुमा शक्ति प्रदर्शनसहित जिल्ला अधिवेशन सम्पन्न गरेको छ।
जिल्ला सदरमुकाममा ठूलो संख्यामा कांग्रेस कार्यकर्ताको उपस्थितिबीच सम्पन्न अधिवेशनले तिलकबहादुर मल्ललाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गरेको छ।
सभापति पदका लागि मुगुका दुई नेता तिलकबहादुर मल्ल र खगेन्द्र मल्लबीच प्रतिस्पर्धा हुने अवस्था रहे पनि पार्टीलाई जिल्लामा थप बलियो बनाउने उद्देश्यले खगेन्द्र मल्ल पछि हटेपछि तिलकबहादुर सर्वसम्मत सभापति चयन भएका हुन्। अधिवेशनबाट २७ सदस्यीय जिल्ला कार्यसमितिसमेत चयन गरिएको छ।
सभापति पदका अर्का आकांक्षी खगेन्द्रले जिल्लामा पार्टीलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै आफूले त्याग गरेको बताएका छन्। सत्य र न्यायको लडाइँलाई साथ दिँदै पार्टीको एकता र सुदृढीकरणका लागि आफूले यो निर्णय लिएको उनको भनाइ छ।
नेपाली कांग्रेसको देउवा समूहबाट कर्णाली प्रदेशमा नेतृत्व गरिरहेका वनमन्त्री ऐनबहादुर शाहीको गृहजिल्ला मुगुमा भएको अधिवेशनलाई शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। नियमित महाधिवेशन पक्षधर समूहले ठूलो संख्यामा कार्यकर्ता उतार्दै आफ्नो राजनीतिक शक्ति र संगठनात्मक उपस्थिति प्रदर्शन गरेको हो।
गत असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन प्रक्रियाअन्तर्गत कर्णालीका हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएका छन्। यसैक्रममा हुम्लामा सूर्यबहादुर शाही र जुम्लामा नेत्रकला शाही जिल्ला सभापतिमा चयन भएका छन्।
नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य धर्मराज शाहीले जिल्लामा अथक मेहनतपछि अधिवेशन भव्य रूपमा सम्पन्न भएको बताए। सत्य र न्यायको पक्षमा आफूहरू पूर्ण रूपमा समर्पित भएर लागेको उल्लेख गर्दै उनले पार्टीलाई बलियो बनाउने अभियानमा कार्यकर्ताहरू एकजुट भएको बताएका छन्।



