कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैँपछि

हिमाल प्रेस ३० असोज २०८३ १२:४९ | Friday, October 16, 2026
कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दसैँपछि

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ।

मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खस आर्य र थारूतर्फको मतगणना पनि अबेर राति सकिएको उनले बताए।

गत असोज २३ गते मतदान गरी त्यहीदिन राति सभापतिको मतगणना गरेर शुरू भएको मतगणना कार्य झण्डै एक हप्तामा सकिएको हो। राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो।

अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो।

१४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए।

उनका अनुसार गणना सुरू भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो। मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सृजना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ।

यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए। कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो।

अघिल्लो महाधिवेहअधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दाबी छ।

उनका अनुसार प्रमाणपत्र वितरण तथा सपथग्रहण कार्यक्रम भने दसैँ लगत्तै गर्ने तयारी भएको छ। त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन्।

उक्त बैठकमै स्थानीय तहको निर्वाचनको खाकासमेत बनाउने तयारीसमेत भइरहेको बुझिएको छ।

प्रकाशित: ३० असोज २०८३ १२:४९ | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast