कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र चौधरीको अग्रता, महामन्त्रीमा पुनलाई उछिने शर्माले

हिमाल प्रेस २५ असोज २०८३ १८:३१ | Sunday, October 11, 2026
32
SHARES
कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र चौधरीको अग्रता, महामन्त्रीमा पुनलाई उछिने शर्माले

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सम्पन्न चुनावको मतगणना जारी छ। पार्टीका आगामी उपसभापति तथा महामन्त्री पदका लागि सानेपास्थित पार्टी कार्यालयमा मतगणना भइरहेको हो।

मतगणनाको पछिल्लो विवरणअनुसार दुई जना निर्वाचित हुने उपसभापति खुलातर्फ डा.चन्द्रकान्त भण्डारी फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्।

४ हजार १ सय मत गणना हुँदा भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन्। त्यस्तै १ हजार २७८ मतसहित ईन्जिनियर मधु आचार्य दोस्रो स्थानमा छन्।

खुला उपसभापतिमा प्रतिस्पर्धा गरेका गोविन्द भट्टराई १ हजार ९१, सुरेन्द्रराज पाण्डे १ हजार ६५, धनराज गुरुङ ९०८, दीपक गिरी ५७९ र प्रा.डा.चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन्।

त्यस्तै एक जना समावेशी उपसभापतिका लागि पाँच जनाले प्रतिस्पर्धा गरेका थिए। यो समूहबाट उपसभापतितर्फ विनोदकुमार चौधरी १ हजार २६ मतसहित अग्रता लिएका छन्। त्यस्तै जीवन परियार ९७९, सीता गुरुङ ६७६, फरमुल्लाह मन्सुर ५६५ र रञ्जित कर्णले ३११ मत पाएका छन्।

दुई जना खुला महामन्त्रीका लागि चार उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। खुला महामन्त्रीतर्फ प्रदीप पौडेल २ हजार ३९१ मतसहित अग्रस्थानमा छन्।

दोस्रो स्थानका लागि उदयशम्शेर राणा र डा.सुनिलकुमार शर्माबचि कडा टक्कर देखिएको छ। मतगणनाको प्रारम्भिक चरणमा राणाभन्दा अगाडि रहेका अमरसिंह पुन अहिले तेस्रो स्थानमा पुगेका छन्। पुनलाई उछिन्दै शर्मा तेस्रो स्थानमा पुगेका छन्।

मतगणनाको पछिल्लो विवरणअनुसार राणा १ हजार ३३३ मतसहित दोस्रो स्थानमा रहँदा शर्माको १ हजार १७५ मत रहेको छ। त्यस्तै पुनले ८८७ मत प्राप्त गरेका छन्।

त्यस्तै निवर्तमान महामन्त्री गुरुराज घिमिरे ८२३, नैनसिंह महर ५३९, शंकर तिवारी ७१ र डा.सन्तोष उपाध्यायले ५७ मत प्राप्त गरेका छन्।

एक जना निर्वाचित हुने महामन्त्री महिलातर्फ पनि कडा प्रतिस्पर्धा देखिएको छ। महिला महामन्त्री उम्मेदवारहरू डा.डिला संग्रौला र महालक्ष्मी उपाध्याय (डिना) बीच प्रतिस्पर्धा देखिएको हो।

संग्रौलाले १ हजार ८१६ मत ल्याउँदा डिनाको १ हजार ६३१ मत छ। त्यस्तै रिता खनालले ४२० मत ल्याएकी छन्।

कांग्रेस सभापतिमा गगनकुमार थापा यसअघि नै निर्वाचित भइसकेका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा विश्वप्रकाश शर्मा र महिला उपाध्यक्षमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: २५ असोज २०८३ १८:३१ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast