व्यापक रूपमा प्रयोग हुँदै आएको प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि ह्याकरहरूले त्यसको दुरुपयोग गर्न खोजिरहेको चेतावनी बढ्दै गएको छ। यससँगै कम्पनी र सरकारहरू आफ्ना वेबसाइटलाई सम्भावित साइबर आक्रमणबाट जोगाउन तीव्र रूपमा लागेका छन्।
इन्टरनेटका अनुमानित ७० प्रतिशत वेबसाइट सञ्चालनमा सहयोग गर्ने प्रविधिका विकासकर्ताले बुधबारदेखि अत्यावश्यक सफ्टवेयर अद्यावधिक सार्वजनिक गर्न थालेपछि अमेरिका, युरोप र एसियाभर सावधानीका रूपमा वेबसाइट बन्द गर्ने क्रम बढेको हो।
अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय (एनएसए) र युरोपको साइबर सुरक्षा निकायसहित विश्वभरका सुरक्षा संस्थाले कम्पनीहरूलाई तत्काल सफ्टवेयर अद्यावधिक गर्न वा सम्भावित ह्याकिङबाट आफ्ना प्रणाली जोगाउन वेबसाइट र एप्लिकेसन अस्थायी रूपमा बन्द गर्न चेतावनी दिएका छन्।
ओपनएआई र गुगलका कृत्रिम बौद्धिकता (एआई) मोडेलको सहयोगमा पीएचपी प्रोग्रामिङ भाषामा रहेका दुईवटा सुरक्षा कमजोरी पत्ता लागेका हुन्। एक दशकभन्दा बढी समयसम्म पहिचान हुन नसकेका यी कमजोरी एआईको विकासले ह्याकर र कम्पनीबीच साइबर सुरक्षाको प्रतिस्पर्धा कसरी चर्काएको छ भन्ने उदाहरण बनेका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार यी कमजोरी समाधान नगरिए पीएचपी प्रयोग गर्ने संस्थाका वेबसाइट ह्याकरको निसानामा पर्न सक्छन्। ह्याकरले पासवर्ड वा अन्य प्रवेश विवरणबिनै वेबसाइट र त्यसलाई सञ्चालन गर्ने कम्प्युटर सर्भरमाथि नियन्त्रण कायम गर्न सक्ने जोखिम छ।
नेदरल्यान्ड्स, फ्रान्स, फिनल्यान्ड, जापान र अस्ट्रेलियालगायत देशका सरकारी वेबसाइटका साथै बीबीसी र विकिपिडियाजस्ता लोकप्रिय वेबसाइटका केही भागसमेत सावधानीका रूपमा अस्थायी रूपमा बन्द गरिएका छन्।
इन्टरनेटमा पीएचपीको व्यापक प्रयोग हुनुको प्रमुख कारण सबैभन्दा बढी प्रयोग हुने वेबसाइट निर्माण प्रणाली वर्डप्रेस मुख्यतः यही भाषामा लेखिनु हो। पीएचपीको प्रारम्भिक पूरा रूप ‘पर्सनल होम पेज’ हो। वर्डप्रेस सञ्चालनका लागि पनि यही भाषामा निर्भर रहनुपर्छ।
अमेरिकाका दुई साइबर सुरक्षा अनुसन्धान समूह क्यालिफ र विजका अनुसन्धानकर्ताले एआई उपकरण प्रयोग गरेर सफ्टवेयरका यी कमजोरी पत्ता लगाएका हुन्। अल्फाबेटको स्वामित्वमा रहेको विजले यी कमजोरीलाई सफ्टवेयरको इतिहासमा पत्ता लागेका ‘अत्यन्त गम्भीर सुरक्षा कमजोरी’मध्ये एक भनेको छ।
अनुसन्धानकर्ताहरूले सुरक्षा कमजोरी बुझ्न र त्यसलाई समाधान गर्ने सफ्टवेयर तयार पार्न दुई महिनाभन्दा बढी समय लगाए। पीएचपी विकासकर्ताले बिहीबार अद्यावधिक सार्वजनिक गर्ने योजना बनाएका थिए। तर मंगलबार साइबर सुरक्षासम्बन्धी एउटा अनलाइन मञ्चमा यी कमजोरीबारे सूचना चुहिएपछि उनीहरूले निर्धारित समयभन्दा अगावै समाधान सार्वजनिक गर्न हतार गर्नुपर्यो। यद्यपि, समाधान सार्वजनिक हुनुअघि नै ह्याकरले कमजोरीको दुरुपयोग गर्न सक्ने समयावधि बाँकी रह्यो।
अमेजनले सार्वजनिक रूपमा कमजोरीबारे जानकारी दिइनुभन्दा चार दिनअघि नै ह्याकरले त्यसको दुरुपयोग गर्ने प्रयास गरेको पत्ता लगाएको जनाएको छ। कम्पनीका अनुसार ती कमजोरीको अहिले वास्तविक इन्टरनेट वातावरणमा व्यापक रूपमा दुरुपयोग भइरहेको छ।
अनलाइन सुरक्षा कम्पनी क्लाउडफ्लेयरले बिहीबार कमजोरी सार्वजनिक भएयता त्यसको दुरुपयोग गर्ने लाखौँ प्रयास पत्ता लगाएको जनाएको छ।
सुरक्षासम्बन्धी चेतावनीले विश्वभरका सरकार र कम्पनीलाई सतर्क बनाएको छ। जापानकी प्रधानमन्त्री साने ताकाइचीले कम्पनीहरूलाई जतिसक्दो चाँडो सफ्टवेयर अद्यावधिक गर्न र आवश्यक परे सेवा स्थगित गर्ने विषयमा विचार गर्न आग्रह गरेकी छन्।
दक्षिण कोरियाले निजी क्षेत्रका लागि साइबर संकटसम्बन्धी सतर्कताको स्तर बढाएको छ। साथै, त्यहाँको राष्ट्रिय गुप्तचर सेवा तथा रक्षा र विज्ञान एवं सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अधिकारी सहभागी आपत्कालीन बैठकसमेत बोलाइएको छ। अलिबाबा क्लाउड र टेन्सेन्ट क्लाउडले आफ्ना सेवाग्राहीलाई पीएचपीको नवीनतम त्रुटि सुधारिएको संस्करण जतिसक्दो चाँडो प्रयोग गर्न आग्रह गरेका छन्।
जापानी वायुसेवा कम्पनी एएनएले बुधबार सावधानीका रूपमा आफ्नो वेबसाइट र एपबाट प्रदान गरिने सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ। यसमा एप्पल वालेटमा राखिने विमान चढ्ने अनुमति पत्र (बोर्डिङ पास) सेवासमेत समावेश छ।
अस्ट्रेलियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयकी प्राज्ञ रासिना होडाले भनिन्, ‘ठूला बैंक र कम्पनीहरूले सामान्यतया संवेदनशील कारोबारका लागि पीएचपीमा निर्भर रहँदैनन्। तर आफ्ना वेबसाइट सञ्चालन गर्न वर्डप्रेसजस्ता सेवा प्रदायकमा धेरै निर्भर रहेका अन्य व्यवसाय बढी जोखिममा छन्। वर्डप्रेसले पनि पीएचपी प्रयोग गर्ने भएकाले ती व्यवसायले आफ्ना सेवा सुरक्षित बनाउन आवश्यक कदम चाल्नुपर्छ।’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा




