साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा भर्त्सना

हिमाल प्रेस ५ कार्तिक २०८३ २१:०९ | Thursday, October 22, 2026
10
SHARES
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा भर्त्सना कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो।

नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

कांग्रेसले निर्दोष नागरिकको ज्यान जानेगरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य मान्यताविपरीत भएको उल्लेख गर्दै यस्ता घटनाको निन्दा र भर्त्सना गरेको छ।

नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक भएको पार्टीको भनाइ छ।

कांग्रेस सभापति गगनकुमार थापाले अनाहकमा एक जना नेपालीको समेत ज्यान गुम्नु अत्यन्त दुःखद भएको बताउँदै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए।

विज्ञप्तिमार्फत सभापति थापाले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेमा साउदी अरबमा रहेका नेपाली नागरिकको उद्धारको प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन्।

नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक कूटनीतिक तथा सुरक्षासम्बन्धी पहल गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिइएको कार्यवाहक मुख्यसचिव दुलालले बताए।

यसअघि साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोन अवरोध गर्ने क्रममा खसेको भग्नावशेषले ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी हुँदा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको तथा पाकिस्तानी र भारतीय नागरिक घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

साउदी अधिकारीका अनुसार घटनाले तेल क्षेत्रको सञ्चालनमा भने असर पारेको छैन।

प्रकाशित: ५ कार्तिक २०८३ २१:०९ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast