नयाँदिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिर साभार : मोदीको फेसबुक पेज
काठमाडौँ- १८औँ ब्रिक्स शिखर सम्मेलनले बढ्दो विश्वव्यापी तनावबीच सदस्य राष्ट्रबीच सहकार्य बलियो बनाउने र आपसी व्यापारमा स्थानीय मुद्राको प्रयोग बढाउने प्रतिबद्धतासहित आइतबार नयाँदिल्लीमा समापन भएको छ। सम्मेलनको अन्तिम दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै महामारी, जलवायुजन्य विपत्ति र आपूर्ति शृंखलामा आउने अवरोधले विश्वका कुनै पनि संकट क्षेत्रविशेषमा सीमित नरहने बताएका छन्।
सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानसहित ब्रिक्स राष्ट्रका अन्य नेताहरू पनि सहभागी थिए।
मोदीले भने, ‘आज विश्वमा तनाव निरन्तर बढिरहेको छ र यसको आममानिसको जीवनमा निकै नकारात्मक तथा व्यापक असर परिरहेको छ। महामारी, जलवायुजन्य विपत्ति र आपूर्ति शृंखलामा आएको अवरोधले एकअर्कासँग जोडिएको विश्वमा कुनै पनि संकट एउटा क्षेत्रमै सीमित रहँदैन भन्ने देखाएको छ।’
उनले ग्लोबल साउथका देशहरूबीच सहकार्य र एकअर्कालाई सहयोग गर्ने प्रणाली थप बलियो बनाउनुपर्नेमा जोड दिए। प्रविधि र खनिज स्रोतलाई हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्तिप्रति पनि मोदीले चिन्ता व्यक्त गरे। उनले यसको दुरुपयोगले विश्वको विकासलाई क्षति पुर्याउन सक्ने बताए।
उनका अनुसार ब्रिक्स देशहरू संक्रामक रोगका लागि साझा पूर्वचेतावनी प्रणाली निर्माण गर्न सहमत भएका छन्। यसले भविष्यमा महामारीसँग जुध्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्मेलनको पहिलो दिन दुई महत्त्वपूर्ण घटनाक्रम देखिए। पहिलो‘नयाँ दिल्ली घोषणापत्र २०२६’ लाई सबै ११ सदस्य राष्ट्रले सर्वसम्मतिले स्वीकार गरे। यसअघि मेमा भएको ब्रिक्सका विदेशमन्त्रीहरूको बैठकमा संयुक्त वक्तव्य जारी हुन सकेको थिएन। इरान युद्धका विषयमा सदस्य राष्ट्रहरूबीच देखिएको मतभेद त्यसको कारण थियो।
दोस्रो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरे। शनिबार भएको भेटमा मोदीले भारतको ब्रिक्स अध्यक्षताका लागि चीनले दिएको समर्थन र सहयोगका लागि धन्यवाद दिए।
प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार नयाँदिल्लीमा सम्मेलनबाहिर द्विपक्षीय भेटवार्ता भयो। वार्ताका क्रममा मोदीले सीमा क्षेत्रमा शान्ति र स्थिरता भारत–चीन सम्बन्धका लागि अत्यन्त आवश्यक रहेको बताए।
भारतको परराष्ट्र मन्त्रालयका अनुसार मोदीले दुई देशबीच सीमा सम्बन्धमा भएका विद्यमान सम्झौता र सहमतिहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
सी जिनपिङले चीन र भारतबीच धेरै महत्त्वपूर्ण सहमति भएको बताए। चीनले सधैँ भारतसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्दै आएको उनको भनाइ थियो।
उनले दुवै देशका परिस्थिति भिन्न भए पनि एकअर्काका सकारात्मक पक्षबाट सिक्न, सहकार्य गर्न र साझा विकासको दिशामा अघि बढ्न सकिने बताए।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेटवार्ता गरिन्। भेटका क्रममा उनले भारत क्षेत्रीय स्थायी शान्तिका लागि प्रतिबद्ध रहेको बताइन्। कुनै पनि विवाद र द्वन्द्वको समाधान वार्ता र कूटनीतिक माध्यमबाट हुनुपर्ने उनको भनाइ थियो।
पश्चिम एसियामा तनाव बढिरहेका बेला यो भेटवार्ता भएको हो। इरानमाथि अमेरिकाको सैन्य कारबाही र लगाइएका आर्थिक प्रतिबन्धका कारण तनाव थप चुलिएको छ।
ब्रिक्स सम्मेलनका क्रममा अमेरिकाले विभिन्न देशमाथि लगाएका प्रतिबन्ध र अमेरिकी डलरमाथिको निर्भरताबारे पनि छलफल भयो।
ब्रिक्सले अमेरिकी डलरलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा विश्वव्यापी वित्तीय प्रणालीमा त्यसको प्रभाव कम गर्ने दिशामा कदम अघि बढाएको छ। सदस्य राष्ट्रहरूले कुनै नयाँ साझा मुद्रा वा डलरको विकल्प अपनाउने घोषणा भने गरेका छैनन्।
सदस्य राष्ट्रहरूले आपसी व्यापार र लगानीमा स्थानीय मुद्राको प्रयोग बढाउन तथा सीमापार भुक्तानी प्रणालीलाई आपसमा जोड्ने पहललाई समर्थन गरेका छन्।


