शिक्षकको प्रतिबद्धताले फेरियो जनता मावि बुटनियाको शैक्षिक अवस्था

हिमाल प्रेस ९ कार्तिक २०८३ १३:२७ | Monday, October 26, 2026
10
SHARES
शिक्षकको प्रतिबद्धताले फेरियो जनता मावि बुटनियाको शैक्षिक अवस्था

दाङ- दङ्गीशरण गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय बुटनिया विगत ६ वर्षअघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर र विद्यार्थी संख्या पनि अत्यन्त न्यून थियो।

तर २०७६ सालमा कक्षा ६ देखि अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयले त्यसयता शैक्षिक क्षेत्रमा सुधार गर्दै हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।

हालसम्म यस विद्यालयबाट एसईईका चार वटा ‘ब्याच’का विद्यार्थीले परीक्षा दिइसकेका छन्। परीक्षाको समग्र नतिजालाई हेर्दा एसईईका साथै कक्षा ८ को परीक्षामा पनि पश्चिम दाङकै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारुले बताए।

उनका अनुसार गत वर्षको एसईईमा विद्यालयका ६ जना विद्यार्थीले ‘ए प्लस’ ल्याएका थिए भने ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो।

शिक्षक तथा कर्मचारी विद्यालयप्रति पूर्ण जिम्मेवार भएमा सफल भइन्छ भन्ने उदाहरण दिन सफल भएको प्रअ थारूको भनाइ छ।

२०७६ सालदेखि नै विद्यालयमा कार्यरत सबै शिक्षक, कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा यही विद्यालयमा पढाउने निर्णय गरेर लागू गरिएको छ। त्यसले गर्दा पनि विद्यालयले यो नतिजा ल्याउन सफल भएको उनको भनाइ छ।

‘मेरै छोरीले दुई वर्षअघि यही विद्यालयबाट एसइई दिएकी हुन्’, उनले भने,‘अन्य सबै कर्मचारीका बालबालिकाहरू पनि यहीँ अध्ययनरत हुनुहुन्छ।’

विद्यार्थीलाई गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्न विद्यालयमा प्रविधिको प्रयोग गरिएको छ। विद्यालयमा विषयवस्तुअनुसार अध्यापन गराउन तीन वटा स्मार्ट बोर्डको प्रयोग भइरहेको छ।

विद्यार्थीको व्यावहारिक सिकाइका लागि एउटा विज्ञान प्रयोगशाला र अध्ययनका लागि पुस्तकालयको व्यवस्था गरिएको छ। विद्यालयको आफ्नै चमेना गृह पनि रहेको छ। जहाँबाट खाजा कार्यक्रम सञ्चालन भइरहेको छ।

विद्यालयले केही भौतिक पूर्वाधार र जनशक्तिको भने समस्या खेप्नु परेको छ। विद्यार्थी संख्या बढ्दै जाँदा भवनको अवस्था तथा शौचालयको भने चरम अभाव देखिएको छ। छात्राका लागि दुई वटा र छात्रका लागि एउटा मात्र शौचालय रहेको छ। जसले गर्दा विद्यार्थीहरुले शौचालय जाँदा लाइन लाग्नुपर्ने अवस्था रहेको छ।

शिक्षक तथा कर्मचारीहरूका लागि छुट्टै शौचालयको व्यवस्था छैन। हाल सोही विद्यालयमा दुई जना विद्यालय कर्मचारी र १५ जना शिक्षक कार्यरत रहका छन्। अहिले विद्यालयमा ४५० बढी विद्यार्थी अध्ययनरत छन्।

विक्रम संवत् २०५२ मा स्थापना भएको उक्त विद्यालयलाई २०७६ सालदेखि स्तरवृद्धिको पहल थालिएको थियो।

तत्कालीन गाउँपालिकाका शिक्षा समितिका संयोजक वीरबहादुर वलीका अनुसार एक करोड बजेट विनियोजन गरेर भवन निर्माण गरिएको थियो। त्यसपछि कक्षा थप गरेर अगाडि बढाइएको उनले बताए।

उनका अनुसार जहाँ विद्यार्थी, त्यहाँ शिक्षक अभियान थालेर केही शिक्षक पनि थप गरेपछि शिक्षामा सुधार आएको उनको भनाइ छ।

प्रकाशित: ९ कार्तिक २०८३ १३:२७ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast