काठमाडौँ- नेपाल टेलिकमले रु. ४ हजार ९९९ मा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस (Mbps) इन्टरनेट प्याकेजका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी अनुमतिपत्रका सर्तविपरीत काम गरेको भन्ने आशयका समाचारहरू तथ्यमा आधारित नभई भ्रमपूर्ण रहेको जनाएको छ।
नेपाल टेलिकमले विगतदेखि नै सञ्चालन गर्दै आएका प्याकेजहरूको स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको स्पष्ट पारेको छ।
कम्पनीले ०८३ असोज ३० गतेदेखि सञ्चालनमा ल्याएको प्याकेजका सम्बन्धमा पनि प्राधिकरणलाई जानकारी गराइसकेको जनाएको छ।
उक्त प्याकेज यसअघि नै प्राधिकरणलाई जानकारी गराएर सञ्चालनमा ल्याइएको अफरकै निरन्तरता रहेको कम्पनीको भनाइ छ।
कम्पनीले विभिन्न सञ्चारमाध्यममा आएका ३० एमबीपीएसको एफटीटीएच (FTTH) इन्टरनेट प्याकेज, रु. ४ हजार ९९९ बराबरको सस्तो प्याकेजको स्वीकृति तथा सञ्चालनसम्बन्धी समाचारमा भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।
नेपाल टेलिकमले नेपाल सरकारको स्वीकृत नीति तथा प्रचलित कानुनको परिधिभित्र रहेर सेवा सञ्चालन गर्दै आएको र कानुनको पालना गर्न सधैँ प्रतिबद्ध रहेको जनाएको छ।



