काठमाडौँ- नेपाल टेलिकमले ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेजसहितको ‘अटम अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले नयाँ अफरअन्तर्गत विभिन्न सुविधा र समयावधिका प्याकेज सञ्चालनमा ल्याएको हो।
नेपाल टेलिकमका प्रवक्ता डा.कमल लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा अटम अफरमार्फत ग्राहकलाई थप आकर्षक तथा विविध सेवाका विकल्प उपलब्ध गराइएको उल्लेख छ।
नेपाल टेलिकमका अनुसार अटम अफर २०८३ असोज २६ गतेदेखि लागू भएको छ। अफरअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न भ्वाइस तथा डाटा प्याकेज छनोट गर्न सक्नेछन्।
कम्पनीले अल नेट भ्वाइस प्याकअन्तर्गत ३५ रुपैयाँमा १०१ मिनेट, ४९ रुपैयाँमा १११ मिनेट, ९८ रुपैयाँमा २२२ मिनेट, १८९ रुपैयाँमा ३३३ मिनेट र २९९ रुपैयाँमा ६६६ मिनेटको प्याक उपलब्ध गराएको छ। यी प्याकेजको समयावधि क्रमशः एक, तीन, सात, ३० र ३० दिन रहेको छ।
त्यसैगरी, सजिलो अनलिमिटेड प्याकअन्तर्गत ६९९ रुपैयाँमा ३० दिन समयावधि भएको प्याक उपलब्ध छ। उक्त प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० वटा अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ।
यसैगरी, एक हजार ४९९ रुपैयाँको ३० दिने प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० वटा अल नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले ३७३ रुपैयाँको मासिक रेन्टल चार्जमै विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकेजका साथै अन्य कम्बो प्याकेज प्रयोग गर्न सक्नेछन्।
अटम अफरअन्तर्गत भ्वाइस र डाटाका अतिरिक्त बन्डल्ड प्याक, एडअन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक तथा एफटीटीएच प्याकेजसमेत उपलब्ध छन्। फरक क्षमता भएका व्यक्तिका लागि पनि छुट्टै प्याकेजको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
ग्राहकले नेपाल टेलिकमको मोबाइल सेवाबाट \*१४१५# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरी विभिन्न प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्। त्यसैगरी, कम्पनीको आधिकारिक वेबसाइट [www.ntc.net.np](http://www.ntc.net.np) मार्फत पनि अफरसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ।




