नेपाल टेलिकमको खुद मुनाफा ३७.३५ प्रतिशतले वृद्धि, ईपीएस ४० रुपैयाँ ४५ पैसा

हिमाल प्रेस १ मंसिर २०८३ १३:०५ | Tuesday, November 17, 2026
नेपाल टेलिकमको खुद मुनाफा ३७.३५ प्रतिशतले वृद्धि, ईपीएस ४० रुपैयाँ ४५ पैसा

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद मुनाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत (Unaudited) वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा खुद मुनाफा ४९ करोड ४९ लाख रुपैयाँले बढेको हो।

त्यसैगरी, कम्पनीको करअघिको मुनाफा पनि ३.६५ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करअघिको मुनाफा २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो मुनाफा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ थियो।

कम्पनीको सञ्चालन आय भने लगभग स्थिर रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो। कम्पनीको कुल आय भने गत वर्षको ९ अर्ब ४७ करोड १० लाख रुपैयाँबाट बढेर ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन मुनाफा (EBITDA) भने ६.१३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ रहेको EBITDA चालु आर्थिक वर्षमा ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको प्रति सेयर आम्दानी (Annualized EPS) ४० रुपैयाँ ४५ पैसा रहेको छ।

नेपाल टेलिकमका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढी तथा पहिरोले दूरसञ्चार सेवामा असर पारेको थियो।

विपद्बाट प्रभावित सेवाग्राहीलाई कम्पनीले १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराएको थियो। विपद्का कारण प्रभावित क्षेत्रमा सेवा अवरुद्ध हुनु र व्यावसायिक गतिविधिमा आएको व्यवधानले सेवा बिक्री तथा राजस्वमा प्रतिकूल प्रभाव पारेको कम्पनीले जनाएको छ।

त्यस्तै, असोज २५ गतेको बुढीगण्डकी बाढीले समेत दूरसञ्चार सेवामा नकारात्मक असर पारेको कम्पनीको भनाइ छ।

कम मूल्यका ठूला मोबाइल डेटा प्याकेजको प्रयोग बढ्दै जाँदा जीएसएमलगायत सेवाको सञ्चालन राजस्वमा अपेक्षित वृद्धि हुन नसकेको देखिन्छ। कम्पनीका अनुसार जीएसएम सेवातर्फ १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवातर्फ ४ करोड ४० लाख रुपैयाँ सञ्चालन राजस्व वृद्धि भएको छ।

चालु आर्थिक वर्षमा कर्मचारीको तलब स्केल वृद्धि हुँदा कर्मचारी खर्च बढे पनि ह्रास खर्चमा आएको कमी तथा मूल्यह्रास क्षति फिर्ता समायोजन (Impairment Reversal) का कारण खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको कम्पनीले जनाएको छ। खर्चमा आएको यही कमी खुद मुनाफा वृद्धिको प्रमुख आधार बनेको देखिन्छ।

कम्पनीले बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ १३:०५ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast