सिटिजन्स म्युचुअल फण्ड-२ को सातवर्षे अवधि पूरा, औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गर्न सफल

हिमाल प्रेस १ मंसिर २०८३ १२:५७ | Tuesday, November 17, 2026
सिटिजन्स म्युचुअल फण्ड-२ को सातवर्षे अवधि पूरा, औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गर्न सफल

काठमाडौँ-  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फण्ड–२ (CMF2) ले आफ्नो सातवर्षे निर्धारित अवधि सफलतापूर्वक पूरा गर्दै खारेजी प्रक्रिया सम्पन्न गरेको छ। योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद लाभांश (प्रतिफल) प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ।

कुल ५६ करोड रुपैयाँ कोष आकार रहेको उक्त योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो। सातवर्षे अवधि पूरा गर्दै २०८३ असार २१ गते योजना परिपक्व भएको हो। योजना खारेजी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरण गर्ने कार्यसमेत सुरु भइसकेको कम्पनीले जनाएको छ।

नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतारचढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल प्रदान गर्न सफल हुनुलाई सिटिजन्स क्यापिटलको व्यावसायिक लगानी व्यवस्थापन क्षमताको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड-१ (CMF1) मार्फत समेत औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गर्न कम्पनी सफल भएको थियो।

सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई आकर्षक प्रतिफल प्रदान गर्दै व्यवस्थित तथा दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पुर्‍याउँदै आएको छ। हाल कम्पनीले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना तथा सिटिजन्स सन्तुलित योजनालगायत विभिन्न सामूहिक लगानी योजनाहरू व्यवस्थापन गरिरहेको छ।

यसैक्रममा कम्पनीले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस योजनाको इकाई निष्कासन ०८३ मंसिर २ गतेदेखि सुरु हुने तय गरिएको छ।

१० वर्षे अवधि रहेको यस योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहनेछ। लगानीकर्ताबाट प्राप्त माग तथा आवेदनको अवस्थाका आधारमा योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था रहेको छ। योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।

सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो सामूहिक लगानी कोष व्यवस्थापन क्षमता तथा सेवाको गुणस्तरका लागि इक्रा नेपाल लिमिटेडबाट AMC Quality 3+ रेटिङ प्राप्त गरेको छ। विगतका सामूहिक लगानी योजनाहरूको व्यवस्थापनबाट हासिल गरेको अनुभव, संस्थागत क्षमता तथा व्यावसायिक दक्षतालाई उपयोग गर्दै ‘सिटिजन्स सुपर ५०’ को लगानी व्यवस्थापनलाई व्यवस्थित, अनुशासित तथा व्यावसायिक बनाउने कम्पनीको लक्ष्य रहेको छ।

उक्त योजनामार्फत दीर्घकालीन लगानीका अवसर प्रदान गर्दै पुँजी बजारमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार हुने अपेक्षा कम्पनीले गरेको छ।

सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्। कम्पनीले संस्थागत सुशासन, लगानीकर्ताको हित संरक्षण तथा पुँजी बजारको विकासलाई प्राथमिकतामा राख्दै आफ्ना सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ १२:५७ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast