तेलको मूल्य घट्यो

हिमाल प्रेस ९ कार्तिक २०८३ १३:४३ | Monday, October 26, 2026
6
SHARES
तेलको मूल्य घट्यो यमनको बाब एल–मन्देबको उत्तरतर्फ डुंगा चलाउँदै यमनी सर्वसाधारण। पृष्ठभूमिमा पेट्रोलियम ग्यास बोकेको ट्यांकर। तस्बिर : एपी/रासस

काठमाडौँ- सोमबार तेलको मूल्यमा गिरावट आएको छ। मध्यपूर्वको द्वन्द्वमा केन्द्रित व्यापारीहरूका कारण शुक्रबार अत्यधिक उतारचढावयुक्त कारोबारका क्रममा प्रतिब्यारेल ११७ अमेरिकी डलर पुगेको तेलको मूल्य सोमबार केही घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ्न्।

अन्तर्राष्ट्रिय बजारको मानक मानिने ब्रेन्ट क्रुडको मूल्य लन्डनमा सोमबार बिहानको कारोबारमा १.३ प्रतिशत घटेर प्रतिब्यारेल ११५.१८ डलरमा झरेको छ। त्यस्तै, अमेरिकी बजारको मानक वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य १.८ प्रतिशत घटेर प्रतिब्यारेल १०१.४१ डलर कायम भएको छ।

शुक्रबारको तीव्र कारोबारपछि सोमबार तेलको मूल्यमा तुलनात्मक स्थिरता देखिएको हो। शुक्रबार तेलको मूल्य पाँच महिनायताकै उच्च विन्दुमा पुगेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनपछि इरानमाथि थप आक्रमण गर्न सक्ने आशंकाले समेत मूल्य बढाउन भूमिका खेलेको थियो।

आपूर्तिमा लामो समयसम्म अवरोध आउन सक्ने सम्भावना बढ्दै गएको र कच्चा तेलको मौज्दात निरन्तर घटिरहेका कारण पछिल्ला केही सातादेखि तेलको मूल्य उकालो लागेको छ।

शुक्रबारको उच्च विन्दुबाट तेलको मूल्य केही घटेपछि केही विश्लेषकले पछिल्लो साता कतारी अधिकारीहरूले तेहरानको भ्रमण गरेको घटनालाई त्यसको एउटा कारणका रूपमा औँल्याएका छन्।

इरानले क्षेत्रीय सुरक्षाबारे छलफल गर्न सोमबार तेहरानमा साउदी अरब, पाकिस्तान र टर्कीका उच्च अधिकारीहरूलाई पनि स्वागत गर्ने तयारी गरेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बाघेरी कानीले इरानी सरकारी टेलिभिजनसँगको अन्तरवार्तामा उक्त भ्रमणबारे जानकारी दिएका हुन्। उनले यस पहलले स्थिरता, शान्ति र प्रगति भएको क्षेत्र निर्माण गर्ने प्रयासको सुरु गर्न सक्ने बताए। यद्यपि उनले यसबारे थप विवरण दिएनन्।

इरानले गत साता होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने तेलवाहक जहाजहरूमाथिका आक्रमण तीव्र पारेका बेला यो बैठक हुन लागेको हो।

क्षेत्रीय तनाव बढिरहेको संकेतका रूपमा अमेरिकाले गत साता साउदी अरबबाट आफ्ना केही कूटनीतिक कर्मचारी र तिनका परिवारका सदस्यलाई फिर्ता बोलाएको थियो। यमनमा सक्रिय हुथी विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण बढाएपछि अमेरिकाले यस्तो कदम चालेको हो।

बार्कलेजका विश्लेषकहरूले भनेका छन्, ‘साउदी अरबमाथि हुथी आक्रमण तीव्र हुनु, तेलवाहक जहाजहरूमाथि निरन्तर आक्रमण भइरहनु र मध्यावधि निर्वाचनपछि अमेरिकी प्रशासनले कस्तो कदम चाल्छ भन्ने अनिश्चितताले तेलको मूल्यमा भूराजनीतिक जोखिमको ठूलो अतिरिक्त भार थपिएको छ।’

प्रकाशित: ९ कार्तिक २०८३ १३:४३ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast