विद्यार्थीको चाप भएका सामुदायिक विद्यालयको पूर्वाधारका लागि ६ अर्ब ५४ करोड विनियोजन

हिमाल प्रेस २९ असोज २०८३ १३:२४ | Thursday, October 15, 2026
10
SHARES
विद्यार्थीको चाप भएका सामुदायिक विद्यालयको पूर्वाधारका लागि ६ अर्ब ५४ करोड विनियोजन

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्।

मन्त्री पोखरेलका अनुसार दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत र उत्कृष्ट नतिजा हासिल गर्दै आएका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाइएको हो।

पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको उनले जानकारी दिएका छन्। ती विद्यालयमा अत्याधुनिक १२ कोठे, तीनतले भवन निर्माणको काम अघि बढाइएको मन्त्री पोखरेलको भनाइ छ।

बिहीबार उनले सामाजिक सञ्जालमार्फत प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागतमा निर्माण हुने भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने बताए। यसबाट विद्यार्थीको सिकाइ वातावरण सुरक्षित, व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको उनले बताएका छन्।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयप्रति बढ्दै गएको आकर्षण र जनविश्वासलाई थप मजबुत बनाउन शिक्षा क्षेत्रको रूपान्तरण आवश्यक रहेको उल्लेख गरेका छन्। उनले भने,‘सामुदायिक विद्यालयप्रति तपाईँहरूको बढ्दो आकर्षण र विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। यही जनविश्वासलाई थप मजबुत बनाउन हामी शिक्षा क्षेत्रको रूपान्तरणका लागि एक ऐतिहासिक कदम अघि बढाएका छौँ।’

उनले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप र आकर्षण बढिरहेको भए पनि कतिपय विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको अवस्थाप्रति सरकार सचेत रहेको बताए। विद्यालयहरूबीच देखिएको असमानता कम गर्न पहिलो चरणमा विद्यार्थीको चाप बढी भएका ठूला सामुदायिक विद्यालयको पूर्वाधार सुधार सुरु गरिएको उनको भनाइ छ।

‘आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै यो असमानता सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ मन्त्री पोखरेलले भनेका छन्।

प्रकाशित: २९ असोज २०८३ १३:२४ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast