कांग्रेस देउवा पक्ष : यी हुन् सभापतिका आकांक्षी

किरण पौडेल १० मंसिर २०८३ २१:२७ | Thursday, November 26, 2026
10
SHARES
कांग्रेस देउवा पक्ष : यी हुन् सभापतिका आकांक्षी

काठमाडौँ- नेपाली कांग्रेसमा शेरबहादुर देउवा समूहको छुट्टै महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि आधा दर्जन नेताले आकांक्षा देखाएका छन्। देउवाको उत्तराधिकारी बन्ने होडमा पुराना प्रतिस्पर्धीदेखि नयाँ दाबेदारसम्म उत्रिए पनि सानो समूह जोगाउन सर्वसम्मत नेतृत्व चयन गर्ने चुनौती उनीहरूसामु छ।

संस्थापन सभापति गगन थापाको नेतृत्वसँग असन्तुष्ट हुँदै छुट्टै महाधिवेशनमा जुटेको यो समूहले आगामी मंसिर २१ देखि २३ सम्म काठमाडौँको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ। निर्वाचन आयोगमा थापा नेतृत्वको कांग्रेस अद्यावधिक भए पनि असन्तुष्टि जनाउँदै देउवा समूह महाधिवेशनमा होमिएको हो।

देउवा पक्षमा पनि सभापति को बन्ने भन्ने होडबाजी सुरु भएको छ। देउवा दुईपटक सभापति भइसकेका कारण अब सभापति उठ्न पाउँदैनन्। त्यसकारण पनि अन्य नेतालाई ढोका खुलेको छ।

नेताहरू अहिले सर्वसम्मतिबाट नेतृत्व चुन्ने प्रयत्नमा छन्। देउवासँग सानो समूह रहेकाले पनि भिडन्तभन्दा निर्विरोध नेतृत्व चयन गर्दा उपयुक्त हुने नेताहरू बताउँछन्। उनीहरूका अनुसार अहिलेसम्म भावी सभापतिका लागि डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत र एनपी साउदले आकांक्षा देखाएका छन्। उनीहरूबीच सहमति हुन्छ वा भिडन्त भन्ने निश्चित छैन। आकांक्षी आफैँ पनि भिड्ने पक्षमा नरहेको नेताहरूको बुझाइ छ।

‘यो सानो समूह हो भिडन्त गर्दा झन् चिरा पर्छ भन्ने लागेको छ,’ देउवा समूहका एक नेता भन्छन्, ‘सम्भवतः सहमति हुन्छ।’ ती नेताका अनुसार सहमति कसका नाममा हुने भन्नेमा अन्योल छ। उनीहरू अहिले अर्कोलाई सहमति बन्न नदिने पक्ष्मा रहेको नेताहरू सुनाउँछन्। आकांक्षी नेताहरूमध्ये कोही लामो समयदेखि देउवासँग नजिकका छन् भने कोही केही वर्षयता मात्र जोडिएका हुन्। यीमध्ये कोही यसअघिका महाधिवेशनमा पनि सभापतिमा भिडन्त गरेका हुन् भने कोही नयाँ प्रतिस्पर्धी हुन्।

नेताहरूका अनुसार अहिलेको अवस्था सहमति जुटाउनेतर्फ अघि बढेको छ। ‘जिल्ला र प्रदेशको महाधिवेशन पनि लगभग सहमतिजस्तै छ। त्यसले गर्दा केन्द्रको नेतृत्व पनि सहमतिमै गर्नुपर्छ भन्ने धारणा छ’, कांग्रेसका युवा नेता यूपी लामिछाने भन्छन्। नेताहरूका अनुसार देउवा पनि ‘मिल्नुपर्छ’ भनिरहेका छन्। त्यसले गर्दा पनि उनीहरूमाथि ‘मिल्नुपर्ने’ दबाब छ। आकांक्षामा यी नेता :

शशांक कोइराला

देउवा समूहमा सभापतिका उम्मेदवार हुन्, डा. शशांक कोइराला। उनी कांग्रेस संस्थापक बीपी कोइरालाका पुत्र, पूर्वमहामन्त्री र हाल महाधिवेशन आयोजक समितिका संयोजक समेत हुन्। उनी पछिल्लो समय देउवासँग निकट छन्। यद्यपि लामो समयदेखि उनी देउवा निकटस्थ भने होइनन्। कोइराला परिवारप्रति कांग्रेसमा सदासयता रहेकाले पनि शशांक सभापतिमा चुनिन चाहेको उनी निकट नेताहरू सुनाउँछन्।

कोइराला ०६२ सालमा सम्पन्न कांग्रेसको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। १३औँ महाधिवेशनबाट पार्टीको महामन्त्रीमा निर्वाचित भए। १४ औँ महाधिवेशनमा कुनै पदमा उठेनन्। त्यसबेला पार्टीमा डा. शेखर कोइराला र देउवाबीच दोस्रो चरणमा चुनाव भएको थियो। त्यसबेला तटस्थ रहे पनि देउवालाई सहयोग गरेको आरोप खेपेका शशांक त्यसपछि भने देउवा समूहमै समाहित भए।

अहिले पनि उनी सभापतिका दाबेदार हुन्। पछिल्लो समय उनी संस्थापन सभापति गगन थापाप्रति कडा सुनिन्छन् भने जसरी पनि नयाँ नेतृत्व चुनेर जानुपर्ने उनको आकांक्षा रहेको निकट नेताहरू सुनाउँछन्। यसअघि सभापतिमा नभिडेका उनी यसपटक सोही पदका लागि नयाँ अनुहार हुन्।

विमलेन्द्र निधि

लामो समयदेखि राजनीतिमा संलग्न रहेका विमलेन्द्र निधि देउवा समूहबाट सभापतिमा उम्मेदवारी दिने योजनामा छन्। पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधि लामो समयदेखि देउवा निकट नेता हुन्। मधेशमा चिनिएका पुराना नेता महेन्द्रनारायण निधिका पुत्रसमेत रहेका उनी यसपटक भिडेरै नेतृत्वमा पुग्ने योजनामा रहेको निकट नेताहरू सुनाउँछन्। १२ औँ महाधिवेशनमा निधि महामन्त्री रहेका उनी १३ औँ महाधिवेशनमा मनोनीत उपसभापति थिए।

निधि यसअघिको (१४ औँ महाधिवेशन)मा पनि सभापतिका उम्मेदवार थिए। कांग्रेस विधानअनुसार सभापतिमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान रहे पनि पहिलो चरणको मतगणनाबाटै उनी बाहिरिएका थिए। दोस्रो चरणमा उनले देउवालाई समर्थन गर्दै सभापति चुन्न सफल भए। उनी कुनै बेला देउवाको मन्त्रिपरिषद्मा उनी उपप्रधानमन्त्रीसमेत बनेका थिए। कांग्रेसको दोस्रो ठूलो पदसम्म पुगेका निधि यसपटक सभापतिमै पुग्ने योजनामा छन्। ‘निधि दाइ सभापतिमा उठ्ने योजनामा लाग्नु अस्वाभाविक होइन,’ उनी निकट एक नेता भने, ‘यसअघि पनि प्रतिस्पर्धा गरिसक्नुभएकाले यसपटक स्वतः दाबेदार हो।’

प्रकाशमान सिंह

कांग्रेसमा सभापतिका आकांक्षा राख्ने अर्का नेता हुन् प्रकाशमान सिंह। काठमाडौँका रैथाने नेता सिंह गणेशमान सिंहका पुत्र हुन्। लामो समयदेखि राजनीतिमा सक्रिय प्रकाशमान २०४५ सालदेखि दुई कार्यकाल कांग्रेसको काठमाडौँ जिल्ला सभापति भएका थिए। उनको केन्द्रीय सदस्यमा प्रवेश भने २०५७ मा भएको दसौँ महाधिवेशनबाट भएको थियो।

२०५९ सालमा देउवाले कांग्रेस विभाजन गरी कांग्रेस प्रजातान्त्रिक गठन गर्दा सिंह उपसभापति बनेका थिए। उनी ०६४ मा पार्टी एकीकरण हुँदा उपसभापति नै भए। १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंह महामन्त्रीमा निर्वाचित भएका थिए। १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य मात्रै रहेका सिंह १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका थिए। दोस्रो चरणको चुनावमा उनले देउवालाई सहयोग गरे। देउवालाई सहयोग गरेका कारण केपी शर्मा ओली नेतृत्वको सरकारमा सिंहले कांग्रेसबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री बन्ने अवसर पाएका थिए। त्यसअघि पनि उनी उपप्रधानमन्त्री र पटकपटक मन्त्री भएका व्यक्ति हुन्।

कृष्णप्रसाद सिटौला

कुनै बेलाका गिरिजाप्रसाद कोइरालाका निकटस्थ मानिने कृष्णप्रसाद सिटौला यसपटक सभापतिका दाबेदार हुन्। सिटौला २०६१ को शाहीकालपछि गिरिजाप्रसाद निकट भएर काम गरेपछि केन्द्रीय राजनीतिमा चर्चामा आएका हुन्। ०६२/०६३ को आन्दोलन, माओवादीसँगको १२ बुँदे सम्झौतामा पनि गिरिजाप्रसाद कोइरालाले सिटौलामार्फत आफ्ना काम गराए थिए। उनले नै प्रचण्ड र बाबुराम भट्टराईलाई ०६३ साल असारमा काठमाडौँ भित्र्याए। ०६३ साल वैशाख १९ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा सिटौला गृहमन्त्री थिए। उनी गृहमन्त्री भएकै बेला नेपाल प्रहरीमा सुडान घोटाला प्रकरण भएको थियो।

सिटौला १३ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार थिए। सिटौला भने त्यसभन्दा यता पार्टी राजनीतिमा अघि बढ्न सकेनन्। गिरिजाको निधन र संसदीय चुनावमा झापाबाट बारम्बारको हारले सिटौला नेतृत्वमा पुग्न सकेनन्। सिटौला राष्ट्रियसभा चुनाव लडेर सदन छिरेका छन्। त्यसबेला उनी राष्ट्रियसभा अध्यक्ष बनाउन देउवाले सदन छिराएका थिए। तर तत्कालीन माओवादीसँगको सम्झौता अघि बढ्न सक्दा नारायण दाहाल अध्यक्ष बन्न सफल भए। तर पनि सिटौलाले नेतृत्वको आकांक्षीबाट पछि हटेका छैनन्।

डा.प्रकाशशरण महत

लामो समयदेखि देउवाका निकटस्थ मानिने डा.प्रकाशशरण महत पनि यसपटक सभापतिका दाबेदार बनेका छन्। उनी १४ औँ महाधिवेशनमा देउवा समूहबाटै महामन्त्री लडेका थिए। तर हार व्यहोरे। तर उनी यसपटक सभापतिमा लड्ने योजनामा छन्। ‘भरसक सहमति गरौ भन्ने छ। नभए पनि आकांक्षा स्वाभाविक हो,’ महतले हिमाल प्रेससँग भने,‘अब के हुन्छ हेर्दै जाऔँ।’

महत पूर्वअर्थमन्त्री र पार्टीका पूर्वप्रवक्तासमेत हुन्। पार्टीको प्रचार क्षेत्रमा राम्रो दख्खल भएका उनी अब सभापति बन्ने योजनामा छन्।

एनपी साउद

यसपटक सभापतिमा आकांक्षा राख्ने मध्येको अर्को नाम हो, एनपी साउद। सुदूरपश्चिमबाट राजनीति गर्ने साउद लामो समयदेखि देउवा निकटस्थ नेता हुन्। कन्चनपुरबाट संसदीय राजनीति गर्ने उनीसँग परराष्ट्रमन्त्री र सिँचाइ मन्त्री समेत बनेको अनुभव छ। ‘म आकांक्षी मात्र होइन नि,’ साउदले भने,‘आफूले मात्र चाहना राख्दा चाहिँ आकांक्षा हुन्छ। म चाहिँ अरूले पनि लड्नु भन्दै गरेकाले अलि बढी नै चाहना राख्दै छु।’

प्रकाशित: १० मंसिर २०८३ २१:२७ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast