स्पेनमा तीव्र गतिको रेल ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु

हिमाल प्रेस ११ कार्तिक २०८३ १९:५० | Wednesday, October 28, 2026
2
SHARE
स्पेनमा तीव्र गतिको रेल ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु

काठमाडौँ- मध्य स्पेनमा बुधबार तीव्र गतिको एउटा रेल रोकिराखेको अर्को रेलको पछाडिबाट ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

समाचार एजेन्सी एपीका अनुसार कास्टिल–ला मञ्चाका लागि केन्द्रीय सरकारको कार्यालयले मृतकको संख्या ६४ पुगेको पुष्टि गरेको छ।

कास्टिल–ला मन्चा क्षेत्रका अध्यक्ष एमिलियानो गार्सिया–पेजले उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित यात्रु तथा शवको खोजी जारी राखेका बेला कम्तीमा ८० जना घाइते भएको बताएका छन्।

यस वर्ष स्पेनमा भएको यो दोस्रो ठूलो रेल दुर्घटना हो।

स्पेनको रेल प्रणाली सञ्चालक संस्था एडीआईएफका अनुसार दुर्घटना बुधबार बिहान टोलेडो प्रान्तमा भएको हो। कास्टिल–ला मन्चा क्षेत्रकी प्रवक्ता एस्थर पडिलाका अनुसार सयौँ यात्रु बोकेका दुईवटा तीव्र गतिको रेल स्पेनको राजधानी म्याड्रिडबाट दक्षिणपश्चिमी स्पेनको सेभिल सहरतर्फ एउटै दिशामा गइरहेका थिए।

तीमध्ये एउटा रेल रोकिएको अर्को रेलको पछाडिबाट ठोक्किएको थियो। ठक्करका कारण अर्को रेलका दुईवटा डिब्बा लिकबाट खसेका थिए।

पडिलाले दुर्घटनाको कारण अझै पत्ता नलागेको बताइन्। दुर्घटनापछि म्याड्रिड, सिउदाद रियल र आन्दालुसियाबीचको रेल सेवा स्थगित गरिएको छ।

उर्दा र लोस येबेनेस सहरको बीचमा जैतुनका बगैँचाले घेरिएको समथर भूभागमा दुर्घटना भएको थियो। ठक्करका कारण एउटा डिब्बा धातु र अन्य सामग्रीका टुक्रामा परिणत भएको थियो भने भग्नावशेष ढुंगा र गिट्टीले भरिएको भिरालो जमिनमा छरिएका थिए।

स्पेनकी स्वास्थ्यमन्त्री मोनिका गार्सियाले उद्धारकर्मीहरूले सबैभन्दा बढी क्षतिग्रस्त दुईवटा रेलका डिब्बाबाट जीवित यात्रु तथा शव निकाल्न ध्यान केन्द्रित गरिरहेको बताइन्। घाइतेहरूलाई क्षेत्रका विभिन्न अस्पतालमा पठाइएको पनि उनले जानकारी दिइन्।

प्रकाशित: ११ कार्तिक २०८३ १९:५० | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast