काठमाडौँ- लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स सस्तैमा समेटिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले सुरुवातदेखि नै खराब ब्याटिङ गरेको थियो। टोलीले १५ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो।
त्यसपछि पवन सर्राफ र सोमपाल कामीले ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। तर नियमित अन्तरालमा विकेट गुम्दा कर्णाली ठूलो स्कोर बनाउन असफल भयो।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। उनले १८ बलमा चार चौका र एक छक्का प्रहार गरे। हुसेन तलतले २२ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे। गुल्सन झाले १३ रन बनाउँदा पवन सर्राफ १२ रनमा आउट भए।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र रावत खाता नै नखोली आउट भए।
अरिफुल इस्लाम र दीपक डुम्रेले समान चार, कप्तान डेभिड मिलरले पाँच, मार्क वाटले दुई र नन्दन यादवले तीन रन बनाए।
लुम्बिनीका लागि अभिशेष गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान दुई विकेट लिए। रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक एक विकेट हात पारे।



