काठमाडौँ- नेपालमा उपलब्ध स्वच्छ ऊर्जा, अनुकूल हावापानी र पर्यटनको सम्भावनालाई विदेशी लगानीसँग जोड्नुपर्नेमा जोड दिँदै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
यूएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी ढकालले बिहीबार यूएईका विदेश व्यापार मन्त्री डा.थानी बिन अहमद अल जेउदीसँगको भेटमा नेपालमा लगानीका सम्भावित क्षेत्रबारे जानकारी गराउँदै यस्तो आग्रह गरेका हुन्।
भेटमा नेपाल-यूएई सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने तथा नेपालमा वैदेशिक लगानीका अवसर पहिचान गर्ने विषयमा छलफल भएको थियो।
नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र डाटा सेन्टर स्थापनाका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको ढकालको भनाइ थियो। विशेषगरी पर्याप्त स्वच्छ ऊर्जा र चिसो हावापानीका कारण नेपाल सूचना प्रविधि तथा डाटा सेन्टर सञ्चालनका लागि प्रतिस्पर्धी गन्तव्य बन्न सक्ने उनको धारणा थियो।
केबलकार, स्की रिसोर्टलगायत उच्चस्तरीय पर्यटन पूर्वाधारमा लगानी गरेर नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सकिने सम्भावनाबारे पनि उनले जानकारी गराए।
नेपाल र युएईबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए। सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीलाई आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारको अवसरका रूपमा उपयोग गर्नुपर्ने ढकालको धारणा थियो।
स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने यूएईका विदेश व्यापार मन्त्री अल जेउदीको सोचको स्वागत गर्दै ढकालले दुई देशका सरकारी तथा निजी क्षेत्रबीच उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
नेपालमा विदेशी लगानी आकर्षित गर्न लगानीकर्तालाई नीतिगत स्थिरता, नियमनकारी स्पष्टता र लगानी सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उनको भनाइ थियो। यसका लागि द्विपक्षीय लगानी सम्झौता (बीआईए) तथा दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी व्यवस्थालाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।
हवाई सम्पर्क विस्तारले पर्यटन र व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै ढकालले फ्लाई दुबईले यूएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गरे। उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत यूएईबाट सिधा उडान सञ्चालनका लागि पहल गर्न मन्त्री अल जेउदीलाई आग्रह गरे।
भैरहवामा सिधा उडान सञ्चालन भएमा यूएई र नेपालबीचको पर्यटन तथा व्यापारिक सम्बन्ध थप विस्तार हुनुका साथै यूएईबाट गौतमबुद्धको जन्मस्थल लुम्बिनीसम्मको पहुँच सहज बन्ने उनको धारणा थियो।
सन् २०२७ मा मनाइने नेपाल-यूएई कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीले दुई देशबीचको सम्बन्धलाई आर्थिक सहकार्य र साझा समृद्धिको नयाँ चरणमा प्रवेश गराउने विश्वाससमेत ढकालको थियो।



