काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा.ओजस्वी शेरचन र इजरायलको शिक्षा मन्त्रालयका वरिष्ठ उपनिर्देशक इन्ना जाल्ट्सम्यानबीच शिष्टाचार भेटवार्ता भएको छ।
एडुनेशन २०२६ मा सहभागी हुन इजरायल पुगेकी सभापति शेरचन र इजरायली शिक्षा मन्त्रालयका वरिष्ठ अधिकारीबीच भएको भेटमा नेपाल र इजरायलको शिक्षा प्रणाली, शैक्षिक अभ्यास, विपद्का समयमा बालबालिकाको शिक्षाको निरन्तरता तथा शिक्षामा नवीन प्रविधिको प्रयोगलगायतका विषयमा विचार आदानप्रदान भएको थियो।
भेटका क्रममा इजरायली पक्षले गत भदौ १० गते नेपालमा आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा तथा पठनपाठन व्यवस्थापनबारे चासो व्यक्त गरेको थियो। त्यस अवसरमा सभापति शेरचनले बाढीबाट प्रभावित नुवाकोट र धादिङलगायतका क्षेत्रको समितिले गरेको स्थलगत अवलोकनका क्रममा देखिएका अवस्था, प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन भएका प्रयास तथा समितिका तर्फबाट नेपाल सरकारका सम्बन्धित मन्त्रालयलाई दिइएका निर्देशन र सुझावबारे जानकारी गराइन्।
उनले विपद्पछिको अवस्थामा बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन आवश्यक व्यवस्थापन, समन्वय र संस्थागत पहलका विषयमा नेपालले गरिरहेका प्रयासबारे जानकारी दिँदै प्रभावित बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।
भेटवार्ताका क्रममा इजरायलको शिक्षा प्रणालीमा युद्ध, प्राकृतिक विपद्, भोकमरी तथा अन्य संकटबाट प्रभावित बालबालिकाको संरक्षण र शैक्षिक पुनःस्थापनाका लागि छुट्टै विभाग तथा संयन्त्र रहेको जानकारी प्राप्त भएको सभापति शेरचनले बताइन्। उक्त संयन्त्रले प्रभावित बालबालिकाको अवस्थाबारे घरघरमै पुगेर तथ्यांक संकलन गर्ने, उनीहरूको आवश्यकता पहिचान गर्ने तथा आवश्यक सहयोग र व्यवस्थापनका लागि काम गर्ने गरेको छ।
विशेषगरी संकटबाट प्रभावित बालबालिकासँग मनोसामाजिक असर न्यूनीकरण हुने गरी संवाद गर्ने इजरायली अभ्यास उल्लेखनीय रहेको उनले बताइन्। एउटै बालबालिकासँग धेरै व्यक्तिले पटकपटक प्रश्न गर्दा थप मानसिक दबाब र मनोसामाजिक असर पर्न सक्ने भएकाले संवादका लागि एक जना जिम्मेवार व्यक्तिलाई मात्र खटाउने व्यवस्था प्रभावकारी लागेको उनको भनाइ थियो। बालमैत्री र संवेदनशील ढंगले प्रभावित बालबालिकाको अवस्था बुझ्ने उक्त अभ्यास नेपालका लागि पनि अनुकरणीय हुन सक्ने उनले बताइन्।
यसैगरी, एडुनेशन २०२६ मा शिक्षाको भविष्य, शिक्षण पद्धतिमा नवीनता तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलगायतका विषयमा विश्वव्यापी छलफल भएको थियो । सम्मेलनमा सहभागी नास डेलीका संस्थापक नुसेर यासिनले कृत्रिम बुद्धिमत्ताले शिक्षकलाई विस्थापित गर्ने नभई उनीहरूको क्षमता र कार्यदक्षता अभिवृद्धि गर्ने सहयात्रीका रूपमा काम गर्नुपर्ने बताए।
उनले कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोगबाट शिक्षकहरूले समय खपत गर्ने नियमित तथा प्रशासनिक काममा कम समय खर्च गरी विद्यार्थीको व्यक्तिगत सिकाइ क्षमता, रुचि र आवश्यकताअनुसार शिक्षण विधि तथा पाठ्यसामग्री तयार गर्न बढी समय दिन सक्ने बताए। प्रत्येक विद्यार्थीको सिक्ने क्षमता र शैली फरक हुने भएकाले सोहीअनुसार शिक्षणलाई प्रभावकारी बनाउन एआईले शिक्षकलाई सहयोगी अर्थात् ‘को-पाइलट’ को भूमिका निर्वाह गर्न सक्ने उनको धारणा थियो।
सभापति शेरचनले पनि शिक्षामा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी उक्त अवधारणा महत्वपूर्ण र सकारात्मक रहेको बताइन्। प्रविधिले शिक्षकको भूमिका प्रतिस्थापन गर्नेभन्दा पनि उनीहरूलाई थप सक्षम बनाउँदै विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिको विकासमा सहयोग पुर्याउनुपर्ने उनको भनाइ थियो।
सम्मेलनमा शिक्षाशास्त्र (पेडागोजी) तथा शिक्षण सिकाइका विभिन्न नवीन अभ्यासबारे समेत छलफल भएको थियो। सम्मेलनबाट शिक्षासम्बन्धी महत्वपूर्ण अनुभव र जानकारी हासिल गरेको सभापति शेरचनले बताइन्।
सभापति शेरचनसँगै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको समेत सम्मेलनमा सहभागिता रहेको थियो।



