योगी नरहरिनाथका खोज र योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउँछौँ : शिक्षाध्यक्ष प्रा.डा. जगन्नाथ रेग्मी (अन्तरवार्ता)

हिमाल प्रेस २२ कार्तिक २०८३ १०:४२ | Sunday, November 8, 2026
46
SHARES
योगी नरहरिनाथका खोज र योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउँछौँ : शिक्षाध्यक्ष प्रा.डा. जगन्नाथ रेग्मी (अन्तरवार्ता)

नेपाल संस्कृत विश्वविद्यालयले राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। विश्वविद्यालय सभाको ७९औँ बैठकले केन्द्र स्थापनासम्बन्धी प्रस्ताव पारित गरेको हो। यस निर्णयलाई विभिन्न क्षेत्रबाट सकारात्मक रूपमा लिइएको छ। योगी नरहरिनाथ आफैँमा एउटा विश्वविद्यालयभन्दा विस्तृत ज्ञानको भण्डार हुनुहुन्थ्यो। नेपाली जाति, समाज, जीवनपद्धति, संस्कृति र इतिहासबारे उहाँले गर्नुभएका खोज तथा अनुसन्धान निकै गहन र महत्त्वपूर्ण छन्। उहाँले सङ्कलन, सम्पादन, रचना तथा अनुवाद गर्नुभएका पाँच सयभन्दा बढी कृतिमा नेपालको मौलिक इतिहास र परम्परागत ज्ञानका अनेक आयाम समेटिएका छन्। यस्ता ज्ञानसम्पदाको खोज, संरक्षण, अनुसन्धान र प्रवर्द्धन गर्दै तिनलाई आधुनिक विज्ञान, प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यले स्थापना गर्न लागिएको केन्द्रको कार्यक्षेत्र, योजना र अपेक्षित उपलब्धिबारे नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. जगन्नाथ रेग्मीसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपाल संस्कृत विश्वविद्यालयले राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। यो केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य र आवश्यकता के हो?

हाम्रो चिन्तन र चासो नेपाल संस्कृत विश्वविद्यालयको समृद्धि, उन्नति र आधुनिकीकरणसँग जोडिएको छ। यही सोचका साथ राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाको अवधारणा अगाडि सारिएको हो।

यस केन्द्रको मुख्य उद्देश्य नेपालका मौलिक इतिहास, परम्परागत ज्ञान र संस्कृत वाङ्‌मयमा रहेका महत्त्वपूर्ण विषयको खोज, अनुसन्धान र प्रवर्द्धन गर्नु हो। राष्ट्रगुरु योगी नरहरिनाथले अथक परिश्रम गरेर खोज्नुभएको नेपालको मौलिक इतिहासलाई बाहिर ल्याउनु केन्द्रको एउटा प्रमुख उद्देश्य हो। त्यसैगरी परम्परागत ज्ञानलाई विश्वविद्यालयको अनुसन्धानसँग जोडेर समाजसम्म पुर्‍याउनु यसको लक्ष्य हो।

विश्वविद्यालयमा भिन्नै अनुसन्धान केन्द्र पनि छ। तर केन्द्रबाट मुख्यतः औपचारिक तथा उपाधिमूलक अनुसन्धान, जस्तै विद्यावारिधिका लागि गरिने अध्ययन र अनुसन्धान सञ्चालन हुन्छन्।

प्रस्तावित केन्द्रले भने उपाधि प्राप्त गर्ने उद्देश्यभन्दा बाहिर रहेर पनि भिन्न ढङ्गको अध्ययन, अनुसन्धान र अन्वेषण गर्नेछ। संस्कृतका विभिन्न विधालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउँदै अगाडि बढाउनु यसको अर्को उद्देश्य हो।

केन्द्रको नाम योगी नरहरिनाथसँग जोड्नुको खास कारण के हो? उहाँको योगदान र विचारलाई अनुसन्धान तथा नवप्रवर्तनसँग कसरी जोड्न खोजिएको हो?

नेपाल संस्कृत विश्वविद्यालयको स्थापनाका प्रमुख प्रेरणापुरुष राष्ट्रगुरु योगी नरहरिनाथ हुनुहुन्छ। उहाँलाई विश्वविद्यालयको संस्थापकमध्येका अग्रणी व्यक्तित्व रूपमा पनि लिन सकिन्छ। २०२४ सालमा दाङको बेलझुण्डीमा भएको विश्व संस्कृत सम्मेलनको नेतृत्व उहाँले नै गर्नुभएको थियो। संस्कृत विश्वविद्यालय स्थापनाका लागि उहाँले स्थानीय दाताहरूसँग अनुरोध गरेर ठूलो परिमाणमा जग्गासमेत सङ्कलन गर्नुभएको थियो। त्यही जग र पृष्ठभूमिमा अहिले विश्वविद्यालय विकसित भइरहेको छ।

उहाँले राष्ट्रियता, भाषा, जातीय अस्तित्व, नेपाली संस्कृति र मौलिकताको संरक्षणका लागि आफ्नो जीवन समर्पण गर्नुभयो। उहाँको समग्र जीवन संस्कृत वाङ्‌मयको उत्थान र नेपालको मौलिक परम्पराको संरक्षणसँग सम्बन्धित थियो। वैयक्तिक स्वार्थभन्दा माथि उठेर देश, संस्कृति र भाषाका लागि उहाँले गर्नुभएको योगदानलाई सम्मान गर्दै उहाँको इतिहास जीवन्त राख्न केन्द्रको नाम उहाँसँग जोडिएको हो। कसैको पनि इतिहास मर्न दिनु हुँदैन, त्यसलाई सम्मानपूर्वक अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो।

केन्द्रको नाममा ‘नवप्रवर्तन’ शब्द राख्नुको पनि विशेष अर्थ छ। हामी परम्परागत ज्ञानमा मात्र सीमित हुन चाहँदैनौँ। संस्कृत वाङ‌्‌मयमा रहेका वैज्ञानिक पक्षको खोजी र अनुसन्धान गर्दै त्यसलाई आधुनिकतासँग जोड्न चाहन्छौँ। शास्त्रलाई आधुनिक समाजसँग, संस्कृतिलाई समयसँग र परम्परागत ज्ञानलाई वैज्ञानिक चिन्तनसँग जोड्ने उद्देश्यले ‘नवप्रवर्तन’ शब्द राखिएको हो। संस्कृतशास्त्रमा जीवन र जगत्‌लाई कसरी व्याख्या गरिएको छ र त्यसलाई वर्तमान सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा वैज्ञानिक ढङ्गले अध्ययन गर्न खोजिएको हो।

केन्द्रले मुख्यतः कुनकुन विषयमा अनुसन्धान गर्नेछ? संस्कृत वाङ्‌मय, प्राचीन ज्ञान, दर्शन, इतिहास, संस्कृति, आयुर्वेद तथा परम्परागत ज्ञानको अध्ययन पनि यसको कार्यक्षेत्रमा पर्छन्?

यस केन्द्रको विषयक्षेत्र निकै व्यापक छ। समग्र संस्कृत वाङ्‌मयभित्रका विभिन्न विधा र विषयमा खोज, अनुसन्धान तथा अन्वेषण गरिनेछ। त्यसका अतिरिक्त राष्ट्रगुरु योगी नरहरिनाथले सम्पादन, रचना तथा अनुवाद गर्नुभएका पाँच सयभन्दा बढी कृति भेटिन्छन्। ती कृतिमा नेपालको समग्र इतिहासदेखि मानव धर्मसम्मका विषय समेटिएका छन्।

उहाँका सङ्कलनमा गोरक्षको महिमा, देशका विभिन्न स्थान र गाउँका नाम कसरी रहे तथा तिनको ऐतिहासिक पृष्ठभूमि के हो भन्ने विषय पाइन्छन्। स्थान परिचय, विभिन्न जाति तथा वर्णका वंशावलीका प्रारूप, नेपालको राजनीतिक पृष्ठभूमि, महात्मा तथा महापुरुषका चरित्र, हिमसंस्कृति, नाथ सम्प्रदाय, गोत्रको उत्पत्ति र शिक्षासम्बन्धी विषय पनि उहाँका कृतिमा समेटिएका छन्।

त्यसैले नेपाल, नेपालको इतिहास, वंशावली, मानव धर्म तथा मौलिक संस्कृति बुझ्न उहाँका सङ्कलन महत्त्वपूर्ण स्रोत बन्न सक्छन्। केन्द्रले यी विषयसँग सम्बन्धित लोपोन्मुख पाण्डुलिपि तथा ग्रन्थको खोजी, सम्पादन र क्रमशः प्रकाशन गर्नेछ। प्रकाशित कृतिमाथि विमर्श तथा थप अनुसन्धान पनि गरिनेछ।

यसका साथै संस्कृत वाङ्‌मयका कुनै पनि विधालाई केन्द्रमा राखेर आवश्यकता र समयको मागअनुसार अध्ययन तथा अनुसन्धान गर्न सकिनेछ। त्यसैले केन्द्रका विषयक्षेत्र भविष्यमा थप विस्तार हुँदै जान सक्छन्।

केन्द्रले परम्परागत ज्ञानको संरक्षण र अभिलेखीकरणमा मात्रै काम गर्ने हो कि त्यसलाई आधुनिक विज्ञान, प्रविधि र नवप्रवर्तनसँग जोडेर नयाँ अनुसन्धान तथा उपयोगी निष्कर्ष निकाल्ने लक्ष्य पनि राखेको छ?

यो केन्द्र परम्परागत ज्ञानको संरक्षण र अभिलेखीकरणमा मात्र सीमित रहनेछैन। परम्परागत ज्ञानलाई आधुनिक विज्ञान, प्रविधि र नवप्रवर्तनसँग जोडेर नयाँ अनुसन्धान गर्ने यसको उद्देश्य हो।

संस्कृत वाङ्‌मयमा रहेका वैज्ञानिक पक्षको खोजी गरिनेछ। संस्कृत शास्त्रमा उल्लेख भएका विषयलाई आधुनिक वैज्ञानिक दृष्टिकोणबाट अध्ययन गर्ने र तिनको उपयोगिताबारे विमर्श गर्ने काम हुनेछ। उदाहरणका लागि, सिद्धान्त ज्योतिषशास्त्रमा रहेका वैज्ञानिक पक्ष, खगोलीय अध्ययन, फलित ज्योतिषका वैज्ञानिक पक्ष, ऋषि कृषि, वैदिक कृषि पद्धतिको खोजीसम्बन्धी काम पनि केन्द्रमार्फत अगाडि बढाउन सकिन्छ।

हामीले शास्त्रलाई आधुनिकतासँग जोड्नुपर्छ, संस्कृतिलाई समयसापेक्ष बनाउनुपर्छ र त्यसलाई समाजसँग जोड्नुपर्छ। यसो गर्दा संस्कृत वाङ्‌मयमा रहेका ज्ञान र मान्यतालाई वर्तमान जीवन तथा जगत्‌सँग जोड्न सकिन्छ। त्यसैले संरक्षणसँगै अनुसन्धान, अन्वेषण र व्यावहारिक उपयोगलाई पनि केन्द्रले प्राथमिकता दिनेछ।

केन्द्रको संस्थागत संरचना कस्तो हुनेछ? यसको नेतृत्व, अनुसन्धानकर्ता छनोट र सञ्चालनको जिम्मेवारी कसले लिनेछ?

यसको संस्थागत संरचना तय गर्न विश्वविद्यालयले कार्यविधि बनाउनेछ। कार्यविधि निर्माण गरेपछि त्यसबारे विमर्श गरी अन्तिम रूप दिइनेछ। त्यसैले अहिले नै कार्यालयको संरचना, कर्मचारीको सङ्ख्या र अन्य व्यवस्थापनका विषयमा ठ्याक्कै भन्न सकिने अवस्था छैन।

सामान्यतया अनुसन्धान केन्द्रमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था हुनेछ। प्रारम्भिक चरणमा केही कर्मचारी राखेर काम सुरु गरिनेछ। कार्यविधि बनेपछि कार्यालयको स्वरूप, कर्मचारी व्यवस्थापन र सञ्चालनका अन्य पक्ष स्पष्ट हुनेछन्।

यस विषयमा विश्वविद्यालयले जिज्ञासु व्यक्ति, अनुसन्धानकर्ता तथा सरोकारवालाका सुझाव र परामर्शलाई पनि महत्त्व दिनेछ। उहाँहरूका विचार र सुझावमाथि विमर्श गर्दै केन्द्रको संरचना तथा कार्यसञ्चालनलाई अन्तिम रूप दिइनेछ।

केन्द्र स्थापनाका लागि कति बजेट आवश्यक पर्ने अनुमान गरिएको छ? विश्वविद्यालयले आफ्नै स्रोतबाट सञ्चालन गर्ने हो वा सरकार तथा अन्य निकायबाट पनि सहयोग जुटाउने योजना छ?

बजेट व्यवस्थापन केन्द्र स्थापनाको पहिलो र महत्त्वपूर्ण काम हो। बजेटबिना कुनै पनि काम अगाडि बढाउन सकिँदैन। त्यसैले नेपाल संस्कृत विश्वविद्यालयले यस केन्द्रका लागि सरकारसँग बजेट माग गर्नेछ। सरकारले पनि यसलाई प्राथमिकताका साथ महत्त्व दिएको छ।

सरकारबाट बजेट माग गर्नुका साथै विश्वविद्यालयले आफ्नो तहबाट पनि केही रकम निकासा गर्ने योजना बनाएको छ। त्यसैगरी विभिन्न सङ्घसंस्था, दातृ निकाय तथा इच्छुक व्यक्तिबाट पनि सहयोग जुटाउन सकिनेछ। कार्यालय व्यवस्थापन तथा सञ्चालनका लागि कति बजेट आवश्यक पर्छ र कुन शीर्षकमा कति रकम छुट्याउने भन्ने विषय कार्यविधि निर्माण भएपछि तय हुनेछ।

केन्द्रले काम कहिलेदेखि प्रारम्भ गर्छ? तत्काल कार्यान्वयन गर्ने योजना वा पहिलो चरणका कार्यक्रम के–के छन्?

केन्द्रको काम एक किसिमले थालनी भइसकेको छ। यसका लागि सरकारले अनुमोदन गरिसकेको छ र अब काम अगाडि बढाउन कुनै बाधा छैन। प्रारम्भिक चरणमा विश्वविद्यालयमा उपलब्ध भवन वा कार्यालयमध्ये उपयुक्त स्थानमा एकदुईवटा कोठा व्यवस्थापन गरेर केन्द्रको कार्यालय सञ्चालन गरिनेछ।

सुरुवाती कामका रूपमा राष्ट्रगुरु योगी नरहरिनाथका पाण्डुलिपि तथा अन्य कृतिको खोजी गरिनेछ। त्यसपछि ती सामग्रीको क्रमशः सम्पादन र प्रकाशनको काम अगाडि बढाइनेछ। केन्द्रको काम योगी नरहरिनाथका कृतिमा मात्र सीमित हुनेछैन। कार्यविधि निर्माणसँगै यी कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ।

विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा बाह्य अनुसन्धानकर्ताले यस केन्द्रबाट कसरी लाभ लिन सक्नेछन्? अनुसन्धानवृत्ति, अध्ययन तथा प्रकाशनका कार्यक्रम पनि सञ्चालन हुन्छन्?

यस केन्द्रबाट विश्वविद्यालयभित्रका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीका साथै बाह्य अनुसन्धानकर्ताले पनि लाभ लिन सक्नेछन्। संस्कृत वाङ्‌मयको खोज तथा अनुसन्धान गर्न चाहने व्यक्तिलाई आवश्यकता र प्रक्रियाअनुसार केन्द्रमा अध्ययन तथा अनुसन्धान गर्ने अवसर प्रदान गरिनेछ।

विश्वविद्यालयभित्रका व्यक्तिमा मात्र अनुसन्धानको अवसर सीमित गरिनेछैन। बाहिरका अनुसन्धानकर्तालाई पनि आवश्यकताअनुसार केन्द्रमा ल्याएर अध्ययन तथा अनुसन्धान गराउन सकिनेछ। त्यसका लागि एउटा निश्चित प्रक्रिया निर्माण गरिनेछ।

त्यसैगरी संस्कृत वाङ्‌मयका विषयमा नयाँ ढङ्गले अध्ययन तथा अनुसन्धान गर्ने व्यक्तिका अनुसन्धानात्मक सामग्री केन्द्रमार्फत प्रकाशन गर्ने व्यवस्था पनि मिलाइनेछ। यसले अनुसन्धानकर्तालाई आफ्ना अध्ययन र निष्कर्ष सार्वजनिक गर्ने अवसर प्रदान गर्नेछ।

अहिले नेपालमा प्राचीन ज्ञान र परम्परागत अभ्यासलाई वैज्ञानिक अनुसन्धानसँग जोड्ने बहस भइरहेको छ। केन्द्रले यस्ता ज्ञानको वैज्ञानिक परीक्षण र प्रमाणीकरणका लागि कस्तो पद्धति अपनाउनेछ?

परम्परागत ज्ञानलाई जस्ताको तस्तै स्वीकार गरेर मात्र अघि बढ्नेभन्दा त्यसको खोज, अन्वेषण र आधुनिक सन्दर्भमा उपयोगिताको अध्ययन गर्नुपर्छ भन्ने हाम्रो सोच हो। तर यस्ता ज्ञानको वैज्ञानिक परीक्षण तथा प्रमाणीकरणका लागि कस्तो पद्धति अपनाउने भन्ने विषयमा अहिले नै विस्तृत कार्ययोजना बनिसकेको छैन। कार्यविधि निर्माण र विषयगत विमर्शपछि त्यसलाई व्यवस्थित गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast