फाइल तस्बिर
काठमाडौँ
स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्यांकरमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जनाएको छ।
सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले ती ट्यांकरहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो।
आईआरजीसीको विज्ञप्तिमा भनिएको छ, ‘नियम उल्लंघन गर्ने दुई तेल ट्यांकरमध्ये एउटा स्ट्रेट अफ होर्मुजको पूर्वी भागमा र अर्को होर्मुज मध्यभित्र नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको हो।’
ती ट्यांकरहरूले नेभिगेसन र स्थान पहिचान प्रणाली बन्द गर्नेलगायतका नियमसमेत उल्लंघन गरेको इरानको दाबी छ। यद्यपि, इरानले ट्यांकरहरूको नाम र राष्ट्रियता खुलाएको छैन।
फेब्रुअरीको अन्त्यमा इरानमा युद्ध सुरु भएयता तेहरानले विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक होर्मुजमा जहाज आवागमनमा कडा प्रतिबन्ध लगाउँदै आएको छ। इरानले आफ्नै अनुमतिमा तोकिएका जलमार्ग मात्र प्रयोग गर्न जहाजहरूलाई निर्देशन दिएको छ।
यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाउनुका साथै ट्यांकरहरूलाई उक्त जलमार्ग पार गर्न सहयोग गर्दै आएको छ। विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग यही जलमार्गबाट ओसारपसार हुने गर्छ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, गर्मीयामयता खाडी राष्ट्रहरूलाई होर्मुज हुँदै एक अर्ब ५० करोड ब्यारेल तेल निर्यात गर्न अमेरिकाले सहयोग गरेको थियो। अमेरिकी सेनाले हालै उक्त जलमार्गबाट सबै बारुदी सुरुङ हटाइसकिएको दाबीसमेत गरेको छ।
यसैबीच, शनिबार राति इरानका विभिन्न स्थानमा विस्फोटजस्ता आवाज सुनिएको आईआरएनएले जनाएको छ। समाचार संस्थाका अनुसार केसम, सिरिक, जास्क र बन्दर अब्बासमा त्यस्ता आवाज सुनिएका थिए। ती आवाजको कारण भने खुलेको छैन।
जास्क बन्दरगाह सहरमा कुनै वस्तु ठोक्किएको अधिकारीहरूले पुष्टि गरेको पनि आईआरएनएले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि पुनः ठूलो सैन्य आक्रमण गर्ने सम्भावनाबारे चर्चा गरेका थिए। पछि उनले उक्त योजनाबाट पछि हटेको संकेत गरेका थिए।
यद्यपि, अमेरिकी सेनाले इरानमाथि सीमित आक्रमण भने जारी राखेको छ।-रासस/एएफपी



