इरानले गर्‍यो होर्मुज जलमार्ग बन्द भएको घोषणा

हिमाल प्रेस २८ जेठ २०८३ ७:३९ | Thursday, June 11, 2026
8
SHARES
इरानले गर्‍यो होर्मुज जलमार्ग बन्द भएको घोषणा होर्मुज जलमार्ग। फाइल तस्बिर : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमा हवाई आक्रमण गरेको छ । यससँगै चर्किएको तनावबीच तेहरानले होर्मुज जलमार्गरस्ट्रेट अफ होर्मुज सबै प्रकारका जहाजहरूका लागि बन्द गरिएको घोषणा गरेको छ ।

अमेरिकी सेनाले बुधबार ढिलो गरी गरिएका यी आक्रमणहरू इरानको अनुचित र निरन्तर आक्रामकताको जवाफ भएको बताएको अलजजिराले जनाएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग आसपासका क्युसिम टापु, बन्दर अब्बास र सिरिक सहरमा भीषण विस्फोटहरू भएको बताएका छन् । दक्षिणी सहर करगानमा पनि बमबारी भएको बताइएको छ, जहाँ कम्तीमा दुईजना घाइते भएका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकामाथि गत अप्रिलमा भएको युद्धविरामको बारम्बार उल्लंघन गरेको आरोप लगाउँदै होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

आईआरजीसीका अनुसार तेल ट्यांकर र व्यापारिक जहाजसहित यस रणनीतिक जलमार्गको सम्पूर्ण आवतजावत प्रभावित हुनेछ ।

इरानले जहाजहरूको सुरक्षित आवतजावतमा आफूले सहयोग गरिरहेको भन्ने अमेरिकाको अघिल्लो दाबीलाई पनि अस्वीकार गरेको छ ।

यो तनाव होर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी ‘अपाचे’ हेलिकोप्टर खसालिएको घटनापछि अमेरिका र इरानबीच सुरु भएको शृंखलाबद्ध सैन्य कारबाहीको भोलिपल्ट थप चर्किएको हो ।

यसअघि ट्रम्पले अमेरिकाले इरानमाथि निकै कडा प्रहार गर्ने चेतावनी दिएका थिए । “सम्झौताको विषयमा के हुन्छ, त्यो हेरौँला । हामी सम्झौताको निकै नजिक थियौँ । तर, उनीहरूले हामीलाई अल्झाइरहे र मुर्ख बनाउने प्रयास गरिरहे,” ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “किनभने उनीहरूले यसअघि केही निकै कमजोर राष्ट्रपतिहरूसँग व्यवहार गरेका थिए ।”

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल ‘एक्स’मा ट्रम्पको टिप्पणीको कडा आलोचना गरेका छन् । उनले लेखेका छन्, “महत्वपूर्ण पूर्वाधारहरू जनताका जीवनरेखा हुन् । यातायात सञ्जालदेखि विद्युत् र खानेपानी प्रणालीसम्मलाई निशाना बनाउने धम्की दिनु शक्तिको प्रदर्शन होइन, एउटा राष्ट्रको दृढ इच्छाशक्तिसामु देखिएको हतासाको संकेत हो ।”

प्रकाशित: २८ जेठ २०८३ ७:३९ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast