फाइल तस्बिर
काठमाडौँ- स्ट्रेट अफ हर्मुजबाट गइरहेको दुईवटा तेल ट्यांकरमा आक्रमण भएको छ।
बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार दुवै घटनामा अज्ञात क्षेप्यास्त्रको प्रयोग भएको हो।
पहिलो घटनामा जलमार्गबाट बाहिरिँदै गरेको एउटा ट्यांकरलाई निशाना बनाइएको थियो। आक्रमणका कारण जहाजमा सामान्य आगलागी हुनुका साथै विद्युतीय प्रणालीमा क्षति पुगेको थियो।
यद्यपि दलका सदस्यहरूले समयमै आगो नियन्त्रणमा लिन सफल भएपछि जहाज आफ्नो गन्तव्यतर्फ अगाडि बढेको थियो।
यो घटनाको केही घण्टापछि ओमानको पूर्वी समुद्री क्षेत्रमा कच्चा तेल बोकेको दोस्रो ट्यांकरमाथि पनि उस्तै प्रकृतिबाट आक्रमण भएको जनाइएको छ।
बेलायती सामुद्रिक प्राधिकरणका अनुसार दुवै घटनामा कुनैखाले मानवीय क्षति भएको छैन। त्यस्तै समुद्रमा पनि कुनै प्रकारणको वातावरणीय क्षति पुगेको छैन। चालक दलका सम्पूर्ण सदस्यहरू सुरक्षित रहेका छन्।
यूके म्यारिटाइम ट्रेड अपरेसनले दुवै घटनाको सुक्ष्म अनुसन्धान सुरू गरिसकेको जनाएको छ। आक्रमणको वास्तविक प्रकृति बुझ्न र यसका लागि जिम्मेवार समूह वा व्यक्तिको पहिचान गर्न आवश्यक तथ्य तथा जानकारी संकलन भइरहेको बताइएको छ।



