कांग्रेस महाधिवेशनको तयारी पूरा, ‘नीति चयन’ को अधिवेशन बनाइने

हिमाल प्रेस १७ असोज २०८३ १६:४८ | Saturday, October 3, 2026
कांग्रेस महाधिवेशनको तयारी पूरा, ‘नीति चयन’ को अधिवेशन बनाइने

काठमाडौँ- नेपाली कांग्रेसले १५औँ महाधिवेशन ’नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको जनाएको छ।

महाधिवशेनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको बताए। यसले कांग्रेसलाई संस्थागत र सुदृढ बनाउन मद्दत पुर्‍याउने उनले बताए।

प्रवक्ता चालिसेले उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने र विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्तावअनुसार पदहरू थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलको रहने उल्लेख गरे।

उनले असोज १९ गते सोमबार अपराह्न २ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिए। उम्मेदवारको नामांकन गर्ने समयभन्दा अगाडि विधान संशोधन भइसक्ने उनले बताए। नेतृत्व चयनका लागि मतपत्रबाटै निर्वाचन हुने उनको भनाइ छ।

प्रवक्ता चालिसेले आइतबारको उद्घाटन सत्रपछि सुरु हुने बन्दसत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने र सभापतिले आगामी ५ वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने जानकारी दिए।

महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी रहेको र ३ हजार ५सय रुपैयाँ दर्ता शुल्क तिरेर रजिस्ट्रेसनको व्यवस्था गरिएको उनले बताए। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ।

प्रकाशित: १७ असोज २०८३ १६:४८ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast