कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

हिमाल प्रेस २४ असोज २०८३ १९:४१ | Saturday, October 10, 2026
6
SHARES
कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु नेपाली कांग्रेसको मुख्यालय सानेपामा मतगणना गरिँदै।

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि उपसभापति र महामन्त्रीको मतगणना सुरू भएको छ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि सुरू भएको हो।

यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो। त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो।

निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा भइरहेको छ।

उपसभापति (खुला दुई, महिला एक, समावेशी एक) पदका लागि चुनाव भएको छ। खुलातर्फ डा. चन्द्रकान्त भण्डारी, प्रा.डा. चन्द्र मोहन यादव, दीपक गिरी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे उम्मेदवार छन्। महिलातर्फ भने पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी छन्। समावेशीतर्फ जीवन परियार, फरमुल्लाह मंसुर, विनोदकुमार चौधरी, रन्जित कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा छन्।

महामन्त्री तीन पद (खुला दुई, महिला एक) का खुलातर्फ अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर तिवारी, डा. सन्तोष उपाध्याय र डा. सुनिलकुमार शर्मा मैदानमा छन्। महिलातर्फ डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना) प्रतिस्पर्धामा छन्।

सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन गरी मतगणना थालिएको हो।

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो। सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए। थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन्।

उनले पार्टी कार्यालयमा शनिबार सम्बोधन गर्दै खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने वचन दिएका छन्।

थापाले पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने भन्दै अहिलेको गणनाबाट क्षणिक रूपमा जित हार देखिए पनि जिम्मेवारीका हिसाबले सबैको उत्तिकै भूमिका हुने विश्वास वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुषाललाई साथमा राखेर दिलाएका छन्।

प्रकाशित: २४ असोज २०८३ १९:४१ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast