काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानमा कुल सात हजार ३१७ मतदातामध्ये सात हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्।
पार्टीको निर्वाचन समितिको तथ्यांकअनुसार कुल मतदातामध्ये करिब ९६.२० प्रतिशत प्रतिनिधिले मतदान गरेका छन्। २७८ जनाले मतदान नगरेको देखिन्छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ। मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको समितिले जनाएको छ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा रहेको छ। दुवै उम्मेदवारले प्राप्त गरेको मत गणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ।
मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको छ।



